कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सीतालीलाले जोड्यो मिथिला–अवध

कान्तिपुर संवाददाता

जनकपुर — नेपाल–भारत सरकार रामायण सर्किटमार्फत मिथिला–अवधबीचको रामायणकालीन सम्बन्धलाई सुदृढ बनाउने प्रयास गरिरहेका बेला जनकपुरको मिथिला नाट्यकला परिषद् (मिनाप) दुई प्राचीन संस्कृतिबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउने जमर्को गरेको छ । 

रामायण सर्किट परियोजनाअन्तर्गत रामायणमा वर्णित राम, सीता, रावण, बालीसहितका पात्रहरूको जन्मस्थान तथा घटनास्थलहरूलाई धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलका रूपमा विकसित गर्ने कार्यक्रम छ ।


गंगा, जमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा भारत उत्तर प्रदेशको संस्कृति विभागले आयोजन गरेको अन्तर्राष्ट्रिय रामलीला महोत्सवमा मिनाप ‘जानकी लीला’ प्रदर्शन गरी मिथिला–अवधबीचको आदिकालीन सम्बन्धलाई अझ उचाइमा पुर्‍याएको जानकी मन्दिरका छोटे महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन् । उनी अहिले कुम्भस्थलमा निर्मित जानकी मन्दिर ‘खालसा’ मा छन् । सीताको जन्मदेखि विवाहसम्मको सुखान्तक कथा वर्णित जानकीलीलाले दुई देशको आदिकालीन रोटीबेटीको सम्बन्धलाई प्रगाढ बनाएको उनले बताए ।


उत्तर प्रदेशको संस्कृति विभागको आमन्त्रणमा महाकुम्भस्थल प्रयागराज पुगेका मिनाप अयोध्यामा एक र प्रयागराजमा दुई गरी जानकीलीलाको तीन प्रदर्शन गरेका थिए । माघ २२ गते अयोध्या शोध संस्थानको प्रेक्षागृहमा तथा माघ २३ र २४ गते महाकुम्भ स्थलमा निर्मित अक्षयवट प्रेक्षागृहमा जानकीलीला प्रदर्शन गरिएको थियो ।


भारत, रुस, मलेशिया, बंगलादेश, श्रीलंका, मरिशश, सूरीनाम र नेपालसहित विश्वका ११ देशका दुई दर्जन नाट्य तथा सांस्कृतिक समूहको सहभागिता रहेको महोत्सवमा सहभागी अन्य समूहले रामको चरित्रमाथि आधारित पारम्परिक रामलिला तथा भारतीय सांस्त्रीय एवं लोक नृत्यको प्रदर्शन गरे । नेपालको प्रतिनिधित्व गर्दै मिनापले सीताको चरित्रमाथि आधारित जानकीलिला प्रदर्शन गरेको थियो ।


‘सीता हाम्रो चेलीबेटी हो । मिथिलाञ्चलमा सीताको जन्मदेखि विवाहसम्मको कथा भन्ने र सुन्ने परम्परा छ । यसै परम्पराअनुसार हामीले सीताको जन्मदेखि विवाहसम्मको कथामात्र लीलामा समाहित गरेका हौं । ससुराली अयोध्या गएपछि सीताको जीवन सुखमय रह्न सकेन,’ मिनाप अध्यक्ष परमेश झाले भने ।


जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास जानकीलिला देखेपछि भने, ‘सीता व्यक्तिगत रूपमा दुख भोगेर पनि महिलाका लागि आदर्श स्थापना गरेकी छन् । अझै पनि सीता आदर्श हुन् ।’ सीता रामको वैवाहिक सम्बन्धले मिथिला–अवधको मात्र होइन नेपाल–भारतको सम्बन्धलाई दिशानिर्देश गरेको छ । छोटे महन्त दासको कथन थियो ।


बाह्र वर्षको अनिकालबाट अस्तव्यस्त मिथिलामा राजा जनकले हलेष्टी यज्ञ गरेपछि वर्षासँगै सीताको पनि जन्म भएको कथाबाट सुरु भएको गीतिनाटक अयोध्या र प्रयागराजका दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो । सीता जन्मको खुसियालीमा मिनापका गायक गायिका तथा अभिनेता अभिनेतृहरू मञ्चमा सोहर, खेलौना र वधैयालगायतका लोकगीतको धुनमा झुमिइरहेका बेला रामजन्मभूमिका दर्शकहरू खुसीले नाचेका थिए ।


डेढ महिना लामो महाकुम्भमा सहभागी हुन दैनिक हजारौं नेपाली प्रयागराज जाने गरेका छन् । जानकी मन्दिरको खालसा पनि प्रयागराजमा छन् । जहाँ दैनिक सयौं नेपाली रात्रिबास गर्ने गरेका छन् । नेपालको प्रतिनिधत्व गर्दै मिनाप प्रयागराज आएको सूचना पाउने वित्तिकै नेपाली दर्शकहरू हौसिएका थिए । अक्षयवट प्रेक्षागृह राति भरिभराउ भएको थियो । उनीहरू मनोयोगका साथ लीला देखे अनि गायक गायिका तथा अभिनेता अभिनेतृहरूको उत्कर्ष अभिनय देखेर दंग परेका थिए ।


मिनापका पूर्वअध्यक्ष एवं जानकीलीला गीति नाटकका संगीतकार तथा गायक सुनिल मल्लिक जानकीमाथि केन्द्रित कथावस्तु भएकाले यसलाई जानकीलीला नाम दिइएको बताए ।


जानकी जन्मपूर्व मिथिलामा परेको अनिकाल तथा वर्षाको कामनासाथ राजा जनकले हलेष्ठी यज्ञ गर्दा वर्षा भएको र हलोको सीत (अग्रभाग) को स्पर्शबाट सीताको जन्म भएको प्रशंगबाट नाटक सुरु हुन्छ । नाटकमा जानकीको जन्म, फूलवारीलीला, धनुष यज्ञ, जानकी विवाह तथा कोबरसम्मको कथा वर्णन छ ।


पारम्परिक रामलीला शैलीको यस नाटकमा सोहर, बधैया, पमरिया, झुला, जटजटिनलगायतका पारम्परिक गीत संगीतसँगै आधुनिक गीतसंगीत प्रयोग गरिएको छ । सुनिल मल्लिकको संगीत तथा परमेश झाको निर्देशनमा तयार गरिएको यस गीति नाटकमा धीरज ठाकुर र सन्नी राउत नृत्य निर्देशन गरेका छन् भने सुनिल मल्लिक, संगीता देव, ललित कामत र नेहा प्रियदर्शिनीले स्वर दिएका छन् । एक घण्टाको यस गीति नाटकमा रामनारायण ठाकुर, ललित झा, घनश्याम मिश्रलगायतले वाद्यवादन गरेका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?