आत्महत्या गर्नेमा महिला बढी

अवधेशकुमार झा

राजविराज — फागुन ७ गते सप्तरीको बोदेबरसाइन नगरपालिका ७ की १७ वर्षीय कृतीकुमारी यादवले बिषादी सेवन गरी आत्महत्या गरिन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा घरायसी कारण भनेको छ । खास कारण खुल्न सकेको छैन । 

फागुन ५ गते छिन्नमस्ता गाउँपालिका २ मोहनपुरकी १५ वर्षीय बन्दना मण्डलले पनि बिषादी सेवन गरी आत्महत्या गरिन् । विषादी सेवनबाट गम्भीर भएकी उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो । उनको आत्महत्याको पनि कारण खुल्न सकेको छैन ।


माघ २९ गते शम्भुनाथ नगरपालिका ६ भंगहामा रहेको एटा उद्योगमा १५ वर्षीय बौवा पालले आत्महत्या गरिन् । सलको पासो लगाएर उनले झुन्डिएर आत्महत्या गरिन् । पालले किन आत्महत्या गरिन् भन्ने विषय पनि अनुसन्धानको गर्भमै छ । यी एक हप्तामा भएका घटनाहरू हुन् ।


जिल्ला प्रहरी कार्यालयमा सप्तरीमा आत्महत्या गर्नेको सूची निकै लामो छ । त्यसमा पनि पुरुषको तुलनामा महिला र युवतीको संख्या धेरै छ । पारिवारिक कलह, प्रेममा धोखा, बेरोजगारी र मानसिक तनाव लगायत विभिन्न कारणले आत्महत्या गर्नेको संख्या वर्षेनी बढदै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र बिष्टले बताए ।


आत्महत्याका पछाडि पारिवारिक र प्रेम मुख्य करणका रूपमा देखिए पनि बैदेशिक रोजगारी, आर्थिक विपन्नता, बेरोजगारी, असफलता, तनाव, बूढाबूढीलाई स्याहारको अभाव लगायतका कारणहरू पनि देखिएको प्रहरीको भनाइ छ । सामाजिक, आर्थिक, पारिवारिक र मानसिक हिसावले सम्पन्न नहुँदा आत्महत्याका घटनाहरू बढने गरेको छ । आफनो अवस्थाप्रति नैरास्यता बढेर आत्महत्या गर्ने निर्णयमा पुग्नेहरूको संख्या पनि अत्यधिक रहेको एसपी बिष्टले बताए ।


जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्ममा सप्तरीमा बिष सेवन गरेर चार पुरुष र ८ महिला गरी १२ जना, झुन्डिएर ११ पुरुष र १३ महिला गरी २४ जना तथा आगो लगाई र पानीमा हामफालेर एक एक महिला गरी कुल ३८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये २३ जना महिला छन् । प्रहरीको तथ्यांकअनुसार उमेर समूहका हिसाबले हेर्ने हो भने १० देखि २० वर्ष उमेर समूहका किशोर, किशोरी र युवायुवतीको संख्या आत्महत्या गर्नेको सूचीमा अत्यधिक छ ।


अघिल्ला वर्षहरूमा पनि आत्महत्या गर्नेहरूको सूची कम छैन । प्रहरीका अनुसार आर्थिक वर्ष ०७४/७५ मा सप्तरी जिल्लामा ३६ पुरुष र ४९ महिला गरी कुल ८५ जनाले आत्महत्या गरेका छन् । जसमध्ये १५ वर्षदेखि ३० वर्ष उमेर समूहका महिला र पुरुषको संख्या अत्यधिक छ ।


यस्तै आर्थिक वर्ष ०७३/७४ मा २६ पुरुष र ३३ महिला गरी ५९ जनाले आत्महत्या गरेका छन् । उक्त आर्थिक वर्षमा पनि १५ देखि ३० वर्ष उमेर समूहका महिलाको आत्महत्या गर्ने संख्या अत्यधिक छ ।


आत्महत्याको संख्या बढदै जानु सामाजिक परिवेशका लागि चिन्ताको विषय रहेको सरोकारवालाहरू बताउँछन् । जिल्ला प्रहरी पमुख एसपी राजेन्द्र बिष्टले युवा तथा किशोर अवस्थामा खासगरी अभिभावकले सुधार्नका लागि आफना छोराछोरीलाईचर्को स्वरमा भन्ने बित्तिकै पचाउन नसकेर आत्महत्या गर्न खोज्नेहरूको संख्या पनि बढिरहेको बताए ।


