कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लेखा सभापतिमा नेकपाकै बागी

सन्तोष सिंह

जनकपुर — सातवटा विषयगत संसदीय समितिमध्ये लेखा समितिको सभापति मनोनयनमा प्रमुख प्रतिपक्षी दल नेकपाभित्रको असन्तुष्टि शुक्रबार पनि मिलेको छैन । दुई जना उम्मेदवार भएपछि नेकपाको शीर्ष तहमै विवाद मिलाउन छलफल थालिएको छ । 

दलिय भागभन्डा अनुसार नेकपाले पाएको सार्वजनिक लेखा समितिमा दुई सांसदले उम्मेदवारी दर्ता भए पनि पार्टीभित्रको विवाद छताछुल्ल भएको हो ।


लेखा समितिको सभापतिमा भरत साहले उम्मेदवारी दिएपछि अर्का नेता सत्रुघन महतोले बागी उम्मेदवार दिए पनि पार्टीभित्रको किचलोले मनोनयन रद्द भएको छ । नेकपाको सांसद साहको उम्मेदवारीमा समर्थककै किर्ते हस्ताक्षर गरेको पाइएको छ । बिहीबार नेकपा सांसद भरत साहले सांसद रामकुमार यादव समर्थक र सांसद लगनलाल चौधरी प्रस्तावक रहेको मनोनयन दर्ता गराएका थिए ।


शुक्रबार संसद सचिवालयमा सांसद यादवले लेखा समितिको सभापतिका उम्मेदवार साहलाई आफनो समर्थन नरहेको भन्दै उजुरी गरेपछि उनको मनोनयन रद्द भएको थियो ।


बागी उम्मेदवार शत्रुधन महातोका प्रस्तावक संघीय समाजवादी फोरमका सांसद प्रस्ताव फिर्ता लिएपछि उनको मनोनयन रद्द भएको थियो । बागी उम्मेदवार महतोलाई नेपाली कांग्रेसका सांसद नरेश यादव मनोनयनमा समर्थन र फोरमका सांसद पारस साह प्रस्तावक थिए ।


दुई सांसदका सभापतिमा मनोनयन दर्ता भएपछि शुक्रबार संसद सचिवालयले निर्वाचन प्रक्रियामा जाने तयारी गरेका थिए । तर, प्रदेश संसदीय समिति सभापतिका लागि पार्टीभित्र किचलो भएपछि केन्द्रीय नेताको काठमाडांैमा छलफल भएपछि फोरमका सांसद साहले समर्थकबाट पछि हटेका थिए ।


संसदीय समितिमा शक्तिशाली मानिने लेखा समितिको सभापतिलाई लिएर नेकपाभित्र तीव्र असहमति थियो । नेता महतोले लेखा समितिको सभापतिमा इच्छा देखाए पनि संसदीय दलका नेता सत्यनारायण मण्डलले अन्तिम समयमा साहलाई पठाएका थिए ।


साहलाई उम्मेदवार बनाउने निर्णय भए पनि उनको समर्थक दिनभर मोबाइल स्वीचअफ गरेर सम्पर्कविहीन बनेका थिए । अन्तिम समयमा लेखा समितिको सभापतिमा साहले मनोनयन दर्ता गराएपछि संघीय समाजवादी फोरम, राजपा नेपाली कांग्रेसको समर्थनमा महतोले बागी उम्मेदवारी दिएका थिए ।


नेपाली कांग्रेसका सांसद नरेश यादवले महतोको मनोनयन पत्र दर्ता गराएका थिए । ‘फोरम, राजपा र कांग्रेसले बदमासी गरेको छ,’ नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले भने, ‘नेकपाको भागमा परेको दुईवटा समितिका सभापति चयन गर्न सभामुखलाई १ महिनाअघि नै पत्र दिइएको छ । तर महतोको अनुपस्थितिमा कांग्रेसका सांसदले मनोनयन हाले ।’


अन्तिम समयमा महतोका तर्फबाट लेखा समितिको सभापतिमा पुगेका कांग्रेसका सांसद यादवले बोकेको मनोनयनपत्र नेकपाका आधिकारिक उम्मेदवार साहले च्यातिदिएका थिए । पछि, समय थपेर महतोको मनोनयन गरिएको थियो । सभामुख यादवले ६ वटा समितिमा सर्वसम्मतिबाट सभापति चयन भएको र लेखा समितिमा दुई जनाको उम्मेदवारी परेको बताए ।


‘विधि–प्रक्रियाअनुसार लेखा समितिको सभापति चयन हुन्छ,’ उनले भने, ‘मनोनयन पत्र च्यात्ने सांसदलाई कारवाही हुन्छ ।’ कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले लेखा समितिको सभापतिमा नेकपाका सांसद महतोले सहयोग मागेकाले सहयोग गरेको दाबी गरे ।


यता, प्रदेशसभाको ७ वटा समितिमध्ये ६ को सभापति भने निर्विरोध निर्वाचित भएका छन् । दलीय भागबन्डाका आधारमा प्रदेश २ मा ७ वटा समितिमध्ये २–२ वटा संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) र नेकपाले बाँडेका छन् । नेपाली कांग्रेसले पाएको एकमात्र कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा विरेन्द्र सिंह चयन भएका छन् ।


यस्तै, अर्थ तथा योजना समितिमा राजपाका मनिषकुमार सुमन निर्विरोध निर्वाचित भएका छन् । राजपाकै कोटामा परेको महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापतिमा जयनुल राइन चुनिएका छन् । फोरमको कोटामा परेको दुईवटा समितिमध्ये प्रदेश मामिला समितिमा अशोक यादव र विकास समितिमा शेख अबुल कलाम सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । कलाम स्वतन्त्रबाट चुनाव जितेपछि फोरममा प्रवेश गरेका थिए ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?