१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

आफ्नै मन्त्रीप्रति राजपा सांसद असन्तुष्ट

अजित तिवारी

जनकपुर — राष्ट्रिय जनता पार्टीभित्र प्रदेश २ सरकारका मन्त्रीलाई लिएर असन्तुष्टि चुलिएको छ । प्रदेशका बहुमत सांसदले मन्त्रीहरू परिवर्तन गर्न अध्यक्षमण्डलसँग माग गरेका छन् । पार्टीका मन्त्रीहरू अनियमिततामा मुछिएको, मन्त्री–राज्यमन्त्रीबीच दूरी बढेको र सत्ता गठबन्धन दलबीच समन्वय नगरी काम गर्ने गरेको आरोप उनीहरूले लगाएका छन् ।

आफ्नै मन्त्रीप्रति राजपा सांसद असन्तुष्ट

अध्यक्षमण्डलले पार्टीका संघीय सांसद, प्रदेश २ का मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग जनकपुरमा गरेको छलफलमा सांसदले मन्त्रीका कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । शुक्रबारदेखि सुरु छलफलमा तीनै तहका जनप्रतिनिधिले आफ्ना कामबारे अध्यक्षमण्डललाई ब्रिफिङ गरेका थिए । छलफल आइतबार अबेर साँझ सकिएको छ ।


महासचिव एवं प्रदेश सांसद मनीष सुमनले प्रदेश मन्त्रीको ‘क्लास’ लिइएको बताए । ‘प्रदेशका मन्त्रीले बजेट आफूखुसी छरेका छन्, कानुन निर्माण सुस्त छ, मन्त्रालय सञ्चालन प्रभावकारी छैन,’ उनले कान्तिपुरसँग भने, ‘यही मामिलामा मन्त्रीहरूको क्लास लिइएको छ । प्रायः सांसदले मन्त्रीका काम गराइप्रति असन्तुष्टि पोखे ।’ उनले कामै गर्न नसक्ने मन्त्रीलाई फेर्न सांसदहरूले आग्रह गरेको बताए ।


प्रदेश २ मा राजपाका ११ जना संघीय सांसद, २५ जना प्रदेश सांसद, प्रदेश २ सरकारमा ३ जना मन्त्री र ३ जना राज्यमन्त्री तथा २५ वटा स्थानीय तहमा प्रमुख–उपप्रमुख छन् । अध्यक्षमण्डलले आफ्ना यी सबै जनप्रतिनिधिसँग बेग्लाबेग्लै बिफ्रिङ लिएका थिए । केन्द्रीय प्रवक्ता कृष्णा सिंहले आन्तरिक समस्या बुझ्न छलफल गरिएकाले किचलोकै विषयले बढी प्राथमिकता पाएको बताए ।


‘राज्यमन्त्रीले मन्त्रीले नटेरेको गुनासो गरे, प्रदेश सांसदले पनि मन्त्रीको काम चित्तबुझ्दो नभएको आरोप लगाए,’ प्रवक्ता सिंहले भने, ‘मेयरले अधिकार दिएनन् भन्ने उपमेयरहरूको गुनासो छ । उपमेयरका पतिले काममा अवरोध पुर्‍याउने गरेको बाध्यता मेयरले सुनाए ।’


प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकार छ । ६ मन्त्रालयमध्ये ३ वटा पाएको राजपाका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साह सरकारमा छन् । राजपाको भागमा परेको तीनवटै मन्त्रालयमा राज्यमन्त्री छन् ।


‘अध्यक्षमण्डलका नेताले सबैको असन्तुष्टि टिपोट गर्नुभएको छ ।’ अध्यक्षमण्डलकै सामुन्ने प्रदेश सांसदले मन्त्रीहरू उपभोक्ता समितिमार्फत अनियमिततामा मुछिएको, बजेट आफ्नै जिल्लामा बढी खन्याएको, मन्त्रालय हाँक्न नसकेको र आसेपासेको घेराबन्दीबाट फुत्किन नमानेको आरोप लगाएका थिए । ‘राजपाले जिम्मा लिएको मन्त्रालयको बजेट समावेशी–समानुपातिक वितरण गरिएको छैन,’ प्रदेश सांसद उपेन्द्र महतोले कान्तिपुरसँग भने, ‘मन्त्रीले आफ्ना गृहजिल्लामा बजेट खन्याएका छन् । अरू जिल्लामा कनिका मात्र छरेका छन् ।’


तीनै जना मन्त्रीले भने आफ्नो बचाउ गरेका थिए । कर्मचारी अभाव रहेको, पार्टी पंक्तिबाटै असहयोग भएको र गरेका कामको जस नदिई आफूहरूलाई बदनाम गराउन खोजेको उनीहरूले गुनासो गरे । बजेट वितरणमा त्रुटि भएको स्विकार्दै उनीहरूले सच्याउने प्रतिबद्धतासमेत जनाएका थिए । प्रवक्ता सिंहले बिफ्रिङपछि प्रदेश सरकारका मन्त्रीका विषयमा छलफल गर्न अध्यक्षमण्डलको बैठक केही दिनमै बस्ने बताए । ‘मन्त्रीलाई निरन्तरता दिने कि फेर्ने अर्को बैठकमा छलफल हुनेछ,’ उनले भने ।


प्रकाशित : फाल्गुन १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?