बजारमा भारतीय गोलभेडा

ओमप्रकाश ठाकुर

सर्लाही — भारतीय गोलभेडाले नेपाली बजारमा स्थान पाएपछि स्थानीय किसान मर्कामा परेका छन् । गत वर्षको तुलनामा गोलभेडाको उत्पादन राम्रो भएपछि कम मूल्यको मार खेप्दै आएका यहाँका किसानले भारतीय गोलभेडा भित्रिएपछि थप मारमा परेका हुन् । 

बजारमा भारतीय गोलभेडा

यस वर्ष मौसमअनुकूल भएर गोलभेडाको उत्पादन बढेका बेला भारतीय गोलभेडाले पनि नेपाली बजारमा स्थान पाएको छ । उपभोक्ताले सस्तोमा गोलभेडा किन्न पाएका छन् भने किसान मारमा परेका छन् । जिल्लाका उत्तरी क्षेत्रका किसान अहिले गोलभेडा टिप्ने र बजारसम्म पुर्‍याउनमा ब्यस्त छन् । २ बिघामा गोलभेडा खेती गरेका हरिवन नगरपालिका २, अत्रौलीका शीतल महतोले यस वर्ष उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाले आफूहरू मारमा परेको बताए । ‘यस वर्ष शीतलहर नचलेकाले गोलभेडाको उत्पादन राम्रो भयो, उत्पादन बढी भएकाले कम मूल्यको मार खेप्दै थियौं,’ उनले भने, ‘भारतीय गोलभेडाले हामीलाई थप मारमा पारिदियो ।’


महतोले लगाएको गोलभेडा गतवर्षको भन्दा यस वर्ष डेढ गुणा बढी फलेको छ । तर बजार मूल्य गत वर्षको भन्दा आधा पनि नरहेको उनले बताए । ‘गत वर्ष गोलभेडा उत्पादनको अन्तिम समयमा प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म भाउ थियो तर यस वर्ष प्रतिकिलो ५ देखि ७ रुपैयाँमा बिक्री गर्नुपरेको छ,’ महतोले भने, ‘गोलभेडाको उत्पादन राम्रो भएको वेला मूल्य पाइँदैन, उत्पादन कम भएका बेला राम्रो मूल्य हुन्छ, त्यसमा पनि भारतीय गोलभेडाले बजार खाइदिन्छ ।


गत वर्ष शीतलहरका कारण उत्पादन कम भएको र विषादी पनि निकै छर्किनु परेको तर यस वर्ष केही नगरेरै मौसम अनुकूल भई उत्पादन बढेको उनले सुनाए । गोलभेडा उत्पादनमा अग्रणी सर्लाहीका हजारौं किसान यो खेतीमा छन् । मुख्य सिजनमा दैनिक एक सय टनभन्दा बढी उत्पादन हुने गोलभेडाको मूल्य घटदा हजारौं किसानको जनजीविकामै प्रभाव पर्छ ।गोलभेडा उत्पादनको अन्तिमसम्ममा पनि बजार भाउ नपाउँदा किसानलाई ठूलो क्षति व्यहोर्नु परेको छ ।


लालबन्दी, नवलपुर, सासापुर र अत्रौलीवाट दैनिक करिब एक दर्जन ट्रकमा गोलभेडा देशका प्रमुख सहरमा बिक्रीका लागि जान्छन् । यहाँको गोलभेडाको बढी खपत भने काठमाडौंमा हुन्छ । काठमाडौंमा भाउ घटेकाले किसानको उत्पादनको मूल्य घटेको हो । बढी गोलभेडा पुगेकाले प्रतिस्पर्धाका कारण काठमाडौंमा भाउ नभएकाले किसानले मूल्य नपाएको अत्रौलीका किसान चलितर महतोले बताए । यहाँका गोलभेडाको मूल्य काठमाडौंको खरिद मूल्यका आधारमा तय हुन्छ । महतोका अनुसार काठमाडौंमा मूल्य घट्नासाथ व्यापारीले कम मूल्यमा खरिद गर्न थाल्छन् ।


ठूलो परिमाणमा भित्रिएको भारतीय गोलभेडा सस्तो भएकाले प्रतिस्पर्धामा स्वदेशी गोलभेडा उत्पादन गर्ने किसान मारमा परेका हुन् । काठमाडौंमा तीव्र गतिमा भाउ घटेकाले तराईमा महँगोमा खरिद गर्ने व्यापारीले समेत घाटा व्यहोर्नु परेको गोलभेडा व्यापारी शम्भु चौधरीले बताए । खर्च र मिहिनेत गरी उत्पादन गरेको गोलभेडाको बजारमा भाउ घटदा निराशा छाएको किसानहरू बताउँछन् । गोलभेडा समयमा बिक्री नगरे कुहिने भएकाले बजार भाउअनुसार बिक्री गर्नुपर्ने बाध्यता किसानको छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?