जुत्ताको निकासी घट्यो

कान्तिपुर संवाददाता

पर्सा — नेपालबाट निकासी हुने बस्तुमध्येको एक नेपाली ब्रान्डको स्पोर्ट जुत्ताको निकासी ह्वात्तै घटेको छ । वीरगन्ज नाका हुँदै गत आर्थिक वर्षको माघसम्मको तुलनामा चालु आवको यसै अवधिमा नेपाली जुत्ताको निकासी घटेको हो ।

यो नाकाबाट नेपाली ब्रान्ड गोल्डस्टारका स्पोर्ट जुत्ताहरू भारततर्फ निकासी हुने गरेको छ ।


वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको माघसम्मको अवधिमा यो नाका हुँदै भारततर्फ ७१ करोड ८८ लाख रुपैयाँ बराबरका २९ लाख ५९ हजार २ सय २४ जोडी स्पोर्ट जुत्ता निकासी भएको छ । जबकि गत आवको यसै अवधिमा ८७ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३७ हजार ३ सय ९० जोडी जुत्ता निकासी भएको थियो ।


तुलनात्मक रूपमा जुत्ताको निकासी ७७ लाख ७८ हजार १ सय ८६ जोडीले घटेको छ । लामो समयदेखि यो नाकाबाट निकासी हुने प्रमुख १० बस्तुको सूचीमा स्पोर्ट जुत्ता रहेको छ । डाबर नेपालका उत्पादन र स्पोटर््स जुत्ताको भारत तर्फको निकासीको क्रम निरन्तर चली रहेको छ ।


स्वदेशी उत्पादन भएकाले यसको निकासीमा भन्सार शुल्क लाग्दैन । भारतीयले गोल्डस्टार अत्यधिक रुचाएको जुत्ता हो । कतिपय भारतीयहरू सीमावर्ती बजारहरूमा किनमेल गर्न आउदा यो जुत्ता खरिद गरेर लग्ने गरेका छन् ।


कार्यालयका सूचना अधिकृत मनीष महतोले गोल्डस्टार उत्पादक कम्पनीले केही वर्षदेखि भारतको हरिद्वारमा पनि आफ्नो प्लान्ट स्थापना गरी गोल्डस्टार जुत्ता उत्पादन गरी रहेकाले पनि भारत तर्फ नेपालमा उत्पादित गोल्ड स्टारका जुत्ताको निकासी घटेको हुन सक्ने बताए ।


‘हाल नेपालबाट भारत तर्फ यो ब्रान्डका जुत्ता निकासी हुने मात्र नभई भारतबाट नेपाल आयात पनि हुन थालेको छ,’ उनले भने, ‘यस कारण पनि नेपालमा उत्पादित गोल्ड स्टार जुत्ताको भारततर्फको निकासी घटेको हुन सक्छ ।’

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?