कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'हामीलाई खानेपानी देऊ’

बस्तीलाई नै अवैध भन्दै वनले विद्युत्, विद्यालयलगायत सुविधा दिनबाट रोक
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका ६, लमाहाकी ४५ वर्षीय कान्छीमाया तामाङ खानेपानीको व्यवस्था मिलाउन भन्दै नगरपालिकाको कार्यालय पुगिन् । ३० वर्षदेखि बस्तीमा पानीको अभाव भएपछि उनीसहित स्थानीय बासिन्दा नगरपालिका कार्यालय पुगेका हुन् ।

'हामीलाई खानेपानी देऊ’

उनिहरूले जनप्रतिनिधिलाई खानेपानीका लागी पटकपटक भन्दा पनि सुनुवाइ नभएपछि कार्यालयमै पुगेर खानेपानीको धारो जडान गरिदिन भन्दै आफ्ना माग राखे । ‘हामी नगरपालिकामा धर्ना बस्ने तयारीमा छौं,’ तामाङले भनिन्, ‘यतिका वर्षदेखि कुवाको पानीको भर पर्नुपर्छ । कसैले हाम्रो पीडा सुन्दैन । हामिलाई खानेपानी देऊ ।’


चन्द्रनिगाहपुर चोकबाट झन्डै ७ किमि पश्चिम, लमाह जंगलबीचमा झुपडीहरूको सानो बस्ती छ । बस्तीमा १४ घरधुरी छन् । ती सबै सुकुम्बासी हुन् । उनीहरू दैनिक ज्यालादारी गर्न बाहिर जान्छन् । साँझ फर्कन्छन् । ज्यालाबाट आएको रकमले चन्द्रनिगाहपुर बजारबाट चामल, दाल, तरकारी खरिद गरी परिवार पाल्ने गर्छन् ।


यहाँ पानीको सुविधा भने छैन । भूमिगत पानीको व्यवस्था नभएकाले स्थानीयले नदी छेउमा खाडल बनाएर निस्कने धमिलो पानी पिउन बाध्य छ । यस्तो खाडललाई उनीहरू कुवा भन्छन् । ३० वर्षदेखि स्थानीयले त्यही कुवाको पानी पिउँदै आएका छन् । लमाह खोलाको किनार र ढिस्को छेउमा स्थानीयले आधा दर्जन स्थानमा खाडल (कुवा) बनाएका छन् । वर्षाको बेला बाढीले बगाएपछि समस्या हुने गरेको छ । बाढीले नदी छेउको कुवा बगाएपछि कहिलेकाहीँ छानाबाट तल झरको पानी पिउन बाध्य हुने गरेको कान्छिमायाले दुखेसो पोखिन् ।


बिहान अधिकांश गाग्रो बोकेर नदी छेउमा बनाइएको कुवामा जान्छन । बगरमा खनिएको खाल्डो (कुवा) मा जमिन मुनीबाट रसाएर आएको पानीलाई कचौराले झिकेर गाग्री र ग्यालेनमा भर्छन् । एक जनालाई यसरी संकलन गरिएको पानीबाट गाग्री भर्न करीब २५/३० मिनेट लाग्छ । एक परिवारले खाल्डोबाट ३/४ वटासम्म गाग्री पानी संकलन गरी लैजान्छन् । यहीको पानीलाई सबै काममा प्रयोग गर्दै आएका छन् ।


कुवाको आकारभित्र पानी भरिए पछि मात्र गाग्रोमा राख्न मिल्ने उनीहरू सुनाउँछन् । बस्तीबाट झन्डै ५ सय मिटर दक्षिण लमाहा नदीछेउ उनीहरूले हातले खोस्रेर गहिरो खाडल पारी कुवाको आकार बनाएका छन् । वर्षाका बेला बाढीले दिनहुँ कुवा भत्काइदिन्छ । ठूलो बाढी आयो भने सर्वसाधारण कुवा बनाउन जाँदैनन् । घरकै छानाको पानी भाडामा जम्मा गरी पिउने र खाना पकाउने गर्छन् । त्यो पनि भएन भने त्यत्तिकै बस्छन् । उनीहरू खाल्डोको पानीले खाना पकाउने, नुहाउने, कपडा सफा गर्ने, शौच गर्ने लगायत दैनिकी पुरा गर्छन् । यस बस्तीमा अहिलेसम्म कसैले धाराको व्यवस्था गरिदिएको छैन ।


नगरपालिका भएर पनि बस्तीको अवस्था गएगुज्रेको छ । नगरपालिकालाई स्मार्टसिटी बनाउने विषयमा काम अघि बढिरहेको छ । नगरपालिका प्रमुख रामचन्द्र चौधरीले लमाहाको बस्तीबारे अहिलेसम्म कुनै योजना नबनाइएको बताए । ‘हामीले त्यहाको बस्तिबारे के गर्ने भन्ने ठोस योजना बनाएका छैनौं,’ उनलेभने, ‘निकट भविष्यमा केही न केही गर्छौं ।’


नगरमा यस्ता बस्ती धेरै छन् । जहाँ अभावै अभावबाट झेलेर स्थानीय बसेका छन् । बस्तिमा खानेपानीको कुनै स्रोत छैन । धारा गाड्न धेरै पैसा लाग्ने उनीहरू सुनाउँछन् । बस्तीमा चापाकल, बिजुली केही छैन । उनीहरू मट्टीतेलबाट टुकी बाल्छन् । नगरपालिका भएर पनि यो बस्तीका स्थानीय आधारभूत आवश्यकताबाट बञ्चित छन ।


बस्ती हटाउन जिल्ला वनले निकै प्रयास गरेको थियो । तर सकेन । टिम्बर कर्पोरेशनले ३ दशक अघि जंगलमा काटिएको रुखको गोलीया घाटगद्दी गर्ने काममा ल्याइएको मजदुरहरू आफूखुसी बसेको बस्ती भएको वनले जनायो । यसलाई वनले अबैध भन्दै आएको छ । अबैध बस्ती भन्दै वनले विद्युत, विद्यालय लगायतको सुविधा दिनबाट रोक लगाएको छ ।


यो ३० वर्ष पुरानो बस्ती हो । २०४४ सालमा मकवानपुरको डाङडुंगे गाउँबाट बस्ती हटाइएपछि कान्छीमायाको परिवार यही जंगलमा झुपडी बनाई बसेका हुन् । बस्तीमा धाराको व्यवस्था गरिदिने भनेर सबै दलका नेताहरूले पटक–पटकका चुनाव आश्वासन बाँड्ने उत्सवको रूपमा लिएको उनले गुनासो पोखिन् । त्यसैले उनीहरूले कसैका आश्वासनलाई पत्याउन छाडेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?