१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

फ्रेडलको नेपाल यात्रा

कान्तिपुर संवाददाता

पर्सा — फ्रेडल स्वाबोदा पेसाले भुगर्भविद हुन् । यसै विषयमा विद्यावारिधि गरेका यी अस्ट्रियन नागरिकको सोख भने अचम्मको छ । उनी विश्व भ्रमण गर्न रुचाउँछन् । एक्लै अनि त्यो पनि सडकमार्ग प्रयोग गरेर । 

४९ वर्षीय फ्रिडल सार्वजनिक यात्रुबाहक सवारीसाधन चढ्दैनन् । विश्व भ्रमणका लागि उनले आफ्नै निजी वाहन प्रयोग गरेका छन् । ७ महिनाअघि आफ्नै मुलुक अस्ट्रियाबाट विश्व भ्रमण यात्रा थालेका उनले २५ हजार किलोमिटर यात्रा तय गरेर पहिलो पटक आइतबार नेपाली भूमी टेकेका हुन् । पाको उमेर तर तन्नेरी जोश भएका उनी वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गरे ।


नेपालको दक्षिणी नाकामा रमाइरहेका यी फिरन्ता अहिले मधेशको हावापानी, संस्कृति, कला, रहनसहन आदि बुझ्दै छन् । विश्व भ्रमणको क्रममा रुस, कजाकिस्तान, किर्गिस्तान, तजाकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, इरान, पाकिस्तान, भारत आइपुगेका थिए । पाकिस्तानबाट बागा बोर्डर हुँदै भारत प्रवेश गरेका उनी भारतको विभिन्न प्रान्त घुम्दै भारतको उत्तरप्रदेशको विश्व प्रसिद्ध कुम्भ मेलाको साक्षी बन्न पुगे । त्यहाँ भारतको विविधता हेरेर नेपाल हान्निए । फ्रेडल केही दिनको थकान मेटेर शुक्रबार काठमाडौं फर्कंदै छन् ।


अविवाहित उनी अस्ट्रियामा केटी साथीका साथ लिभिङ्ग टुगेदरमा रहेको बताउँछन् । विवाहलाई बन्धन ठान्ने उनी घरजम र छोराछोरीको पालनपोषणमा लाग्ने खर्च जोगाएर विश्व भ्रमणमा निस्केको बताउँछन् । पुर्ख्यौली क्याथोलिक क्रिस्चियन धर्म त्यागेको बताउने उनी कुनै धर्मको दायरामा बाँधिन नचाहेको बताउँछन् । ‘म चर्च, मन्दिर, मस्जिद, गुरुद्वारा, गुम्बा जहाँ पनि पुगिरहेको हुन्छु,’ उनले भने, ‘मलाई सबै धर्म समान लाग्छन्, म धार्मिक स्थलमा सकारात्मक ऊर्जा पाउनका लागि मात्र जान्छु, सबै धर्मका धार्मिकस्थल सफा, सुग्घर र शान्त हुन्छन्, त्यहाको पोजेटिभ भाइव्रेसनले मलाई आत्मिक शान्ति दिन्छ ।’


नेपालबारे निकै सुनेको र पढेको बताउने उनलाई नेपालको पहाडी तथा हिमाली भेगका पर्यटनस्थलहरू पुग्ने धोको छ । ‘मनास्लु हिमालमा २ वर्षअघि केही अस्ट्रियनले पर्वतारोहणको क्रममा ज्यान गुमाएको मैले पढेको छु, म पर्वतारोही त हैन, तर मनास्लुलाई नजिकबाट नियाल्न चाहन्छु,’ उनले भने, ‘नेपाल विश्वमै पर्यटन र ट्रेकिङ्गको लागि प्रसिद्ध छ, ४ बर्ष अघिको नेपालको भुइचालोको बारेमा पनि मैले पढेको छु, यहाका प्रायः सबै पर्यटकीयस्थल पुग्ने योजना बनाएको छु ।’


अप्रिल अन्त्यसम्म नेपाल बस्ने र त्यसपछि चीन हुँदै मंगोलिया, रुस सम्म पुग्ने उनको योजना छ । रुसबाट पानी जहाजमा अमेरिका पुग्ने र त्यहाबाट दक्षिण अमेरीकी मुलुकहरूको भ्रमणको योजना रहेको उनले सुनाए ।


आफ्नो घुमन्ता बानीको कारण कतिपयले आफूलाई बहुलठ्ठी भने पनि त्यसको मतलब नभएको उनले बताए । विश्व भ्रमण गरेर आफ्ना अनुभव पुस्तकमा लेख्ने आफ्नो योजना रहेको फ्रेडलले सुनाए । ‘हामी पश्चिमाहरू विश्वकै सम्पन्न, सफासुग्घर मुलुकमा बसेका छौं, सबै सेवासुविधा उपभोग गरी रहेका छौं तर विश्वकै अर्को कुनाका मानिसहरू कसरी बाँचेका छन्, कत्तिको सेवासुविधा पाएका छन्, उनीहरूको दैनिकी, रहनसहन, कला, संस्कृति, बसाई कस्तो छ, आदि कुरो म आफ्नो नियात्रा संग्रहमा वर्णन गर्नेछु,’ उनले भने, ‘पश्चिमाहरू मेरो पुस्तक पढेर अचम्मित र रोमाञ्चित हुनेछन्, उनीहरूले मेरो नियात्राबाट अर्को विश्वको बारेमा धेरै जानकारी पाउनेमा म विश्वस्त छु ।’


पश्चिमाहरूभन्दा पूर्वेलीहरू बिल्कुल फरक रहेको तर पश्चिमाभन्दा आर्थिक रुपमा कमजोर भए पनि पूर्वेलीहरू खुसी र सन्तुष्ट देखेको उनले बताए । याक्राको त्रममा आफ्नो खासै नराम्रो अनुभव नरहेको पनि उनले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?