कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘उमेर नपुगेकाको बिहे कर्म हुँदैन’

भरत जर्घामगर

(सिरहा) — ६५ वसन्त पार गरेका दु:खीराम दलित चमार समुदायका पुरोहित हुन् । चमार समुदायको जन्मदेखि विवाह, अष्टजाम, पञ्चदान, घरबास लगायत पूजा संस्कार कर्म उनैले चलाउँछन् । सिरहा गणेशपुरका उनले एक गाउँमात्रै होइन चमार समुदायको बसोबास रहेको सीमावर्ती क्षेत्र नरगी, बडहरी, मौवाही, पत्थरगाढादेखि जिल्लाको उत्तरवर्ती मलहनवा, सीमलटोकी लगायत २२ गाउँमा उनी पुरेत्याइँ गर्छन । उनको अगुवाइ नभएसम्म ती गाउँका राम (चमार) समुदायको संस्कार कर्म चल्दैन ।

‘उमेर नपुगेकाको बिहे कर्म हुँदैन’

मामा मंगल दासबाट ज्योतिष र पुरोहित ज्ञान आर्जन गरेका दु:खीले ४० वर्ष पुरेत्याइँका क्रममा सयौं जोडिको विवाह कर्म चलाइसकेका छन् । तर उनले बिहीबार पहिलो पटक बालविवाह गर्नुहुन्न भन्ने जानकारी पाए । ‘४० वर्षसम्म पुरेत्याइँ गरेहोला, पहिला केटाकेटीको उमेर २० वर्ष पुग्नुपर्छ भन्ने थिएन,’ पण्डित दु:खीले भने, ‘हुर्केको केटाकेटी बिहे गर्ने चलन थियो, ४० वर्षपछि पहिलो पटक २० वर्ष उमेर नपुगेकालाई बालविवाह भनिदो रहेछ, यो उमेरमा आएर बल्ल थाहा पाएँ ।’


त्यसो त दु:खीलाई आफ्नै विवाह भएको थाहा छैन । केटाकेटी छदै उनका बुवा सुनारले लहान ६ की रेवनीसँग जोडी बाँधिदिए । उनले पनि ३ कक्षा पढदै गरेका बालक छोरा श्याम र विनोदको विवाह कर्म आफंैले चलाइदिए । छोरी राम सुनैरको पनि बालखैमा विवाह गरिदिए । ‘आफ्ना जातिका अरूका त कत्ति हो कत्तिको बालविवाह कर्म चलाए गनिसाध्य छैन,’ उनले भने, ‘हाम्रो जातिमा बालविवाह गर्ने चलनै थियो, त्यही कर्मलाई निरन्तरता दिए ।’


दलित जनकल्याण युवा क्लवले जातीय पण्डित र माइन्जन (जातका मुख्य व्यक्ति) लाई भेला गरी बालविवाह कानुनले रोक लगाएको बारे प्रशिक्षण दिएपछि दु:खीलगायत ६० पुरोहितले बालविवाह गर्नुहुन्न र दाइजो लेनदेन गर्नुहुन्न भन्ने जानकारी पाए । ‘तालिम लिएपछि गर्न नहुने काम गरेको बारे बल्ल थाहा पाएँ,’ उनले भने, ‘अब म दुलहा दुलहीको जन्म दर्ता हेरेर उमेर पुगेको रहेछ भनेमात्र विवाह कर्म चलाउँछु, अन्यथा अब रोक्छु ।’


दलित चमार जातिका पुरोहित दु:खी मात्र होइन महतो (कोइरी) समुदायका ५२ वर्षीय विजयकुमार महतो कक्षा ९ मा पढैखेरी पुरोहित बने । काका रामेश्वर वृद्ध भएपछि उनलै भारत सरावेका अर्जुनप्रसाद शास्त्री र प्रसाहीक रघुबर नाथसिंहबाट पुरोहित शिक्षा आर्जन गरेर पुरेत्याइँ गर्छन् ।


सिरहा मल्हनवाका उनै विजय अहिले सप्तरीको कमलपुर, भेडियादेखि सिरहाको लर्कन्हा, कुर्वाहुनमाननगर लगायत १८ गाउँका महतो समुदायका पुरोहित हुन् । उनले पनि ती समुदायमा जन्मदेखि विवाह लगायत पूजा कर्म चलाउँछन् ।


