१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रिलायन्सले थाल्यो भुक्तानी प्रक्रिया

पवन यादव

सिमरा — मूल्य विवादका कारण ढिलो गरी सञ्चालनमा आएको बाराको श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि (चिनीमिल) ले उखुको भुक्तानी प्रक्रिया थालेको छ ।

रिलायन्सले थाल्यो भुक्तानी प्रक्रिया

किसानको समस्यालाई मध्यनजर गर्दै चिनी मिलले क्यालेन्डर सिस्टमले बुधबारबाट उखुको भुक्तानी वितरण गर्ने तयारी गरेको प्रालिका डेपुटी जेनरल म्यानेजर (डीजीएम) गौरव सिलोडियाले जानकारी दिए ।


उखु काट्न लागेको मजदुर खर्च र खेतबाट चिनीमिलसम्म उखु पुर्‍याउँदा लागेको ढुवानी खर्चको रकम तिर्न किसानलाई समस्या नहोस् भन्ने उद्देश्यले तत्कालै भुक्तानी दिने तयारी गरिएको उनले स्पष्ट पारे । ‘किसानले बिक्री गरेको कुल उखुको ५० प्रतिशत रकम भुक्तानी गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘यसले किसानलाई थोरै भए पनि राहत पुग्ने विश्वास लिइएको छ ।’ सुरुमै उखुको पूरै भुक्तानी गर्न नसकिए पनि यसले उखु कटानी ढुवानी खर्च धान्न किसानलाई सहज हुने उनले बताए ।


पुस २८ देखि माघ ५ गतेसम्म खरिद गरिएको उखुको भुक्तानी दिने तयारी गरिएको उनले जानकारी दिए । बिहीबारदेखि शुक्रबारसम्ममा किसानको खातामा रकम जम्मा हुने उनले दाबी गरे । पहिलो किस्तामा एक लाख क्विन्टल उखुको २ करोड २८ लाख रुपैयाँ भुक्तानी गर्ने तयारी भएको उनको भनाइ छ ।


उनका अनुसार पुस २८ गते देखि सञ्चालनमा आएको चिनी मिल बुधबार ४० औं दिनमा पुगेको छ । यो अवधिमा ९ लाख ५१ हजार ६८ क्विन्टल उखु क्रसिङ भइसकेको छ । उनले त्यसबाट ८० हजार ६ सय ५० क्विन्टल चिनी उत्पादन भइसकेको जानकारी दिए । ऋण लिएर भए पनि किसानलाई भुक्तानी दिन थालिएको उनले जानकारी दिए ।


चिनी बिक्री हुन नसके उत्पादन भएको चिनी स्टक गर्न समस्या हुने रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालिका कारखाना प्रबन्धक विकास चौधरीले बताए । उद्योगको गोदाममा १ लाख ८२ हजार ५ सय क्वन्टल चिनी भण्डारण गर्न सक्ने क्षमता छ ।


नयाँ चिनी उत्पादन र पुरानो चिनी भण्डारण गरी १ लाख ३५ हजार ६ सय ५० क्विन्टल चिनी भण्डारण भइसकेको छ । दैनिक ३२ देखि ३३ हजार क्विन्टल उखु क्रसिङ गर्दा सरदर ३ हजार क्विन्टल चिनी उत्पादन हुने गरेको छ । ‘यो अनुपातमा चिनी उत्पादन हुँदा अबको १५ दिनसम्म मात्र गोदाममा चिनी स्टक गर्न सकिन्छ,’ उनले भने, ‘त्यसपछि पूरै गोदाम भरिन्छ र थप गोदामको आवश्यकता पर्छ ।’


समयमै चिनी बिक्री भइदिएको भए चिनी भण्डारण गर्ने समस्या आउँदैनथ्यो । चिनी बिक्री हुन नसक्दा ठूलो समस्या आइपर्ने सम्भावना देखिएको उनले बताए । उनका अनुसार लक्ष्य पूरा गर्न अहिले पनि कम्तीमा ९० दिन चिनी मिल सञ्चालन हुन्छ । गोदाम खाली नहुँदा ७५ दिनको उत्पादित चिनी स्टक गर्न विकल्प खोज्नुपर्ने बाध्यता उद्योग सामु आइपरेको उनले जानकारी दिए ।


उद्योगले दिने उखुको मूल्य र सरकारी अनुदान रकम जोडेर यसपालि ५ सय ३६ रुपैयाँ ५६ पैसा उखुको मूल्य निर्धारण गरी चिनीमिल सञ्चालन भएको उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाले जानकारी दिए ।


‘किसानले बिक्री गरेको उखुको भुक्तानी समयमै दिन किसान संघले चिनीमिलमाथि निरन्तर दबाब दिँदै आएको छ,’ उनले भने, ‘हाम्रै दबाबकै कारण चिनी बिक्री नभए पनि किसानको भुक्तानी दिने सुरसारमा चिनीमिल जुटेको छ ।’

समयमै उखुको भुक्तानी पाउनु हामी किसानका लागि सुखद् कुरा भएको उनले बताए ।


खुट्टी (पुरानो उखु) र मोरहन (नयाँ उखु) खेती गरी साढे १४ हजार बिघा क्षेत्रफलमा बारा र पर्सामा उखु खेती गरिएको चिनीमिलको केन शाखाले जनाएको छ । गत वर्ष १० हजार ५१ किसानले उखु खेती गरेका थिए । अहिले त्यो तथ्यांक बढेर १३ हजार ३ सय २४ मा पुगेको चिनीमिलले जनाएको छ । ‘अहिले नयाँ २ हजार ८ सय ९१ बिघा क्षेत्रफलमा उखु खेती थपिएको छ,’ केन शाखाका प्रमुख ओमप्रकाश शुक्लाले भने, ‘३ हजार २ सय ९१ नयाँ किसान उखु खेती गर्ने सूचीमा सामेल भएका छन् ।’


उद्योगले गएको सिजनमा बारा र पर्साका गरी १० हजार ५१ जना किसानबाट उखु खरिद गरेको थियो । किसानले गत वर्ष १० हजार ७ सय ७७ बिघा क्षेत्रफलमा उखु खेती गरेका थिए । उखु उत्पादनमा राम्रो हुन थालेपछि उखु खेतीको क्षेत्रफल विस्तारै बढ्दै गएको छ ।


गत वर्ष प्रतिदिन २ हजार ५ सय टन क्षमतामा उखु क्रसिङ गरेको उद्योगले यसपालि १ हजार टन क्षमता थपेर ३ हजार ५ सय टनमा पुर्‍याएको छ । यो सिजनमा ३८ हजारदेखि ४० हजार मेट्रिक टन उखु पेल्ने लक्ष्य उद्योगले लिएको छ । गएको सिजनमा चिनीमिलले २९ लाख १ हजार ७ सय क्विन्टल उखु क्रसिङ गर्दा २ लाख ५५ हजार ८ सय ६० क्विन्टल चिनी उत्पादन भएको उद्योग प्रशासनले जनाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?