पतिको नामबाट नागरिकता

कान्तिपुर संवाददाता

सर्लाही — सर्लाहीको उत्तरी क्षेत्रमा पर्ने जुटपानीकी एक महिला पतिको नामबाट नागरिकता लिन १९ वर्षको लामो संघर्ष गर्नुपरेको छ । दाइजो नल्याएको भन्दै उनका पतिसहित परिवारले नागरिकता बनाउन नदिएको उनको आरोप छ । लालबन्दी नगरपालिका– २, जुटपानिकी ३५ वर्षीया आशाकुमारी देवीले आइतबार इलाका प्रशासन कार्यालय हरिवनबाट नागरिकता पाएकी हुन्  ।

पतिको नामबाट नागरिकता

उनले पतिको नामबाट नागरिकता पाए पनि पति सहित परिवारको कुनै पनि व्यक्ति उनीसँग उपस्थित थिएनन् । नागरिकतामा उनको सनाखतमा जेठो ससुरो दिपलाल ठाकुर बसेका छन् । २०५६ सालमा मागी विवाह गरेकी आशाले परिवारको असहयोगका कारण नागरिकता पाउन झन्डै दुई दशक लामो संघर्ष गर्नुपरेको बताइन् । ‘आज मैले पतिको नामबाट नागरिकता पाएकी छु तर पति सहित परिवारको कुनै पनि सदस्य उपस्थित छैन,’ उनले भनिन्, ‘उहाँहरू मैले नागरिकता पाउनुपर्छ भन्ने विरोधमा हुनुहुन्छ, आज जेठो ससुरा आएर सनाखतमा बसेपछि मैले नागरिकता पाएँ ।’


विवाह दर्ता भए पनि नागरिकता बनाउन उनका परिवारले मानेका थिएनन् । उनले नागरिकता पाउन परिवारमा त संघर्ष गरिन्, जनप्रतिनिधिसँग पनि संघर्ष गर्नु परेको दु:खेसो पोखिन् । नवनिर्वाचित जनप्रतिनिधिले परिवारको दबावका कारण सिफारिस गर्न सकेका थिएनन् । आशाले सिफारिसकै लागि महिनौं बिताएको बताइन् । बसवरिया गाउँपालिका–५ धनगढामा २०४० सालमा जन्मेकी आशा ०५६ सालमा स्थानीय गंगालाल ठाकुरको छोरा रामनन्दनसँग मागी विवाह गरिन् । विवाहपछि उनको बसाइँसराइ लालबन्दी नगरपालिकामा भयो । एक छोरा र एक छोरी पाएकी आशा केही दिन परिवारसँग राम्रै बसिन् ।


उमेर नपुगेकाले विवाह भएको वर्ष विवाह दर्ता हुन नसकेकाले उनले ०६२ सालमा विवाह दर्ता गराइन् । त्यसपछि दाइजोको निहुँमा घरमा विवाद सिर्जना भएको उनले बताइन् । दाइजोमा खेत नपाएको निहुँमा परिवारबाट दु:ख पाउन र कुटपिट समेत हुन थालेको उनले बताइन् । आशाले नागरिकताको त परको कुरो दाइजो कै कारण परिवारमा सहज रूपले बस्न समेत नसकेको गुनासो गरिन् । ‘मेरो १७ वर्षकी एक छोरी र १५ वर्षको एक छोरो छ, सुरुमा परिवार राम्रैसँग चलेको थियो,’ अशाले भनिन्, ‘खुसीले जिवन विताइरहेको हामी दाइजोले भताभुङ पारिदियो ।’


दाइजोका कारण पति पत्निबीच वर्षौंदेखि कुरा हुन नपाएको आशाको भनाइ छ । १९ वर्षअघि आफूसँग विवाह गरेका रामनन्दन अहिले सम्बन्ध बिच्छेदको मुद्दा दिएको उनले बताइन् । रामानन्दले डेढ वर्षअघि अर्कै केटीसँग विवाह गरिसकेको आशाले सुनाइन् । उनले नागरिकता हातमा लिए पनि गहभरी आँसु मात्र थियो । लामो समयपछि नागरिकता पाएकोमा उनमा खुसी थिएन ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?