‘क्यालेन्डर म्यान’ बच्चन

कान्तिपुर संवाददाता

पर्सा — बच्चन शब्द सुन्ने बित्तिक्कै धेरैको दिमागमा बलिउडका महानायक अमिताभ बच्चन वा उनका पिता साहित्यकार हरिवंश राय बच्चन आउँछन् । तर यहाँका ५५ वर्षीय बच्चनको परिचय अलि भिन्न छ । उनको नाम नै बच्चन हो । थर भने चौधरी । उनी पेसाले सिनियर अहेव अधिकृत हुन् । वीरगन्ज २९ बसडिल्वास्थित स्वास्थ्य चौकीका प्रमुख । 

‘क्यालेन्डर म्यान’ बच्चन

जीतपुर सिमरा उपहानगरपालिका ७ का स्थायी बासिन्दा यी बच्चनले स्वास्थ्यकर्मी बाहेक पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनको भिन्न पहिचान बनाएको हो क्यालेन्डर (पात्रो) बनाउने उनको फरक खाले शोखले । त्यसो त बच्चनले ज्योतिष शास्त्र वा गणितमध्ये कुनै विधा पढेका होइनन् । उनले अहेव नै पढेका हुन् ।


तर २०४८ सालयता उनले निरन्तर भित्ते पात्रो बनाउँदै आएका छन् । यी शोखिन कलाकारले आफ्नो सृजना बेच्दैनन् । मुलुक भरीका स्वास्थ्य संस्थाहरूलाई नि:शुल्क बाँड्छन् । मुलुकका अधिकांश स्वास्थ्य केन्द्रहरूमा यिनले बनाएको भित्ते पात्रो झुन्डिएको हुन्छ ।


अब प्रश्न उठछ बच्चनले कसरी यो कला जाने । जवाफमा उनी भन्छन्, ‘मैले पात्रो बनाउने कुनै औपचारिक तालिम लिएको छैन, आफ्नै मिहिनेत र लगनले यो कला जानेको हुँ, सुरुमा अलिक अप्ठेरो भयो तर निरन्तरको अभ्यासले अब सहजै पात्रो बनाउन सक्छु ।’ उनको क्यालेन्डरमा सरकारले घोषणा गरेको सार्वजनिक बिदा समेत उल्लेख हुन्छ ।


क्यालेन्डर बनाउन दिन,साता, महिना आदिको हेक्का भएपछि अप्ठेरो नहुने चौधरीको तर्क छ । ‘सुरुमा केही अप्ठेरो महसुस भएको हो,’ उनले भने, ‘अहिले सहजै बनाउँछु, आफैंले सूक्ष्मताकासाथ तिथि, मिति गणना गरेर बनाउने गरेको छु, हालसम्म कसैले गल्ती कमजोरी खुट्याउन सकेका छैनन् ।’


यो शोखले आर्थिक रूपले केही लाभ नभए पनि आत्मिक सन्तुष्टि मिल्ने गरेको उनले बताए । आफूले क्यालेन्डर नि:शुल्क वितरण गर्ने गरेको उनले बताए । ‘साथी, भाइ, इष्टमित्रहरूलाई नि:शुल्क दिन्छु, धेरैले क्यालेन्डर किन्नु पर्दैन, उहाँहरूले बास्तविक तिथि, मिति जानकारी पाउनुहुन्छ,’ उनले भने, ‘मुलुकभरिका स्वास्थ्य केन्द्रहरूमा वितरण गर्न राजधानीस्थित ८ वटा विभिन्न ट्ेरड युनियन कार्यालयहरूमा छोडिदिन्छु, त्यहाँबाट मेरो क्यालेन्डर मुलुकभरि छरिन्छ, कसैले क्यालेन्डर पाउन ढिला भयो भने मलाई पटकपटक ताकेता गर्न थाल्छन् ।’


सुरुमा आफूले क्यालेन्डरको खेस्रा बनाएरपछि कम्प्युटरबाट प्रिन्ट आउट गरी त्यसलाई फोटोकपी गरेर वितरण गर्ने गरेको चौधरीले बताए । उनका कतिपय सहकर्मी उनलाई ‘क्यालेन्डर म्यान’ नै भन्छन् । लालपर्सा स्वास्थ्य चौकीका इन्चार्ज अनिशकान्त कुशवाहाले आफू काभ्रेपलान्चोकमा जागिरे छदादेखि चौधरीको क्यालेन्डर त्यहाँका अधिकांश स्वास्थ्य केन्द्रहरूमा देखेको बताउँछन् ।


‘त्यति बेलैदेखि मलाई उहाँलाई भेट्ने इच्छा थियो,’ उनले भने, ‘अहिले एउटै जिल्लामा सहकर्मी भएका छौं, चिनजान पनि भयो, उहाँलाई भेट्दा धेरै खुसी लागेको छ ।’ मुलुकभरीका थुप्रै स्वास्थ्यकर्मीले चौधरीलाई व्यक्तिगत रूपमा नभेटे पनि क्यालेन्डरकै कारण उनको नाम भने धेरैलाई याद रहेको कुशवाहा बताउँछन् ।


चौधरी पनि आफ्नो शोखलाई सकुन्जेल निरन्तरता दिइरहने बताउँछन् । ‘यो मेरो व्यक्तिगत शोख हो र यसले मलाई भिन्न पहिचान पनि दिएको छ,’ उनले भने, ‘जागिरे जीवनपछि पनि यो शोखलाई निरन्तरता दिइनैरहने छु ।’

प्रकाशित : फाल्गुन ५, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?