कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पदम रोडको दु:ख तिलाबेको जाम

शंकर आचार्य

पर्सा — आइतबार मध्याह्न वीरगन्ज पोखरिया सडकको तिलाबे खोलाको पुलमा जाम लाग्दा छिपहरमाई गाउँपालिका भिष्वाका हनिफ अहमद झन्डै आधा घण्टादेखि अड्किएका थिए । वीरगन्जबाट घरतर्फ मोटरसाइकलमा फर्कंदै गरेका उनले मोटरसाइकल समेत ननिस्कने. जाम लागेपछि दिक्क हुँदै भन्दै थिए, ‘खै कस्तो जाम हो यो, सधैं लाग्ने, कहिल्यै समाधान नहुने ।’

पदम रोडको दु:ख तिलाबेको जाम

वीरगन्जबाट भ्यान चलाएर आउँदै गरेका वीरगन्ज महानगर वडा नं १९ का वडाध्यक्ष सन्तोष तिवारी पुलको पूर्वतर्फ अडकिएका थिए । उनी पनि जामले दिक्दार भएपछि भुत्भुताउँदै थिए । ‘जाम खुल्ला भनेर कुरेको आधा घण्टा भइसक्यो, जाम हाम्रो नियति नै बनिसकेको छ,’ उनले भने, ‘जिल्लाको मुख्य सडकमा दैनिक तीन चार पटकसम्म जाम लाग्छ, जिल्लावासीलाई अति कष्ट भएको छ ।’


जाममा पर्नेमा अहमद र तिवारी मात्र थिएनन् । पाँच सयभन्दा बढी सर्वसाधारणको यात्रा जामले रोकेको थियो । पदम रोडको वीरगन्ज पोखरिया सडकमा पर्ने तिलाबे खोलाको पुल साँघुरो हुँदा यहाँ दैनिक जाम लाग्ने गरेको छ । सवारी चालकहरूले तालमेल मिलाएर पुल वारपार नगर्दा एकै पटक दुबैतर्फबाट सवारी साधन पुलमा ओहोरदोहोर गर्न खोज्दा यसरी जाम लाग्ने गरेको छ ।


जिल्लाकै सर्वाधिक चल्तीको तथा व्यस्त यो सडक खण्ड हुलाकी सडकमा पनि पर्छ । सदरमुकाम वीरगन्ज जिल्लाको पूर्वमा रहेकाले जिल्लाका अधिकांश ग्रामीण भेकका बासिन्दा सदरमुकाम आउनलाई दैनिक यो सडक प्रयोग गर्छन् । ग्रामीण भेकबाट दैनिक ज्याला मजदुरी गर्न आउने १० हजारभन्दा बढी मजदुर, कर्मचारी, विद्यार्थी तथा सर्वसाधारण गरेर दैनिक करिब ५० हजार सर्वसाधारणले आवागमनका लागि यो पुल तर्छन् ।


२०४८ सालतिर निर्माण गरिएको पुल त्यति बेलै साँघुरो बनाइएको थियो । त्यसयता जिल्लाको ग्रामीण भेगमा बढेको सवारी साधनको संख्यासँगै पुल साँघुरो अनुभव गर्न थालियो । ५ वर्षयता पदम रोडमा सवारी साधनको चाप अत्यधिक बढेसँगै तिलाबे पुलमा जामको समस्या पनि बढदो छ । डबल लेनको पुल निर्माण नगरिदा हाल पुलकै कारण सास्ती भएको छ ।


जामका कारण ग्रामीण भेगका बासिन्दालाई ठूलो समस्या भएको छ । उनीहरूको धेरै समय जाममा बसेर बित्छ । मजदुर समयमा काममा जान पाउँदैनन् । विद्यार्थीको कक्षा छुटिरहेको हुन्छ ।


बिरामी एम्बुलेन्समै सिकिस्त भएर कहिले जाम खुल्ला भनेर अचेत भएका हुन्छन् । यात्रुहरू जाम लागेपछि प्रहरी आएर जाम खुलाउनु भन्दा पुलको दुबैतर्फ ट्राफिक प्रहरी बसेर सवारी साधनलाई व्यवस्थित रूपमा आवागमन गराए जामको समस्या नहुने बताउँछन् ।


महानगरपालिकाको वडा नं १९ का अध्यक्ष तिवारी गत वर्ष नै शिलान्यास गरिएको खोलाको अर्को पक्की पुलको निर्माण गरिएको ढिलाइप्रति सरोकारवाला निकायहरू गम्भीर नहुँदा समस्या झनै चर्किदै गएको आरोप लगाउँछन् ।


‘ठेकेदार कम्पनीले पुल बनाउन डाइभर्सन नभएर काम गर्न नपाएको गुनासो गरिरहेको छ,’ उनले भने, ‘डाइभर्सन नबन्दा पुलकै निर्माण कार्य रोकिनु भनेको सार्‍है लाजमर्दो कुरो हो, मैले केहीअघि प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, महानगरका मेयर समेतलाई बोलाएर समस्या समाधानका लागि आग्रह गरेको थिए तर कतैबाट समस्याको निकास पहल भएन ।’ केवल १० देखि १२ लाख खर्च गरी डाइभर्सन निर्माण हुन सक्ने अवस्था रहेको उनले बताए ।


२०७२ जेठमा पप्पु लुम्बिनी जेभीले ७ करोड ५० लाखमा निर्माणको ठेक्का पाएको हो । हालसम्म पिलरको फाउन्डेसन मात्र निर्माण भएको छ । सम्झौताअनुसार २०७५ जेठ सम्ममा पुल निर्माण भइसक्नुपर्थ्याे । एक सय मिटर लामो तथा ७ मिटर चौडाइको डबल लेन पुल निर्माणको सम्झौता भएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?