‘सरकार महाभियोगलाई हतियार बनाउँदैछ’
जनकपुर — कांग्रेस उपसभापति विमलेन्द्र निधीले ओली नेतृत्वको सरकार महाभियोगलाई हतियार बनाउन खाजेको आरोप लगाएका छन् । कांग्रेस जनकपुर उपमहानगरपालिकाको नगर सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘दुई तिहाई बहुमतको ओली सरकार शक्तिपृथकीकरणको सिद्धान्तलाई अस्वीकार गरेको छ । महाभियोगलाई हतियार बनाउन खोजेको छ ।
’राज्यको तीनै अंग कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकामा कम्युनिस्ट पार्टीको हस्तक्षेप भएको उल्लेख गर्दै उनले संघीय राज्यमा शक्ति विकेन्द्रीकरण गर्नुपर्नेमा सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ अग्रसर भएको आरोप लगाए ।
नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीय सरकारको अधिकार, कर्तव्यबारे प्रस्ट व्याख्या गरे पनि ओली नेतृत्वको संघीय सरकार प्रदेश र स्थानीय सरकारलाई संवैधानिक अधिकार समेत दिन नचाएको आरोप लगाए । ‘प्रदेश २ सरकार प्रहरी र निजामती कर्मचारीसम्बन्धी विधेयक पारित गर्यो । केन्द्र सरकारलाई पचेन । संघीयताको अभ्यास गर्न चाह्यो , केन्द्र सरकारलाई तातो साह्रो भयो । यस पाराले संघीयता कसरी सफल होला ?’ उनले प्रश्न गरे । पूर्वउपप्रधान तथा गृहमन्त्री निधीले प्रदेश सरकार गठन भए पनि प्रदेशसँग प्रहरी र कर्मचारी नभएको बताए । उनले भने, ‘बन्दुकबिनाको सरकार कसरी चल्न सक्छ ? बन्दुकबिना विधि व्यवस्था कसरी बनाइराख्न सकिन्छ ?’
ओली सरकार सम्पूर्ण मोर्चामा असफल भएको आरोप लगाउँदै उनले मुलुकमा भ्रष्टाचार बढेको, शान्ति सुरक्षाको अवस्था झन खस्केको , बैदेशिक सम्बन्ध बिग्रेकाले लगानीको वातावरण बन्न नसकेको आरोप लगाए । उनले भने– विकास निर्माणभन्दा पनि शान्ति सुरक्षा जनताको पहिलो आवश्यकता हो । सरकारले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन सकेको छैन ।
वीरगन्जस्थित वीपी उद्यानको जग्गामा प्रदेश २ सरकार अन्य संरचना निर्माण गर्न लागेको प्रति आक्रोश व्यक्त गर्दै उनले वीपी उद्यान निर्माणका लागि छुट्याइएको जग्गामा अन्य संरचना निर्माण भए आन्दोलनमा उत्रिने चेतावनी पनि दिए । यहाँ स्मरणीय के छ भने वीपी उद्यान विवादका कारण शनिबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरूले विरोध जनाएपछि बैठक नै स्थगित गर्नु परेको थियो ।
नेका जनकपुर उपमहानगरपालिका नगरकमिटीका सभापति मनोज साहको अध्यक्षतामा सम्पन्न बैठकलाई कांग्रेस केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुगांना, महेन्द्र यादव, रामकृष्ण यादव, प्रदेशसभा सदस्य रामसरोज यादव तथा जिल्ला सभापति महेशशंकर गिरी लगायतले पनि सम्बोधन गरेका थिए ।
प्रकाशित : फाल्गुन ६, २०७५ ११:१४