गोडधुवामा चामल र दाल

कान्तिपुर संवाददाता

पर्सा — जिल्लाको जिराभवानी गाउँपालिका–३ साहजानपुरमा बिहीबार एउटा विवाह मण्डप सजिएको थियो । फुसले छाएको मण्डपमा माटाका भाँडाकुँडा पनि राखिएका थिए । छिमेकका २ गाउँबाट भिन्दाभिन्दै जन्ती लिएर बेहुलाहरू आइपुगे । अनि एउटै मण्डपबाट २ जोडीको विवाह एकै साथ भयो । 

गोडधुवामा चामल र दाल

अनुशा कुमारीको विवाह पटेर्वासुगौलीका गौरीशंकर ओझैयासँग र उनकी बहिनी सबिताको जिराभवानी ३ जीतपुरका गोबिन्द प्रसाद चौधरीसँग विवाह भयो । अनि बेहुली दिदी बहिनीलाई गोडधुवा दिने बेला आयो । छरछिमेकीहरूले बेहुला बेहुलीलाई टीका लगाउँदै गोडधुवामा चामल, दाल, तेल आदि दिए ।


बेहुलीहरू बिदा हुने बेलामा एक/एक ट्याक्टर अन्न गोडधुवा सहित बिदा भए । जिल्लाको उत्तर पश्चिमी भेगका थारू बस्तीमा अझै पनि चेलीबेटीलाई गोड धुवा र बाबुआमाले दाइजो दिँदा समेत अन्न र खाना पकाउने भाँडाकुँडा दिने चलन छ । यो थारू समुदायको प्राचीन परम्परा हो ।


मधेसमै बसोबास गर्ने भूमिपुत्र थारू समुदायले छोरी चेलीलाई बिहेवारी गरेर अन्माउँदा अन्नसँगै माटाका भाँडाकुँडा, चुलेसी, खाना पकाउने भाँडाकुँडा, सिलौटो, लोहोरो, गाजल बनाउने कजरौटा आदि सामग्री गोडधुवा र दाइजो दिने चलन छ । यस भेगका थारू समुदायमा मधेसका अन्य जातिहरू जस्तो नगद दाइजो/तिलक लेनदेन गर्ने विकृति भित्रिसकेको छैन ।


भोजभतेर पनि खासै महँगो र बिलासी हुँदैन । खसीको मासु, भात, दाल, तरकारी भोज खुवाइन्छ । जन्ती वा बेहुली पक्षका भए पनि टेबुलमा बसेर खाँदैनन् । भुइँमै पलेटी कसेर पातको टपरी वा त्यो नभए कागजको टपरीमा भोज खाने चलन अझै पनि छ ।

बेहुली दिदी बहिनीका बुवा रामबालक गौरोले छोरीबेटीलाई अन्माउँदा उनीहरूलाई घरव्यवहार गर्न सहज होस् भनी अन्न र भान्छाघरमा प्रयोग हुने भाँडाकुँडा तथा अन्य सामग्री दिने चलन रहेको बताए ।


‘विवाहपछि चेलीबेटीहरू बिल्कुल नयाँ घर र परिवेशमा जान्छन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा उनीहरूले भान्सा घर चलाउन एकसरो भाँडाकुँडा र अन्नपात पनि उनीहरूसँग मौज्दात होस्, त्यतिका लागि अरूसँग हात थाप्नु नपरोस् भनेर भान्सा घरमा प्रयोग हुने खाद्यान्न र भाँडाकुँडा आदि दिने चलन चलेको हुनुपर्छ ।’ त्यसैगरी मण्डपमा खरको छानो छाउनुको कारण पनि फुसकै तथा खरकै

छानो भएको घरमा बस्नु परे पनि हासीखुसी आफ्नो जीवन अघि बढाउनु भन्ने सन्देश दिन खोजिएको उनले बताए । यो चलन धनी, मध्यम वर्गीय, गरिब सबै वर्गका थारू समुदायमा अझै पनि कायम रहेको उनले बताए ।


सामाजिक अभियन्ता प्रकाश थारूले जिल्लाको थारू समुदायले अझै पनि प्राचीन विवाह परम्परा धान्दै आएको बताए । थारू समुदाय अझै पनि खेती किसानीसँग जोडिएको र प्रकृतिसँग रमाएकाले परम्परालाई जीवन्त राख्न सफल भएको उनले बताए । ‘मेरै छोरीको विवाहमा पनि छरछिमेकीले चामल, दाल, तेल आदि दिएका थिए, मैले पनि छरछिमेकका चेलीबेटीको विवाहमा यी बस्तु दिएको थिए, यो चलन दाइजो नभई पालोको पैंचो हो,’ उनले भने, ‘भोज भतेर खुवाउन अन्नको कमी भए वा मासु पकाउन खसीको कमी भए पनि छरछिमेकीले विवाह घरमा सहजै पैंचो दिने गरेका छन्, पछि आफूले पनि यसरी नै पैचौ फिर्ता गर्नुपर्छ ।’


यो थारू समाजको बलियो र सकारात्मक पक्ष रहेको उनले बताए । जिल्लाका थारू समुदाय अझै पनि नगद दाइजो र तिलकको विकृतिबाट टाढै रहेको उनले बताए । त्यसकारण थारू समुदायमा छोरी जन्मिदा बोझ नमान्ने र छोरीलाई पनि पढाउने चलन मधेसका अन्य समुदायभन्दा बढी रहेको उनले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?