‘आफना आमाबुवा दाजु भाइले चर्को स्वरमा केही विषयलाई निरनतर भनिरहे त्यसलाई पचाउन नसकेर विष सेवन गर्ने लगायतका आत्महत्याका बाटो रोज्नेहरू पनि छन्,’ एसपी बिष्टले भने, ‘प्रेम सम्बन्धमा सफल हुन नसक्नु, एकतर्फी प्रेम गर्नु, कुनै विषयमा आफू असफल भएको अनुभूति गर्नु लगायतका कारण पनि आत्महत्याको बाटो रोज्ने गरिएको पाइएको छ ।’ आत्महत्या गर्नेको सूची बढदै जानु र त्यसमा महिलाको संख्या अत्यधिक हुनु चिन्ताजनक विषय भएको महिला अधिकारकर्मीहरूको भनाइ छ ।


एकल महिला समूह प्रदेश नम्बर २ की अध्यक्ष समेत रहेकी महिला मानव अधिकार रक्षक संजाल सप्तरीकी अध्यक्ष अनिता देवकोटाको भनाइमा घरभित्रै महिलामाथि हुने विभिन्न खाले हिंसाका कारण महिलाहरू आत्महत्याको बाटो रोज्न बाध्य हुने गरेकी छन् । ‘युवावस्थामा प्रेम सम्बन्ध त एउटा कारण छदैछ तर घरभित्रै महिलामाथि हुने विभिन्न खाले घरेलु र अन्य हिंसाका कारण महिला आत्महत्याको बाटोमा जान्छिन्,’ देवकोटाले भनिन् ।


अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी अध्यक्ष समेत रहेकी महिला मानव अधिकार रक्षक सञ्जालकी उपाध्यक्ष सुनिता साहले बढदो प्रविधिको दुरुपयोग पनि आत्महत्याको कारण रहेको बताए ।


खासगरी किशोरावस्था र युवावस्थामा अभिभावकले आफना बालबालिकामा समय दिन नसक्नु, हातहातमा मोबाइल लगायतका प्रविधिको पहुँच हुनु तर त्यसको सदुपयोगभन्दा दुरुपयोग बढी हुनु, घरभित्रै महिलामाथि विभिन्न खाले हिंसा हुनु, घरका पुरुषहरू नशालु पदार्थ सेवन गरी महिलामाथि हिंसा गर्नु लगायतका कारणले आत्महत्या गर्नेको सूचीमा महिलाको संख्या बढदै गएको साहले बताइन् ।


हुँदैन अनुसन्धान

आत्महत्याका घटना बढदै गए पनि यसको कारण खोजी गरि न्यूनीकरण गर्नेतर्फ कतैबाट पहल भएको देखिँदैन । प्रहरीले पनि अन्य घटना जस्तो गम्भीरतापूर्वक अनुसन्धान गर्दैनन् । महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनिता देवकोटाले आत्महत्या हुने बित्तिकै प्रहरीले अनुसन्धानको फाइल बन्द गर्ने गरेका कारण मूल जरोसम्म पुग्न नसकिरहेको बताए ।


‘आत्महत्या गर्छन्, प्रहरीले फाइल त बनाउँछ तर प्रभावकारी अनुसन्धान हुँदैन,’ उनले भने, ‘घटना भएको भोलिपल्टैबाट औपचारिकता दिनु बाहेक उक्त च्याप्टर नै क्लोज हुन्छ ।’


प्रहरीले भने प्रतिवादी नहुने भएका कारण मुद्दा चलाउन सकिने अवस्था नरहने भएकाले आत्महत्याका घटनामा कतैबाट अन्य कुनै कारणको सूचना नआएसम्म अनुसन्धान अगाडि नबढने गरेको बताउँछन् । कसैले कर्तव्य गरेर मारेको सूचना नआए सम्म आत्महत्याका घटनासम्बन्धी अनुसन्धान सेलाएकै अवस्थामा हुन्छ ।


आत्महत्या हुने बित्तिकै जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा फायल त खडा हुन्छ तर त्यो औपचारिकताका लागि मात्र । कहिल्यै नखुल्ने गरी सुरुमै बन्द गरिन्छ ती फायलहरू । कसैले आत्महत्या गर्दा कारण केलाएर ती अवस्थामा पुर्‍याउन कसको दोष भनेर प्रहरी खोज्दैनन् ।


प्रहरी कार्यालयहरूले फायल खडा गर्छन्, म्याद कटाएर जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याउने गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी नरहेका कारण मुद्दा चल्ने स्थिति नरहेको राय सहित पुनरावेदन सरकारी वकिल कार्यालयमा फाइल पठाएर फायल बन्द गरिन्छ ।


‘आत्महत्या गरेर मर्नेहरू त मरेर जान्छन् तर आत्महत्या गर्ने प्रयास गरेकाहरूको स्वास्थ्यमा सुधार हुने बित्तिकै जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा ल्याएर जीवनको महत्त्वबारे हामीले बुझाउने काम गरिरहेका छौं,’ जिल्ला प्रहरी प्रमुख बिष्टले भने ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?