कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राकृतिक चिकित्सा भवन अलपत्र

२०६४ मंसिर २७ मा शिलान्यास गरेको भवन निर्माण भइसकेको तीन वर्ष बिते पनि अस्पताल अझै सुचारु हुन सकेको छैन ।
भरत जर्घामगर

सिरहा — भारतीय राजदूतावासको सहयोगमा सिराहाको धनगढीमाई नगरपलिका–११ धनगढी बजारमा निर्माण गरिएको प्राकृतिक स्वास्थ्य अस्पताल भवन तीन वर्षदेखि अलपत्र छ । भारतीय दूतावासले भवन निर्माणका लागि ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

नेपालका लागि तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीले ०६४ मंसिर २७ मा शिलान्यास गरेको भवन निर्माण भइसकेको तीन वर्ष बिते पनि अस्पताल अझै सुचारु हुन सकेको छैन ।


एलोपेथिक र आयुर्वेदिक औषधिबाट रोग निको नभएर निरास भएका दीर्घरोगीहरूलाई प्राकृतिक उपचार पद्धतिबाट रोगको निदान गर्ने उद्देश्यले अस्पताल निर्माण गरिएको थियो । धनगढी बजारमा ४ कट्ठा १७ धुर जग्गामा चार तले भवन निर्माणका लागि ठेकेदार कम्पनीले २ करोड ८५ लाखमा निर्माण सम्झौता गरेको थियो । निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीले तत्कालीन जिविसलाई मिलाएर सम्पन्नताको कागजात पेश गरी भुक्तानी लिएपछि अस्पताल अलपत्र परेको आरोप समितिको छ ।


भारतीय दूतावासले प्राकृतिक चिकित्सा पद्धतिको उपचारका लागि भवन निर्माणसँगै आवश्यक फर्निचरका लागि काठ खरिदका लागि रकम सहयोग गरेको थियो । समितिले १८ लाख रुपैयाँमा खरिद गरेको काठसमेत मिलमैं अलपत्र परेको स्थानीयले बताए । भवन निर्माणपछि दूतावासले अस्पताल सञ्चालनका लागि पठाएका २० लाख रुपैयाँ लागतमा उपकरण गोदाममैं थन्किएका छन् ।


‘दूतावासले अस्पताल सञ्चालनका लागि पठाएका २० लाख रुपैयाँ बराबरका उपकरण खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन्,’ स्थानीय गंगाराम महतोले भने । उनका अनुसार प्राकृतिक चिकित्सा पद्धतिका लागि स्थानीयले योगाभ्यास गर्न सुरुमा जनश्रमदान गरी एक तले योग भवन बनाएका थिए । पछि भीमसेनगोला (योग मार्ग) बानेश्वरमा मुख्य कार्यालय रहेको प्राकृतिक स्वास्थ्य संस्थाको पहलमा भारतीय दूतावासको सहयोगमा अस्पताल भवन निर्माण भएको महतोले बताए ।


संस्थाका डा. हरिप्रसाद पोखरेलको पहलमा दूतावासबाट ३ करोड रुपैयाँ सहयोग प्राप्त भएपछि भवन निर्माण भएको हो । अस्पताल भवन निर्माण र सञ्चालनका लागि नथुनिसिंह दनुवारको अध्यक्षतामा ७ सदस्यीय प्राकृतिक स्वास्थ्य संस्था उपसमिति निर्माण गरी काम अघि बढेको थियो ।


दुई वर्षअघि दनुवारको मृत्यु भएपछि रामेश्वर सिंह (रामाकर) को अध्यक्षतामा समिति पुनर्गठन गरिएको छ । समितिका सदस्य डम्बर खुलालले अस्पताल सञ्चालनका लागि धेरै निकायमा पहल गरे पनि सम्भव नभएको बताए ।

बेवारिसे बनेको भवनको तीन वटा कोठामा धनगढीमाई नगरपालिकाले ११ नम्बर वडा कार्यालय राखेको छ भने पहिलो तलाको एउटा कोठा नगरपालिकाले सभा हलका रूपमा प्रयोग गरेको छ । त्यही तलाको एउटा कोठामा स्थानीयले योगाभ्यास गर्छन् ।


अपांगमैत्री सुविधा सम्पन्न भवन बने पनि रेखदेख हुन नसक्दा भवन जीर्ण बन्दै गएको स्थानीयले गुनासो पोखे । करोडौंको लगानी बेवारिसे बनेकाले स्थानीयले अस्पताल सञ्चालनमा पहल गरिदिन नगरपालिकालाई आग्रह गरेका छन् ।


अस्पताल सञ्चालन हुन नसक्दा धनगढीमाई नगरपालिकाका १०, ११, १२ लगायत उत्तरवर्ती चुरेसँग जोडिएका वडाका स्थानीय उपचारका लागि लहान धाउन बाध्य छन् ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?