कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कैदीबन्दी उपचारबाट वञ्चित

कान्तिपुर संवाददाता

पर्सा — २०७४ चैत १५ गते राति वीरगन्ज कारागारका ३५ वर्षीय कैदी चन्द्रबहादुर थिङ अचानक सिकिस्त भए । मकवानपुर कैलाश ७ घर भएका उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा त्यसै दिन मृत्यु भयो । 

कैदीबन्दी उपचारबाट वञ्चित

यस वर्षको साउन ३ गते राति कारागारका अर्का कैदी ७४ वर्षीय दिपन साह कानुको शरीर सुनियो । उच्च रक्तचाप र दमका रोगी उनको सास फुलेर आएको थियो । उपचारका लागि अस्पताल लग्ने क्रममा उनको बाटोमै मृत्यु भयो ।


२०७३ माघ १२ गते कारागारका अर्का कैदी ५६ वर्षीय रामा ठाकुरको दुबै मृगौला बिग्रिएर मृत्यु भएको थियो । २०७२ माघमा ७० वर्षीय कैदी राम अयोध्या भगत मालीको पनि दुबै मृगौला निष्क्रिय भएर मृत्यु भयो । रामा ठाकुर र राम अयोध्या दुबै मधुमेहका रोगी थिए ।


कारागारमा वर्षेनी यसरी कैदीबन्दीको मृत्यु भइरहेको हुन्छ । गम्भीर बिरामी कैदीबन्दीले सहजै उपचार नपाउदा उनीहरूको ज्यान जाने गरेको छ । कारागारमा स्वास्थ्य उपचारको उचित व्यवस्था नहुनु, मेडिकल अफिसरको दरबन्दी रहे पनि एक दशकदेखि कारागार विभागले मेडिकल अफिसर नपठाउनु लगायतका कारण कतिपय बिरामी कैदीबन्दीले उचित स्याहार र उपचार

पाइरहेका हुँदैनन् ।


रातबिरात सिकिस्त बिरामी पर्ने कैदीबन्दीलाई उपचारार्थ नारायणी उपक्षेत्रीय तथा यहाँका अन्य अस्पतालका लगिन्छ । सुरक्षा व्यवस्था र एम्बुलेन्सको जोहो गर्दा ढिलो भई कतिपय बिरामी कैदीले ज्यान गुमाउँछन् ।


नियमित औषधि सेवन गर्ने कैदीलाई कारागार प्रशासनले औषधि उपलब्ध गराए पनि गम्भीर बिरामीको हकमा भने कारागारको सुरक्षा तथा आन्तरिक समस्याहरूका कारण समयमा उपचार पाउन सम्भव हुँदैन । त्यसकारण कतिपयले ज्यान समेत गुमाउँछन् ।

कारागारका मेडिकल नाइके सिकन्दर यादव हाल कारागारमा रक्त चापका ८०, मधुमेहका ३२, दमका ७, क्षयरोगी १, एचआइभी संक्रमित ४ र हेपाटाइटिसका १ बिरामी रहेको बताउँछन् ।


कैदीबन्दी बिरामी पर्दा उचित स्याहारसम्भार पनि आवश्यक पर्छ । त्यसो गरिदिने आफन्तजन नहुँदा उनीहरूलाई तंग्रिन पनि निक्कै समय लाग्छ । कारागार प्रशासन कार्यालयका सूचना अधिकृत गणेश भण्डारीले गम्भीर बिरामी कैदीबन्दीलाई नारायणी उपक्षेत्रीय अस्पतालले रिफर गरे राजधानी पठाउने गरिएको बताए ।


‘राजधानीस्थित केन्द्रीय कारागार जगन्नाथेयस्थित अस्पतालमा नि:शुल्क उपचार गरिन्छ,’ उनले भने, ‘क्यान्सर लागेका कैदीलाई भरतपुर क्यान्सर अस्पतालमा नि:शुल्क उपचार गर्ने व्यवस्था गरेका छौं ।’ बिरामी कैदीलाई कुरुवा नहुँदा समस्या हुने गरेको र कतिपय बिरामी कैदीका आफन्तजनले वास्ता नगिरिदिनाले पनि थप समस्या हुने गरेको उनले बताए । ‘विशेष गरी भारतीय कैदीबन्दी बिरामी पर्दा हामीले यो समस्या बढी हुने गरेको छ,’ उनले भने, ‘तैपनि हामीले उपचारमा कुनै कसर बाँकी राख्दैनौं ।’

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?