कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अधिकार क्षेत्र मिच्दै स्थानीय तह 

पवन यादव

सिमरा — यहाँका स्थानीय तह आफैंले कानुन उल्लंघन गर्ने गरेको पाइएको छ । उपमहानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण गर्नुका साथै नगर क्षेत्रभिक्र सडक अतित्रमण गरी बनाइएको संरचना हटाउन सकेको छैन ।

स्थानीय निकायले जबर्जस्ती अधिकार क्षेत्रबाहिर रहेको पूर्व पश्चिम राजमार्गको सडकमा सवारी साधन पार्किङको ठेक्का लगाएको छ । राजमार्गमा ठेक्का लगाउन पाइँदैन । ठेक्का रद्द गरी राजमार्गलाई व्यवस्थित पार्न सहयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले बारम्बार अनुरोध गर्दा पनि जितपुर सिमरा उपमहानगरपालिकाले अटेरी गरिरहेको छ ।


‘हामीले जति अनुरोध गरे पनि उपमहानगरपालिकाले सुनेको छैन,’ एक ट्रफिक प्रहरीले भने, ‘जबसम्म राजमार्गमा रोकिने सवारी साधनलाई पार्किङ रसिद काट्ने काम रोकिँदैन तबसम्म सवारी आवागमनमा कठिनाइ भइरहन्छ ।’ राजमार्गमा किन गाडी लगाएको भन्दै ट्राफिक प्रहरीले चालकलाई सोध्दा पार्किङ शुल्क तिरेको रसिद देखाउँछन् । शुल्क तिरेर रोकेको सवारीलाई कसरी हटाउने । जबर्जस्ती गरे उल्टै ट्राफिक प्रहरीलाई थर्काउँछन् । विवाद नहोस् भनेर पछि हट्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे ।


स्थानीय तहले अधिकार क्षेत्र बाहिर गएर कानुन उल्लंघन गरेपछि कारवाही गर्ने निकायको ध्यान समेत यहाँ पुगेको देखिँदैन । नियमनकारी निकाय नै नियम उल्लंघन गर्न थाल्यो भने सर्वसाधारण झन्न छाडा हुने जिकिर सरोकारवाला निकायले गरेका छन् ।


बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राजमार्गमा हुँदै गरेको पार्किङ तत्कालै रोक्न जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेललाई सुझाव दिएको बताए ।


‘नियमनकारी निकाय भएर उपमहानगरपालिकाले आफैं कानुनको उल्लंघन गर्न पाइँदैन,’ उनले भने, ‘ठाउँ नै यकिन नगरी राजमार्गमा सवारी रोक्न कसैले ठेक्का लगाउन पाइँदैन ।’ यो कार्यलाई तुरुन्त रोक्न आफूले कार्यकारीलाई समेत भनेको उनले जानकारी दिए । चाँडै नै यो समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।


जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख मेयर कृष्ण पौडेलले समस्या समाधान गर्न आफूले पहल गरिरहेको प्रतिक्रिया दिए । ‘छलफल अघि बढाएका छौं,’ उनले भने, ‘चाँडै नै समस्या समाधान हुन्छ ।’ आफूले प्रक्रिया थालेको उनले बताए । ऐन नियम मिचेर राजमार्गमै सवारी साधन पार्किङ गर्न जग्गा नै नभएको स्थानमा सवारी साधन पार्किङ गर्न उपमहानगरपालिकाले ठेक्का लगाएको हो ।


उपमहानगरपालिकाले लगाएको ठेक्काको रसिद लिएर राजमार्गमा गुड्ने मालवाहक सवारी साधन पथलैयास्थित अतिव्यस्त राजमार्गको कालोपत्रे सडकमै लामो समयसम्म पार्किङ गर्ने गरिएको छ । प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको कार्यालयको अगाडि राजमार्गमै नियम मिचेर जथाभावी सवारी साधन पार्किङ गरिए पनि ट्राफिक प्रहरीले त्यसलाई रोक्न सकेको छैन ।


राजमार्गमा सवारी साधन पार्किङ गर्न नपाइने कानुनी प्रावधान भए पनि ट्राफिक प्रहरी उक्त सवारीलाई हटाउन सकेको छैन । ट्राफिक प्रहरीले राजमार्गमा पार्किङ गरिएको सवारी साधनलाई हटाउन प्रयास गरे पनि उपमहानगरपालिकाले लगाएको ठेक्काका कारण हटाउन नसकिएको प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता ट्राफिक प्रहरी निरीक्षक रिपेन्द्र सिंहले बताए ।

गएको साउन महिनादेखि लागू हुने गरी उपमहानगरपालिकाले प्रतिस्पर्धाका आधारमा पथलैया निवासी अरुणराज कंसाकारलाई

१० लाख रुपैयाँमा पार्किङ ठेक्का दिएको थियो ।


राजमार्गमा २४ घण्टा सवारी साधन पार्किङ गरेबापत ठेकेदारले पार्किङ रसिद दिएर प्रतिसवारीबाट २५ रुपैयाँका दरले पार्किङ शुल्क उठाउँदै आएका छन् । दैनिक एक सयभन्दा बढीको संख्यामा ट्रक, बस, ट्याङकर लगायतका सवारी रामर्गमै पार्किङ गर्ने गरिएको ठेकेदार कंसाकारले जानकारी दिएका छन् ।


‘दिनमा २५ सयदेखि ३ हजार रुपैयाँ पार्किङ शुल्क उठाउछौं,’ उनले भने, ‘पथलैया क्षेत्रको सबै स्थलमा हामीले पार्किङ शुल्क उठाउन पाउँछौं ।’ ठेक्का लिएबापतको रकम उपमहानगरपालिकालाई तिरेपछि पार्किङ शुल्क उठाउन पाउनुपर्ने उनको जिकिर छ ।

‘राजमार्गमा पार्किङ शुल्क असुल्न मिल्दैन मलाई पनि थाहा छ तर पथलैयामा पार्किङस्थल नै छैन,’ उनले भने, ‘ठेक्कामा लगाइसकेको रकम त उठाउनैपर्‍यो नि ?’ पटकपटक उपमहानगरपालिकालाई पार्किङस्थल किटान गरी देखाउन ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।


उनका अनुसार ठेक्का सम्झौतापत्रमा पार्किङस्थल किटान गरिएको छैन । पूरै पथलैया क्षेत्रबाट पार्किङ शुल्क उठाउन भनिएको छ । सवारी साधन पार्किङ गर्न पथलैयामा रामाजर्ग बाहेक एक रती पनि जग्गा खाली छैन । सवारी साधन पार्किङ गर्ने राजमार्ग बाहेकको विकल्प नरहेको उनले जानकारी दिए ।


अतिव्यस्त उक्त राजमार्गमा सवारी दुर्घटना घटाउन ६ लेनको फराकिलो कालोपत्रे सडक निर्माण गरिएको छ । सवारी साधन गुड्नका लागि बनाइएको कालोपत्रे सडकमा अहिले पार्किङ शुल्क उठाउन सवारी राख्ने गरिएको प्रत्यक्षदर्शीले बताए । प्रदेश नं. २ कै प्रमुख औद्योगिक करिडोर पथलैया–वीरगन्ज सडक खण्डको मूल सडकमै जथाभावी मालवाहक सवारी साधन पार्किङ गर्ने गरिएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?