कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गाउँभरि नर्सरी

गाउँमा ३ सयको हाराहारीमा नर्सरी छन् किसानले आधुनिक प्रविधिद्वारा तयार गरिएका विभिन्न जातका फलफूलको कलमी गरी बिक्रीका लागि राखेका छन्
शिव पुरी

रौतहट — कटहरिया ३ बिर्तिप्रष्टोका गाउँका ६० वर्षीय जगन्नाथराय यादवले नर्सरी व्यवसाय गरेको ४३ वर्ष भइसक्यो । बुढ्यौली अवस्थाका यादव अहिले पनि उत्तिकै जोस र जाँगरले नर्सरी बारीमा लगाइएको फलफूल बिरुवाको हेरचाहमा खट्छन् ।

गाउँभरि नर्सरी

उनको नर्सरीमा विभिन्न जातका फलफुलका बिरुवा बिक्रीका लागि तयार छ । यो गाउँ नर्सरीले प्रख्यात छ । गाउँभरि नर्सरी नै नर्सरी छ ।


यादवको खेतमा अहिले आँप, लिची, कटहर, निम्बु, अनार, सुपाडी, नरिवल लगायतका जातका फलफूलका बोट बिक्रीमा छ । लामो समयदेखि नर्सरी व्यवसायमा लागेका यादवलाई गाउँमा फलफूल चाचाले चिन्छन् । पुख्र्यौली नै नर्सरी व्यवसायमा लागेको उनले सुनाए । ‘धेरै भयो यस्तो व्यवसाय गर्न लागेको । यसैमा जीवन बितेको छ,’ उनले भने, ‘निकट भविष्यमा जिल्लालाई नर्सरी जोन बनाउन पहल गर्नुपर्छ ।’ उनले ४ बिघा खेतमा विभिन्न जातको फलफूलको बिरुवा लगाएका छन् ।


यहाँबाट चितवन, पोखरा, काठमाडौं, सुर्खेत, नेपालगन्ज लगायतको स्थानमा बिक्रीका लागि बोट, बिरुवा लैजाने गरिन्छ । व्यापारीले फोन गरेर बिरुवा अर्डर गर्छन् । प्राय: रात्रि बसमा लोड गरी पठाइने गरिएको छ । एउटा बिरुवा उत्पादन गर्न २० रुपैयाँ लाग्ने यादवले सुनाए । ७५ रुपैयाँ माथिमा बिक्री हुन्छ । उनको घरमा २० जनाको परिवार छ । सबै नर्सरीमा खट्छन् । उनलाई छोरा अशोक र अरबिन्दले सघाउँदै आएका छन् ।


बिर्तिप्रष्टोका गाउँ प्रवेश गर्ने बितिक्कै फलफूल बागवानी नर्सरी बारीको लाइन देख्न सकिन्छ । गाउँमा झन्डै ३ सयको हाराहारीमा नर्सरीको फार्म छन् । किसानले आधुनिक प्रविधिद्वारा तयार गरिएका विभिन्न जातको उच्च गुणस्तर फलफूलको कलमी बोटबिरुवा बिक्रीका लागि राखेका छन् ।


अहिलेसम्म कुनै पनि प्राविधिकले सहयोग नगरेको त्यस क्षेत्रका किसानको गुनासो छ । एक साताअघि कृिष अनुसन्धान केन्द्र र हाइटेक नर्सरी बनाउन विज्ञहरूको एक टोली स्थलगत हेर्न बिर्तिप्रष्टोका गाउँ आएका थिए । यस क्षेत्रको झन्डै १ हजार ५ सय बिगाहाबाट वर्षमा ५० लाख बढी बिरुवा उत्पादन हुने गरेको छ ।


यहाँका किसान नर्सरी अनुभवमा अब्बल छन् । टोली गाउँ पुगेपछि नर्सरी व्यवसायीको हौसल्ला बढेको सुनाए । पहिला कोही पनि यसरी गाउँमा नर्सरी हेर्न नआएको उनीहरूको भनाइ छ । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल नर्सरी क्षेत्र पुगेका थिए । उनी फर्केपछि विज्ञको टोलीलाई स्थलगतका लागि खटाएका हुन् । टोलीले परम्परागत नर्सरीलाई अत्याधुनिक हाइटेकको रूप दिन सकिने सुझाव दिइएको छ ।


यहाँ घरैपिच्छे नर्सरी व्यवसाय गर्नेहरू छन् । कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराका निर्देशक तुफैल अख्तरको नेतृत्वको विज्ञ टोलीले नर्सरी व्यवसायको लगन देखेर अचम्ममा परेको बताए । टोलीले कटहरिया नगरपालिका ४ हर्षाहास्थित तिरो नलाग्ने सरकारी स्वामित्वको करिव १ सय बिगाहा पर्ती जग्गा र वडा ३ बिर्तिप्रस्टोकास्थित गाउँलेले गरेको फलफूल नर्सरी फार्मको स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो ।


नगरपालिकाका मेयर सियाराम कुशवाहाले कटहरिया क्षेत्रलाई नर्सरी जोनका लागि पहल गरिएको बताए । ‘हामीले नर्सरी जोनका लागि पहल सुरु गरेका छां,’ उनले भने, ‘हेराैं कहाँसम्म सफल हुन्छाैं ।’ मेयर कुशवाहाले कटहरिया, गरुडा र गुजरा नगरपालिका नर्सरीका लागि सुपर जोन बन्न सक्ने विज्ञहरूलाई जानकारी गराएका थिए ।


बिर्तिप्रस्टोकाका किसानले पुरानै शैलीमा गर्दै आएको नर्सरीलाई अत्याधुनिक हाइटेक बनाउन पहल थालिएको छ । अलगअलग नभई सहकारी जस्तै स्थानीय किसान मिलेर एक ठाउँमा बिरुवा उत्पादन सुरु गरे एउटा प्रयोगशाला निर्माण गरी परम्परागत नर्सरीलाई अत्याधुनिक हाइटेकको रूप दिन सकिने विज्ञको सझुाव छ ।


पुरानो शैलीको नर्सरीलाई आधुनिक बनाउन सके थोरै जनशक्तिबाट धेरै फलफूलका बिरुवा उत्पादन गर्न सकिने निर्देशक अख्तरले बताए । गाउँका सबै नर्सरी व्यवसायले आफ्नो खेत अगाडि ठूलाठूला ब्यानर राखेका छन् । उनीहरूले नर्सरीको नाम र प्रोपाइटरको नाम ठेगाना लेखेर विभिन्न जातका बिरुवाका बारेमा जानकारी सहित ब्यानरमा राखेका हुन् ।


यसले उनीहरूको उत्साह बढेको संकेत दिइएको छ । यस क्षेत्रका किसानले फलफूलका बिरुवा उत्पादन गरी बिक्री गर्न लागेको ३ दसक बढी भइसकेको छ । पछिल्लो समय नयाँ पुस्ता पनि यही व्यवसायमा लागिपरेका छन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?