कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

कान्तिपुर संवाददाता

रौतहट — यहाँस्थित चन्द्रपुर नगरपालिकामा प्रथम अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको तयारी भएको छ । प्रदेश २ मा पहिलो पटक यति ठूलो प्रतियोगिताको आयोजना हुन लागेको हो । 

फागुन १७ र १८ गते चन्द्रनिगाहपुरस्थित तुलसीलाल स्मृति रंगशालामा हुने प्रतियोगितामा भारत, श्रीलंका, भुटान, बंगलादेश, नेपालका सात वटै प्रदेश र तीन विभागीय टिमको सहभागिता रहनेछ । प्रतियोगिताको तयारी पूरा भएको आयोजक सितोरियो कराँते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले बताए । विभिन्न तौल समूहमा खेलमा प्रतिष्पर्धा गर्ने छन् । ‘प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘अब हामी बिदेशी पाहुना खेलाडीलाई स्वागत गर्न आतुर छौं ।’ चार देशका खेलाडीहरू २४ स्वर्ण, २४ रजत र ४८ कास्य पदकका लागि भिड्ने अध्यक्ष पहाडीले सुनाए ।


प्रतियोगितामा सहभागी खेलाडीको खाना र बासस्थानको व्यवस्था आयोजकले गरिसकेको छ । आयोजक टिम सहित नेपालका ८ टिमको सहभागिता रहनेछ । चन्द्रपुर नगरपालिका मुख्य सहयोगिका रूपमा रहेको छ । टेन्सवर्ग बियर सहप्रायोजक रहेको आयोजकले जनायो । प्रतियोगितामा बिदेशी खेलाडी र निर्णायक गरेर करिव ४ सय जनाको सहभागिता रहनेछ ।


प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट हुने एकएक जनालाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । अध्यक्ष पहाडी लामो समयदेखि प्रशिक्षका रूपमा काम गर्दै आएका छन् । उनले यति ठूलो आयोजना गर्न लागेका हुन् । ‘प्रदेश २ मा पहिलो पटक यति ठूलो प्रतियोगिताको आयोजना हुन लागेको हो,’ उनले भने, ‘स्वयंसेवक प्रशिक्षक भएर पनि आँट गरेको छु ।


यसमा सबैको साथ र सहयोग पाउँछु ।’ त्यसका लागि सरोकारवालासित छलफल र आर्थिक संकलनमा उनी जुटेका थिए । चन्द्रपुर नगरपालिकाले प्रतियोगिताका लागि ठूलो रकम सहयोग गरेको छ । प्रतियोगितामा भारतको करिव १० वटा प्रान्तका खेलाडीको सहभागिता रहनेछ । स्थानीय राजनीतिक दलले यसलाई उत्सवका रूपमा लिएका छन् ।


पहाडीले १७ वर्षदेखि स्थानीय किशोर किशोरीलाई निःशुल्क प्रशिक्षण दिइरहेका छन् । उनले नियमित प्रशिक्षणका अलावा जिल्लाका विभिन्न किसिमका प्रतियोगिताको आयोजना गर्दै आएका छन् ।


चन्द्रपुर नगरपालिका ४ घर भएका ३८ वर्षीय पहाडीले अहिले पनि ८० जना खेलाडीलाई नियमित रूपमा प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राखेपको प्रशिक्षक नभए पनि उनले प्रशिक्षण गराएका खेलाडीले प्रदेश नम्बर २ मा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । उनले २०५५ सालदेखि कराँते खेल्न थालेका हुन् ।


२०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा नियमित रूपमा निःशुल्क प्रशिक्षण दिने गरेका छन् । जिल्लाको खेलकुद विकासमा अधिकांश स्वयंसेवक प्रशिक्षकको हात रहेको छ । राष्ट्रिय खेलकुद परिषदले स्वयंसेवक प्रशिक्षकलाई नियुक्ति दिएमा यस जिल्लामा खेलकुदको विकास हुने पहाडीको भनाइ छ । यहाँ सुरुका दिनदेखि नै राखेपले प्रशिक्षक नियुक्ति गरेको छैन ।


स्वयंसेवककै भरमा यहाँको खेलकुद टिकेको उनले सुनाए । उनी बिहान १ र बेलुका डेढ घण्टा कराँते सिकाउँछन् । प्रदेश नम्बर २ का ७ वटा जिल्लामा सरकारी तलव लिइरहेका राखेपका प्रशिक्षक भए पनि यस जिल्लाले उनीहरूका खेलाडीभन्दा राम्रो प्रदर्शन गर्दै आएको पहाडीको दाबी छ ।


अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २० लाख रकम खर्च हुने पहाडीको अनुमान छ । प्रशिक्षककै भरमा चलेको जिल्लामा यति ठूलो खेलको आयेजना हुन लगकेकोमा सभासद रामकुमार भट्टराईले खुसी व्यक्त गरे । ‘यो समग्र प्रदेशकै गौरवको कुरा हो,’ उनले भने, ‘एउटा स्वयंसेवक प्रशिक्षकले यति ठूलो आयोजना गर्न खोज्छ भने सबैले सहयोग गर्नुपर्छ ।’ प्रतियोगिताका लागि जिल्लामा खेलाडी छनोटको काम सकिएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?