कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अशक्तलाई तालिम  

शिव पुरी

(रौतहट) — नेत्रहिन संघले चन्द्रपुर नगरपालिका क्षेत्रका अशक्त लगायतकालाई जीविकोपार्जनका लागि तालिमको व्यवस्था गरेको छ । उनीहरूलाई आत्मनिर्भर बनाउन संघले मुडा बनाउने तालिमको अवसर दिएको हो । दृष्टिविहीन, अशक्त, शारीरिक अपाङगता, एकल महिला, सुस्त मनस्थिति, बोल्न नसक्ने लगायतकाहरूले मुडा बनाउन सिकेका छन् । 

अशक्तलाई तालिम  

चन्द्रपुर ५ की ४३ वर्षीया लक्ष्मी पोख्रेल मुडा बनाउने समूहमा उत्कृष्ट भइन् । उनलाई नगरपालिकाका उपमेयर रामरति चौधरीले एक समारोहबीच पुरस्कार दिइन् । यसले उनलाई थप हौसल्ला मिलेको बताइन् । जीविकोपार्जनका लागि उनी अब्बल बनेकी छन् । चन्द्रनिगाहपुरस्थित राधाकृष्ण मन्दिरमा नेत्रहिन संघले आयोजना गरेको मुडा बनाउने तालिममा उनी उत्कृष्ट भएकी हुन् । ११ जनाको समूहमा लक्ष्मीले सबैभन्दा राम्रो र मेहनत गरेर मुडा बनाएकी थिइन् । दृष्टिविहीन, अशक्त, शारीरिक अपाङगता, एकल महिला, सुस्त मनस्थिति, बोल्न नसक्ने लगायतका हरूको जीविकोपार्जनका लागि वडा नम्बर ५ को आर्थिक सहयोगमा संघले एक साताको तालिमको आयोजना गरेको हो । आर्थिक अवस्था कमजोर लक्ष्मीलाई तालिमले ऊर्जा थपेको छ ।


अव घरमै मुडा बनाएर बिक्री गर्न सक्षम भएको लक्ष्मीले सुनाइन् । ‘जीविका चलाउन धौधौ परेका बेला मुडा बनाउने तालिम लिन पाउँदा निकै खुसी भएको छु,’ उनले भनिन्, ‘तालिममै उत्कृष्ट भएपछि थप ऊर्जा मिलेको छ । यसलाई पूर्ण रूपले सदुपयोग गर्छु ।’ उनको छोरा अपाङग हुन् ।


श्रीमान बाबुराम पोख्रेल बैदेसिक रोजगारीका लागि साउदी अरब गएका छन् । घरमा २ छोरा र ३ छोरी छन् । उनको सासू समेत दृष्टिविहीन हुन् । सम्पत्तिको नाममा १० धुर जग्गा रहेको उनले सुनाइन् । नेत्रहिन संघले दृष्टिविहीन शारीरिक अपाङग लगायतको जीविकोपार्जनका लागि तालिमको आयोजना गरेको हो । लक्ष्मी मात्र होइन यस भेगका अधिकांश बेसहारा, अपाङग, बृद्ध, बृद्धा, दृष्टिविहीन, एकल महिलाको जीविकोपार्जनका लागि संघले तालिम लगायत कार्यक्रमको आयोजनाको सुरुवात गरेको छ ।


यसले आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहयोग पुग्ने जनाइएको छ । मुडा बनाउने समूहमध्ये प्रमेबहादुर बलमपाखी पनि पुरस्कृत भएका थिए । उनी पनि मुडा बनाउन सिपालु भएका छन् । जनजातिको कोटामा परेका बलमपाखी पुरस्कृत हुँदा खुसी देखिए । ६० वर्षको उमेरमा उनले मुडा बनाउने तालिम लिए । संघका अध्यक्ष हरि मिश्रले जीविकोपार्जनका लागि विभिन्न खाले तालिमको आवश्यकता रहेको बताए ।


‘मुडा बनाउने तालिमले आर्थिक अवस्था सवल बनाउन मानिस जस्तोसुकै परिस्थितिको सामना गर्न सक्छ भन्ने उदाहरण देखिएको छ,’ उनले भने, ‘यसबाट बिस्तारै अब्बल बन्न सक्छन् । आर्थिक हैसित बलियो बनाउन यसले मद्दत पुग्छ ।’ अध्यक्ष मिश्र आफैं दृष्टिविहीन हुन् । बाँस, लाइलनको डोरी, साइकलको दायरबाट बस्नका लागि प्रयोग हुने मुडा बनाइन्छ । गाउँघरमा यसको डिमान्ड बढी हुन्छ । प्राय: कारागारका बन्दीहरूले मुडा बनाएर बिक्री गर्छन् । बसीबसी यसलाई बनाउन सकिन्छ ।


मिश्रका अनुसार जिल्लामा लोभिजन र अल्पदृष्टिविहीनको संख्या ९ सय ९२ जना रहेका छन् । जसमध्ये ४ सय पूर्णदृष्टिविहीन छन् । उनीहरूलाई यस्तै खालको तालिम आवश्यकता रहेको उनले सुनाए । तालिममा दृष्टिविहीनले छामेर मुडा बनाउथे । उनीहरूले सहजै सिकेका थिए । एउटा मुडाको ३ सय ५० देखि माथिको मूल्यमा बिक्री हुने गरेको छ । घरमै बसेर बनाईएको मुडा बजारमा राम्रो दाममा बिक्री हुने गरेको अध्यक्ष मिश्रले सुनाए । घरमा बसेर दृष्टिबिहिन अपाङग भएकाहरूले समेत मुडा बनाउन सक्ने मिश्रको भनाइ छ । वडाअध्यक्ष संजय काफ्लेले नेत्रहिन संघलाई जीविकोपार्जनमा अब्बल बनाउन तालिमका लागि रकम सहयोग गरेका थिए ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?