१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

उखु किसानको आन्दोलन फिर्ता

साताभित्रै भुक्तानी दिनेलगायत ४ बुँदे सहमति
ओमप्रकाश ठाकुर

सर्लाही — सरकारी अनुदानको माग गर्दै आन्दोलनमा उत्रेका सर्लाही, महोत्तरी र रौतहटका उखु किसानले साताभित्रै भुक्तानी दिने सहमति भएपछि आन्दोलन फिर्ता लिएका छन् । गत वर्ष बिक्री गरेको उखुको सरकारबाट पाउने अनुदान नपाएपछि उनीहरू आन्दोलनमा उत्रेका थिए ।

उखु किसानको आन्दोलन फिर्ता

स्थानीय प्रशासन र किसानबीच सहमति हुँदै गर्दा आन्दोलनको निर्धारित कार्यक्रमअनुरूप मंगलबार केहीबेर किसानहरूले राजमार्गसमेत अवरुद्ध पारेका थिए । सहमतिलगत्तै राजमार्ग नियमित सञ्चालनमा आएको थियो । सहमतिपछि किसान नेताहरू राजमार्गमै आएर ७ दिनभित्र अनुदानको रकम पाउने सहमति भएको जनाएपछि किसान राजमार्ग छोडेका थिए ।


स्थानीय प्रशासन, मिल प्रतिनिधि र किसान प्रतिनिधिबीच मंगलबार भएको ४ बुँदे सहमतिपछि किसानहरूले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ । सहमतिअनुसार उखु किसानको नाम, ठेगाना, पिताको नाम, जग्गाको क्षेत्रफल, परिमाणसमेतको विवरण खुलाएर स्थानीय तहहरूसँग प्रमाणित गराई चिनी उद्योगले जिल्लास्थित भुक्तानी समितिमा सात दिनभित्र सिफारिस गर्ने उल्लेख छ ।


जिल्लाका चिनी उद्योगहरूले प्रमाणित विवरणको आधारमा अनुदान रकम उपलब्ध गराउने सहमति भएको हो । यस्तै सहमतिपत्रमा गत वर्ष खरिद गरिएका उखुको जात छुटयाउन गाह्रो भएकाले सम्पूर्ण जातको उखुमा अनुदान रकम उपलब्ध गराउने उल्लेख छ । कृषि मन्त्रालयको निर्देशन पालना गर्न कठिन भएकाले किसानको समस्यालाई ध्यानमा राखी छलफलकै आधारमा भुक्तानी प्रक्रिया अगाडि बढाउने र यसको सम्पूर्ण जिम्मेवारी चिनी उद्योग रहने जनाउँदै आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमतिपत्रमा छ ।


नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘स्थानीय प्रशासन, चिनी उद्योगका प्रतिनिधि र हामी किसान प्रतिनिधिबीच ७ दिनभित्र भुक्तानी दिने सहमति भएको छ, झन्झटिलो कार्यविधि पनि उहाँहरू केही लचिलो हुनुभएको छ,’ उनले भने, ‘सहमतिअनुसार सरकारी अनुदानका लागि गरिएको सम्पूर्ण आन्दोलन फिर्ता लिएका छौं ।’


उखु किसानलाई उत्पादन लागतअनुसारको मूल्य कम भएको भन्दै मन्त्रिपरिषद्ले साउन १८ मै किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने निर्णय गरेको थियो । सोहीअनुसार जिल्लास्थित कोलेनिकामा रकमसमेत आइसकेको छ ।


किसानका लागि आएको अनुदानको रकम भुक्तानी हुन सकेको थिएन । गत वर्षकै अनुदानबापत आएको रकम भुक्तानी हुन नसक्दा सर्लाहीका किसानले पाउनुपर्ने २६ करोड ७४ लाख ३१ हजार अनुदान कोलेनिकाको खातामा पाँच महिनादेखि नै थन्किएको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?