भन्सार राजस्व असुली घट्यो

शंकर आचार्य

पर्सा — कोलकातामा कष्टम हाउस एजेन्टहरूको हडताल तथा सवारी साधनको आयातमा कमीका कारण वीरगन्जका भन्सारहरूले माघ महिनामा लक्ष्यअनुरूप राजस्व असुली गर्न सकेनन् ।

भन्सार राजस्व असुली घट्यो

वीरगन्ज/आईसीपी र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले राजस्व असुली लक्ष्य न भेट्टाएका हुन् । वीरगन्ज भन्सार कार्यालयले माघ महिनामा १३ अर्ब ७२ करोड राजस्व असुलीको लक्ष्य राखेकोमा १० अर्ब ६६ करोड मात्र असुली गर्न सक्यो । यो लक्ष्यको ७७ दशमलव ६९ प्रतिशत मात्र हो ।


राजस्व असुली घटनुमा कोलकाताका कष्टम हाउस एजेन्टहरूको एक साता लामो हडतालनै मुख्य कारण रहेको कार्यालयका सूचना अधिकृत मनिष महतो बताउँछन् । यस बाहेक हाल सवारी साधनको आयात पनि घटन गएकाले त्यसको प्रत्यक्ष असर परेको उनले बताए । ‘जिप, कार, भ्यान मात्र नभई मोटरसाइकलको आयात पनि स्वात्तै घटेको छ,’ उनले भने, ‘नाका परिवर्तन वा अटो लोनमा गरिएको कडाइमध्ये कुनै एक कारणले यो नाकाबाट सवारी साधनको आयात घटेको हुनुपर्छ ।’


मासिक राजस्व असुली कम भए पनि चालु आवमा माघ महिनासम्ममा भने कार्यालयले उत्साहजनक रूपमै राजस्व संकलन गरेको महतो दाबी गर्छन् । यस अवधिमा ८८ अर्ब ४७ करोड राजस्व संकलन भएको उनले बताए । ७ महिनाको यस अवधिमा ९२ अर्ब ६६ करोड राजस्व संकलनको लक्ष्य थियो ।


लक्ष्यको हिसाबले ९५ दशमलव ४७ प्रतिशत सफलता मिलेको छ । अन्य कुनै बाधा अवरोध नभए र सवारी साधनको आयात पुरानै लयमा फर्किए फागुन महिनादेखि राजस्व असुली लक्ष्यअनुरूप नै हुनेमा आफू आशावादी रहेको उनले बताए । सिर्सिया सुक्खा बन्दरगाह भन्सारले लक्ष्यको ८५ दशमलव ४३ प्रतिशत राजस्व असुल गरेको छ ।


माघ महिनामा २ अर्ब ८८ करोड २९ लाख ५६ हजार राजस्व असुलीको लक्ष्य रहेकोमा २ अर्ब ४६ करोड २९ लाख ३७ हजार राजस्व संकलन भएको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए । यो भन्सारले राजस्व असुली लक्ष्य नभेट्टाउनुको मुख्य कारण कोलकातामा कष्टम हाउस एजेन्टहरूले गरेको हडतालनै रहेको उनले बताए । ‘हामीलाई कोलकाताकै हडतालले बढी प्रभावित गरेको हो,’ उनले भने, ‘झन्डै एक साता मालवाहक रेल आउने लयनै बिग्रियो, बिस्तारै व्यवस्थित हुँदै गएको छ ।’


यो भन्सारले कात्तिकयता मासिक राजस्व असुली लक्ष्य भेट्टाउन पाएको छैन । कार्यालयको वार्षिक राजस्व असुली लक्ष्य भने उत्साहजनक नै रहेको उनले दाबी गरे । माघ महिनासम्ममा यो भन्सारले १९ अर्ब ५० करोड राजस्व असुली गर्ने लक्ष्य राखेकोमा १८ अर्ब ६३ करोड असुल गर्न सफल भएको उनले बताए ।


लक्ष्यगत हिसाबले ९५ दशमलव ५२ प्रतिशत सफलता मिलेको र यो खासै निराशाजनक नरहेको उनले बताए । स्थितिमा सुधार आउँदै गए मासिक र वार्षिक लक्ष्य सहजै भेट्टाउने उनले दाबी गरे ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?