‘सांसदको असहयोग भयो’

कान्तिपुर संवाददाता

धनुषा — राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका २ मन्त्रीले पार्टीका सांसद र राज्यमन्त्रीले सहयोग नगर्दा मन्त्रालय हाँक्न समस्या भएको बताएका छन् । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश यादवले आफ्नो कार्य सीसीटीभी क्यामेरामार्फत नै निगरानी गर्न पार्टीका सांसद र नेतृत्वलाई चुनौती दिएका छन् ।

जनकपुरमा जारी राजपको तीनदिने केन्द्रीय समिति बैठकको दोस्रो दिन शनिबार सांसदहरूले उठाएको प्रश्नको जवाफमा मन्त्री रायले आफू बिरामी भए/नभएको जानकरी राख्न सीसीटीभीबाट निगरानी गर्न सांसदहरूलाई चुनौती दिएका हुन् । ‘म बिरामी भएर मन्त्रालयको काम गर्न नसकेको आरोप निराधार हो,’ बैठकमा उनले भने, ‘विकास निर्माणमा दलका नेता जितेन्द्र सोनलले सहयोग गरेनन् । सचेतक प्रमेश्वर साहले लगाएका आरोप मिथ्या हुन् । म बिरामी छु कि छैन क्यामेरा लगाएर हेर्दा हुन्छ ।’ काम गर्न नसकेको भन्दै शुक्रबारको समीक्षा बैठकमा मन्त्री रायलाई फिर्ता बोलाएर अन्य सांसदलाई जिम्मेवारी तोक्नुपर्ने भन्दै सांसदहरूले नेतृत्वलाई सुझाव दिएका थिए ।


मन्त्री रायको जवाफप्रति अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादव र प्रदेश २ का संसदीय दलका सचेत परमेश्वर साहले सन्तुष्टि जनाएनन् । प्रदेशको रेडबुकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको योजनामा अर्थमन्त्रीले आफ्नो योजना राख्दा काम गर्न समस्या भएको रायले नेतृत्वसमक्ष जानकारी गराएको बैठकमा सहभागी एक सांसदले बताए । समीक्षा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह दलका नेता जितेन्द्र सोनलमाथि खनिएका थिए ।


मन्त्रालयको बजेट चलाउन सोनलले सहयोग नगरेको उल्लेख गर्दै मन्त्री साहले बजेटको फेहरिस्त सुनाएको सहभागी सांसदले बताए । राजपका सांसदहरूले मन्त्री साहले मन्त्रालयको बजेट फ्रिज गराएर बदनाम गराएको भन्दै बैठकमा आलोचना गरेका थिए । मन्त्रीको जवाफपछि सञ्चरकर्मीसँग कुरा गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सांसदहरूले उठाएको प्रश्नको मन्त्रीहरूले जवाफ दिएको बताए । प्रदेश सरकारको समीक्षा, त्रुटि र अन्य गतिविधिबारे जनप्रतिनिधिको अनुभव सुन्ने क्रम जारी रहेको छ,’ उनले भने,‘बैठकमा जनप्रतिनिधिको समीक्षा भएको छ, आलोचना गरेको छैन । बैठकबाट पार्टीले ठोस धारणा बनाउनेछ ।’


केन्द्रीय समितिको आयोजनामा शुक्रबारदेखि सुरु भएको समीक्षा बैठकमा शनिबार स्थानीय तह, प्रदेशका सांसद, मन्त्री, प्रतिनिधिसभाका सांसदहरूसँग अध्यक्ष मण्डलले छलफल गरे । प्रदेशका मन्त्रीहरूले जवाफ भने शनिबार बिहान दिएका थिए ।

बैठकमा जनप्रनिधिको अनुभव, समस्या र चुनौती तथा कामबारे छलफल भएको महोत्तरीको मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले बताए । ‘बैठकमा उठेका जिज्ञासा पार्टीले अध्ययन गरी निराकरणतर्फ लैजान्छ,’ उनले भने, ‘बैठकले स्थानीय तहमा काम गर्ने तरिकामा आमूल परिवर्तन ल्याउँछ ।’


बैठकले स्थानीय तहको मेयर, उपमेयरबीचको मनमुटाव अन्त्य हुने धनुषा जिल्लाको हंसपुर नगरपालिका प्रमुख रामज्ञान मण्डलले बताए । मेयर मण्डलले पार्टीको बैठकबाट विकास निर्माणको काममा जनप्रतिनिधहरूलाई सहज हुने विश्वास व्यक्त गरे । बैठकमा स्थानीय तहका जनप्रतिनिधिहरूले सबैभन्दा बढी कर्मचारी अभाव रहेको बताएका थिए । बैठक आइतबार निर्णय सार्वजनिक गर्दै

समापन हुनेछ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?