२०३९ सालमा एसएलसी गरेका उनले फुलकाहाकट्टी जयपुरकी अमेरिका महतोसँग उमेर नपुगी विवाह गरे । उनले आफंैले उमेर नपुगी विवाह गरे पनि दुई छोरी चन्द्रप्रभा र निराको पनि थाहा नभएरै बालविवाह गरिदिए । बालविवाह गर्नुहुन्न भन्ने जानकारी भएपछि उनले कक्षा ८ मा पढदै गरेका छोरा पंकज र ४ कक्षा पढदै गरेका निरजको बालविवाह नगर्ने प्रतिबद्धता जनाए ।


‘पहिला हाम्रो जातिमा सानैमा विवाह गर्ने चलन थियो’, उनले भने, ‘त्यही भएर धेरैको बच्चामै विवाह कर्म चलाइदिए, अब बल्ल थाहा पाए बालविवाह कर्म चलाउँदिन, त्यस्तो बिहेमा सरिक नभएपछि स्वत: विवाह रोकिन्छ ।’ सिरहा गणेशपुरका ५४ वर्षीय पुहुपलाल चौधरी ४२ घर थारू समुदायका माइन्जन हुन् ।


१० वर्षदेखि थारू जातिका माइन्जन सम्हालेका उनको पनि सानैमा विवाह भयो । तर कानुनी प्रक्रिया नबुझेकै कारण आफ्नो जातिमा बालविवाह र दहेज (दाइजो) लिँदै आएको तालिम लिएपछि पुहुपले थाहा पाए ।

मधेसमा बालविवाह चलन अझै कायमै छ । अझ दलित डोम, हलखोर, मुसहर समुदायमा बालविवाह चलन बढदो छ । तर जातीय रितिथिति, संस्कार, कर्म चलाउने जिल्लाका ६० भन्दा बढी पुरोहित र माइन्जनहरूले कानुनी र शारीरिक, मानसिक रूपमा समेत सबल नभएसम्म विवाह गरिदिन हतारो गर्नुहुन्न भन्दै बालविवाह विरुद्धको अभियानमा सक्रिय हुने प्रतिबद्धता जनाएका छन् ।


उनीहरूले भेला भएर आफ्ना जातीय समुदायका अभिभावकलाई बालविवाह कानुनी रूपमा दण्डनीय हुने र शारीरिक, मानसिक रूपमा दुर्बल हुने अभियान चलाउने प्रतिबद्धता समेत जनाए । बालविवाह गर्नुभन्दा छोराछोरी शिक्षा दिनुपर्छ भन्ने हतारो गर्नुपर्ने अभियान सञ्चालन गर्ने मोची समुदायका मान्यजन बस्तीपुरका बद्री मोचीले बताए ।


उनले आफ्नो जातीय समुदायको घरघरमा गएर ‘बिहेबारी २० वर्षपारि’ लगायत कानुनी प्रावधानका बारेमा अभिभावकलाई सुझाउने संकल्प गरे । टोलका अभिभावकहरूलाई बेलाबेलामा भेला पारेर बालविवाहसँगै भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार बालविवाह, दाइजो माग्ने र दाइजोका कारण महिलामाथि हुने हिंसा, बहुविवाहका बारेमा जानकारी गराउन अभियान सञ्चालन गर्ने बताए । मुलुकी अपराध (संहिता) ऐनमा २० वर्ष नपुगी बिहे गरे ३ वर्ष कैद, दाइजो मागे ३ वर्ष र बहुविवाह गरे ५ वर्ष जेल सजायको व्यवस्था गरेको छ ।


आफ्नो समुदायमा जातीय पुरोहित र माइन्जनको भूमिका त्यो जातिको उत्थानमा ठूलो योगदान हुने भएकाले उनीहरू हस्तक्षेपपछि ती जातीय समुदायमा सामाजिक कार्य र सामाजिक कुरीतिसमेत न्यूनीकरण हुने भएकाले जिल्लाका ६० जातिका पुरोहित र मायन्जनलाई कानुनी सचेतनाबारे तालिम दिएर अभियानमा संलग्न गराएको क्लवका कार्यकारी निर्देशक बिनोद विसुन्केले बताए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?