१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मलेसियामा नेपाली युवा बेपत्ता

कान्तिपुर संवाददाता

जनकपुर — तीन वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका धनुषाको बटेश्वर गाउँपालिका ३ का २५ वर्षीय लालु महतो क्लालाम्पुरबाट बेपत्ता भएका छन् । उनी मलेसियास्थित नेपाली दूतावासबाटै एक साताअघि बेपत्ता भएका हुन् ।

मलेसियाको मलाकास्थित स्प्रिट प्रोफाइल कम्पनीबाट श्रम सम्झौताको म्याद सकिएपछि १ महिनाअघि अवकाश पाएका महतोले एक्कासि मानसिक सन्तुलन गुमाएपछि उनका साथीहरूले क्वालाम्पुरमा रहेको नेपाली दूतावासमा बुझाएका थिए । दूतावासका कर्मचारीले नेपाल फर्काउने प्रक्रिया गरिरहेका बेला फागुन ३ गते (फेब्रुअरी १५) बाट उनी बेपत्ता भएका हुन् ।


श्रम सम्झौताको म्याद सकिएपछि कम्पनीले नेपाल फर्कन हवाई टिकटसमेत उपलब्ध गराएको थियो । तर, एक्कासि मानसिक सन्तुलन गुमाएपछि कम्पनीले दिएको हवाई टिकटसमेत च्यातेर र भाग्ने, उफ्रिने र बोली व्यवहारै विग्रिएपछि उनका साथीहरूले दूतावासमा बुझाएको खबर पाएको धनुषास्थित उनका दाजु अमरजित महतोले बताए ।


मलेसियामा छोरा हराएको र मानसिक सन्तुलनसमेत गुमाएको खवर पाएपछि उनकी ५० वर्षीय आमा महासुन्दरी देवी महतो चिन्तित बनेकी छन् । मिथिलाबिहारी नगरपालिका कार्यालयका लेखापालसमेत रहेका उनका दाजु अमरजितले भाइलाई दूतावासले नेपाल फर्काइदिए उपचार गर्ने बताए । नेपाली दूतावासले हराएको मानिसको खोजी गर्न मलेसिया प्रहरीलाई समेत अनुरोध गरिसकेको त्यहाँस्थित नेपाली दूतावासका कर्मचारी रविन भट्टले जानकारी गराएको अमरजीतले बताए ।


दूतावासले निलो टिसर्ट र जिन्स पाइन्ट लगाएका लालु महतो हराएकाले फेला परेमा नेपाली राजदूतावासको सम्पर्क नं ०३२०२०१८१८, ०३२०२०१८९९ र हटलाइन नम्बर ०१६ २४७२७७७ मा खवर गरिदिनुहुन भन्दै नेपाली भाषामा सूचना जारी गरेको छ । दूतावासले महतो बिरामी रहेकाले विस्तारै हिँडने र बोल्न नचाहने गरेको जनाएको छ ।


३ वर्षअघि मलेसिया पुगेका लालुले गएको ३ महिनापछि १ लाख २५ हजार रुपैयाँ पठाएबाहेक हालसम्म परिवारलाई रकम नपठाएको दाजु अमरजीत बताउँछन् । नेपाल नफर्किएपछि भिसा सकेर गैरकानुनी आप्रवासी भएपछि नेपाली दूतावासले इमिग्रेसनमा डकुमेन्ट क्लियरेन्स गर्न प्रक्रिया गर्दागर्दै महतो भागेपछि समस्या भएको दूतावासका कर्मचारी रविन भट्टले जानकारी गराएको अमरजीतले जनाए ।

प्रकाशित : फाल्गुन ११, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?