‘कृषि, पर्यटन र उद्योगमा लगानी’

सन्तोष सिंह

धनुषा — प्रदेशमा कृषि, पर्यटन, उद्योग योजनलाई पहिलो प्राथमिकतामा राख्न बुद्धिजीवीहरूले सुझाव दिएका छन् । सहज पहुच हुने समथर जमिन, सिंचाइ, मल, बजार व्यवस्थापन गरी कृषि जन्य उद्योग स्थापना गर्न सुझाएका छन् ।

नीति आयोगले पञ्चवर्षीय योजनाबारे छलफल गर्न आयोजना गरेको गोष्ठीमा अगुवाहरूले कृषिका लागि सिंचाइ, पर्यटनका लागि लगानि र उद्योग स्थापनाका लागि बाह्य लगानीकर्ता ल्याउने वतावरण बनाउनु पर्नेमा जोड दिए ।


कार्यक्रममा व्यवसायी चन्द्रशेखर अग्रवालले प्रदेश २ को विकासका लागि आर्थिक विकास नीति अवलम्बन गरी फलायन हुने जनशक्तिका लागि रोजगारीको नीति आवश्यक रहेको बताए । ‘विकासका लागि आवश्यक जनशत्ति विदेश पलायन भएको छ,’ उनले भने, ‘विकासका लागि पलायन जनशक्ति रोक्नु आवश्यक छ । गाउँमै कृषि, कृषिजन्य उद्योगस्थापना गरी रोजगारीको अवसर दिनुपर्छ ।’ कृषिका लागि सिंचाइ र यान्त्रिकरण गरी रोजगारीको अवसर प्राप्त भए सहरको भार र महँगी नियन्त्रण हुने उनले बताए ।


प्रदेश २ मा कृषिपछि पर्यटन र उद्योगमा लगानि गर्न अग्रवालले सुझाए । जनकपुरको मन्दिर र पोखरीलाई मौसमअनुसार बदल्न सके पर्यटन व्यवसायबाट रोजगारी प्राप्त हुने भएकाले लगानी आवश्यक रहेको बताए । राजपाका नेतासमेत रहेका विजय सिंहले सहज कनेक्टीभिटी रहेको प्रदेश २ मा जनकपुरको जानकी मन्दिर, महोतरीमा मुस्लिमहरूको रौजा मजार, बाराको गढीमाईलाई धार्मिक र सांस्कृतिक अवस्थालाई सरकारले पर्यटनसँग जोडने निति अपनाउन सुझाव दिए ।


‘मिथिला परिक्रमा, जानकी नवमी, राम नवमी र विवाह पञ्चमीलाई व्यवस्थित गरी रोजगारी र पर्यटनको विकास गर्न सकिन्छ,’ उनले भने । पर्यटनसँगै कृषिका लागि सिंचाइ व्यवस्थापन गर्ने सरकारको नीति आवश्यक रहेको उनले बताए । ‘धान उत्पादन हुँदा चामल उद्योगले रोजगारी दिएको थियो,’ सिंहले भने, ‘अन्नको भण्डार प्रदेशमा भारतबाट चामल आउँछ । उत्पादन बढाउनु आवश्यक छ ।’ प्रदेशका जिल्लाहरू वर्गीकरण गरी उद्योग, कृषि, शिक्षा, स्वास्थ्यको हब बनाउन सकिने उनको तर्क थियो ।


जनकपुर, राजविराजलाई शिक्षा पर्यटन, बारा, पर्सालाई उद्योग, सर्लाही महोत्तरीलाई कृषि जोन बनाउन उनले जोड दिए । ‘शिक्षाका लागि जनकपुरमा हजारौं विद्यार्थी बस्थे,’ सिंहले भने, ‘समयअनुकुलको शिक्षा नहुँदा यो रोकिएको छ । जनकपुर र राजविराजलाई शिक्षाको हव बनाएर विकासको गति दिन सकिन्छ ।’


अगुवा प्रकाशचन्द्र साह प्रदेशको विकासका लागि यहाँको मिथिला कला, संस्कृति, कृषिको संरक्षण गर्न सुझाए । ‘मिथिला आर्टले रोजगारीसँगै पर्यटन विकास गर्ने र जनकपुरको प्रसिद्ध माछाले कृषिलाई व्यवसाय बनाउन सकिन्छ,’ उनले भने, ‘जनकपुरको पोखरी र मन्दिर देखाएरै पनि रोजगारी र विकासतर्फ अघि बढ्न सकिन्छ ।’ जनकपुरको पोखरी संरक्षण गरी पर्यटन तान्न लगानी आवश्यक रहेको उनले बताए ।


नागरिक समाजका अगुवा मुरलीमनोहर मिश्रले पर्यटन विकासका लागि ५२ कट्टी ७२ कुण्डको सहर जनकपुरलाई व्यवस्थित बनाउनुपर्ने बताए । प्रमोद यादवले प्रदेश विकासका लागि खाद्य सुरक्षा र आधारभूत स्वास्थ्य सेवामा सरकारको लगानि आवश्यक रहेको बताए ।


प्रदेश २ को पहिलो ५ वर्षका लागि योजना बनाउन गैरसरकारी संस्थाले सहयोग गरेको छ । कार्यक्रममा नीति आयोगका उपाध्यक्ष हरिवंश झा, आयोगका सदस्य डा.सुरेन्द्र झा र मोहनलाल चौधरी, परार्मदाता बसन्त गौतमलगायत सहभागी थिए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?