१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रंगमञ्चको ७५ वर्षे इतिहास

अवधेशकुमार झा

(राजविराज) — सप्तरीको तिलाठीमा नाटक मञ्चनको ७५ वर्ष पूरा भएको छ । २००१ सालमा स्थापित सरस्वती नाट्य कला परिषद् र २०३५ मा स्थापित हरगौरी नाट्य कला परिषद्ले वर्षेनी तिलाठीमा सरस्वती पूजाका अवसरमा रंगमंचीय प्रस्तुति गर्दै आएको छ । 

सरस्वती नाट्य कला परिषद् स्थापना भई रंगमंचीय कार्यक्रम सुरु भएको ७५ वर्ष पूरा भएका अवसरमा तिलाठीवासीले यसवर्ष विशेष कार्यक्रम गरी मनाउँदै छ । हरेक वर्ष सरस्वती पूजाका अवसरमा तिलाठीस्थित ऐतिहासिक पाठशालाको मैदानमा ५ दिनसम्म बृहत् पूजापाठ तथा मेला लाग्ने गर्छ । मेलामा विगत ७५ वर्षदेखि स्थानीय रंगकर्मीहरूले आफ्नो कला प्रस्तुत गर्दै आएका छन् ।


‘पञ्चायतकालमा क्रान्तिकारी नाटकका माध्यमबाट समेतना जगाउँदै हालसम्म रंगमंचीय प्रस्तुतिलाई हामीले निरन्तरता दिँदै आएका छौं,’ सरस्वती नाटय कला परिषदका निर्देशक अखिलेश्वर झाले भने, ‘नयाँ पुस्ताले पनि अहिले गाउँको बिरासतका रूपमा रहेको रंगमंचीय प्रस्तुतिलाई निरन्तरता दिन अग्रसर देखिएका छन् ।’ पछिल्लो समय मिथिलाञ्चल क्षेत्रमा व्याप्त दाइजो प्रथा, बालविवाह, अशिक्षा, जातीय भेदभावविरुद्ध कलाकर्मीहरूले नाटकका माध्यमबाट सचेतना जगाउँदै आएका छन् । ‘ग्रामीण क्षेत्रबाट रंगमंचीय कार्यक्रम लोप भइरहेका बेला पछिल्लो समय हामीले इतिहास जोगाउँदै हरेक वर्ष निरन्तरता दिँदै आएका छांै,’ रंगकर्मी जितेन्द्रकुमार झाले भने ।


समय परिवर्तनसँगै अहिले आधुनिक तरिकाले रंगमंचीय प्रस्तुतिलाई निरन्तरता दिँदै आएको उनले बताए । ‘मनोरन्जनसँगै सामाजिक कुरुतीमाथि प्रहार र रंगमंचीय प्रस्तुतिलाई निरन्तरता दिँदै कलाकर्मी उत्पादन र संरक्षण नै हाम्रो ध्येय हो,’ उनले भने । ‘वसन्तपञ्चमी आउन लाग्दा तिलाठीमा अर्के रौनक हुन्छ,’ तिलाठी कोइलाडी गाउँपालिका वडा १ का अध्यक्ष दिनेश्वर मिश्रले भने, ‘वर्षौंदेखि तिलाठीमा कायम रहेको ऐतिहासिक पाँचदिने सरस्वती पूजासँगै ७५ वर्षे रंगमंचीय इतिहासले रौनकलाई बढाउने काम गर्दै आएको छ ।’


रंगमञ्चको शिलान्यास

तिलाठीमा रंगमंचीय इतिहासको ७५ वर्ष पूरा भएको अवसरमा स्थानीय पाठशाला मैदानमा मंगलबार स्थायी रंगमञ्च निर्माण कार्यको शिलान्यास गरिएको छ । विगत ७५ वर्षदेखि अस्थायी रंगमञ्च निर्माण गरी हरेक वर्ष नाटक मञ्चन हुँदै आएको थियो । प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले स्थायी र अत्याधुनिक रंगमञ्चको एक कार्यक्रमका बीच शिलान्यास गरे ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?