कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कुष्ठरोगी खोज्दै स्थानीय तह

ओमप्रकाश ठाकुर

सर्लाही — कुष्ठरोगमा प्रदेश २ को सबैभन्दा बढी प्रभावित जिल्ला सर्लाहीमा रोग निवारणका लागि अभियान थलिएको छ । जिल्लामा कुष्ठ रोगीको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तहले अभियान थालेको हो ।

कुष्ठ रोगी खोज्न यहाँका बीस स्थानीय तहमध्ये १२ स्थानीय तहले अभियान अन्तिम चरणमा पुर्‍याएको छ भने ८ स्थानीय तहले स्वयंसेवकमार्फत घरदैलो तयारीमा जुटेका छन् ।


फागुन पहिलो सातादेखि कुष्ठ रोग निवारण अभियान सञ्चालनमा आएको छ । अभियानअन्तर्गत स्वयंसेवक रोगी पत्ता लगाउन घरदैलोमा खटिरहेको छ । सरकारले कुष्ठ रोग निवारणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि यो रोगमा कमी आएको छैन ।

कीटाणुबाट कुष्ठरोग लाग्ने भए पनि चेतनाको अभावका कारण ‘पूर्वजन्मको पाप’ भनेर भ्रम परेको छ । बिरामीले रोग लुकाउने, खुलेर स्वास्थ्य संस्थामा नआउने जस्ता कारणले कुष्ठ रोगीको संख्या बढ्दै गएको पाइएको छ ।


लालबन्दी नगरपालिकाले बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा कुष्ठ रोग निवारण अभियानको तयारी थालेको जानकारी गराए । यसअघि ८ वटा वडामा कुष्ठ रोग निवारणका लागि घरदैलो गरेको नगरपालिकाले बाँकी रहेका ९ वटा वडामा घरदैलो गर्ने जनाएको छ ।


फागुन ६ गतेदेखि १० गतेसम्म साविकको लालबन्दी, पत्थरकोट र नारायण खोला गाउँमा स्वयंसेवकहरू घरघर पुगेर रोगी पत्ता लगाउने नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक सूर्यनारायण चौधरील बताए । ‘समाजले हेला गर्छ भनेर कुष्ठ रोग लुकाउने प्रचलन छ, यसलाई न्यूनीकरणका लागि हामी घरदैलो कार्यक्रम गर्दैछौं,’ उनले भने, ‘घरमा गएका स्वास्थ्यकर्मीको टोलीले कुष्ठ रोगको पहिचान गरेर स्वास्थ्य संस्थामा पठाउँछ ।’


शरीरमा लाटो फुस्रो दाग थाहा नहुनेगरी सरुवा रोग भएकाले ग्रामीण भेकमा बिरामीको पहिचान सहित रोग न्यूनीकरणका लागि जिल्लाभरि अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


घरघरमै पुग्ने टोलीमार्फत कुष्ठ रोगको लक्षण भएका बिरामीको तथ्यांक संकलन गरी शंकास्पद बिरामीलाई स्वास्थ्य चौकीमार्फत र जटिल खालका बिरामीलाई लालगढ कुष्ठरोग अस्पताल धनुषामा लगी उपचार व्यवस्था मिलाउने कार्यालयले जनाएको छ ।


प्रदेश २ को सवैभन्दा बढी प्रभावित सर्लाहीमा कुष्ठ रोगीको संख्या १ सय ५३ रहेको तथ्यांक थियो । तर माघ महिनामा डब्लुएचओले जिल्लाको नेत्रगन्ज, हरिवन, हरिपुर, जमुनिया, हजरिया, सुन्दरपुर लगायत २० वटा स्वास्थ्य संस्थामा सर्वेक्षण गर्दा थप ५८ जना फेला परेको थियो ।


जसमध्ये सवैभन्दा बढी १३ जना हजरिया स्वास्थ्य चौकीमा फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका छयकुष्ठ अधिकृत साहबुदिन मिकरानीले बताए । ‘कुष्ठ रोगमा प्रदेश २ कै सवैभन्दा बढी प्रभावित जिल्ला हो, यहाँ कुष्ठ रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ,’ उनले भने, कुष्ठरोगी बढ्दै जाँदा निवारणका लागि हामी यो अभियानमा जुटेका छौं ।’


गरिबी, जनचेतनाको कमी, अशिक्षा, लाजका कारण र नि:शुल्क उपचार हुन्छ भन्ने जानकारी अभावमा रोग लुकाएर बसेका बिरामीहरू जिल्लामा अझै रहेको अधिकृत मिकरानीले बताए । लाटो फुस्रो दाग देखिने, हातखुट्टा झमझमाउने, स्नायु सुन्निने र दुख्ने, हातखुट्टामा नदुख्ने घाउहरू देखापर्ने लगायतका लक्षण देखिएमा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गई जाँच गराउन स्वास्थ्य कार्यालयले अनुरोध गर्दै आएको छ ।


कार्यालयले कुष्ठरोग कीटाणुबाट लाग्ने रोग भएकाले ‘पूर्वजन्मको पाप’ भनेर भ्रम नफैलाउन र भ्रममा नपर्न आग्रह गर्दै आएको छ । कुष्ठ रोगका लागि हरेक स्वास्थ्य संस्थामा नि:शुल्क रूपमा औषधि पाउँदै आएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?