१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सीप नसिक्दा विदेशमा ठगी

अवधेशकुमार झा

राजविराज — सीप र दक्षताबिना वैदेशिक रोजगारीमा जाँदा ठगिने क्रम बढ्दै गएको छ । सरकार र विभिन्न संघ संस्थाले सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरिरहँदा पनि बिनासीप र कागजपत्र नमिलाई वैदेशिक रोजगारीमा जानेको संख्यामा भने कमी आउन नसकेको तथ्यांकले देखाएको छ ।

राजविराजस्थित वैदेशिक रोजगारी सम्बन्धी सूचना केन्द्रका अनुसार वैदेशिक रोजगारीका क्रममा सप्तरी जिल्लामा ०६५ सालयता मात्र १ हजार ६ सय ६० वटा ठगीका घटनाको उजुरी परेको छ । धेरै ठगीका घटना स्थानीयस्तरमा मिल्ने वा सम्बन्धित निकायसम्म नपुग्ने गरेको अवस्था पनि रहेको छ ।


१० वर्षयता परेको ठगीसम्बन्धी उजुरीमध्ये १ हजार ८२ वटा घटना फरफारक भई ६ करोड ५६ लाख २५ हजार ३ सय १८ रुपैयाँ क्षतिपूर्ति पीडित परिवारले पाएको वैदेशिक रोजगारी सम्बन्धी सूचना केन्द्र सञ्चालन गरिरहेको सप्तरी सामुदायिक विकास केन्द्रका अध्यक्ष शम्भुनन्दन चौधरीले बताए ।


वैदेशिक रोजगारीमा जानेहरूको संख्याका हिसाबमा सप्तरी जिल्ला पाँचौं स्थानमा छ । नेपालबाट रोजगारका लागि विदेसिनेमध्ये सबभन्दा बढी प्रदेश नम्बर २ को धनुषाका रहेका छन् । यसैगरी झापा दोस्रो, मोरङ तेस्रो, सिरहा चौथो र सप्तरी पाँचौंमा पर्छन् । गतवर्ष मात्र सप्तरीबाट ३५ महिला सहित १ हजार २ सय जना विदेश गएको सूचना तथा परामर्श केन्द्र राजविराजका प्रमुख रामप्रवेश मण्डलले जानकारी दिए ।


ठगिने क्रम मात्र होइन, रोजगारीका लागि बिदेसिएका मध्ये विभिन्न कारणले उतै ज्यान गुमाउनेको संख्या पनि जिल्लामा उच्च छ । पछिल्लो १० वर्षमा मात्र जिल्लाबाट रोजगारका लागि विदेश गएकामध्ये १ सय ४२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको दुर्घटनामा परी मृत्यु हुने धेरै छन् भने त्यहाँको वातावरणमा शारीरिक रूपमा घुलमिल हुन नसक्दा बिरामी भएर मर्नेको संख्या पनि अत्यधिक छ ।


सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सरकारी र गैर सरकारीस्तरबाट सीप सिकेर र कागजपत्र बुझेर माक्र विदेश जान सचेतनामूलक कार्यत्रम सञ्चालन गरिँदै आएको बताए । उनले ठगिएकाहरूको जानकारी जिल्ला प्रशासन कार्यालयमा आउनेबित्तिकै गम्भीरतापूर्वक कारबाही अगाडि बढाउने गरिएको बताए ।


जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरूको संख्या अत्यधिक रहेको र ठगिनेहरूको संख्या पनि बढ्दै गएपछि जिल्लाका विभिन्न स्थानीय तहले वैदेशिक रोजगारीबारे सचेतना जगाउन बजेट समेत विनियोजन गरेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?