मधेसमा ज्यानमारा बन्दै दाइजो

समाजले दाइजोलाई अनिवार्य बनाउँदा मधेसमा धेरै घरपरिवार उजाडिएका छन् । नवविवाहितामा कुटपिट, यातना र ज्यानै लिने/फाल्ने घटना बढेका छन् ।
अजित तिवारी, शंकर आचार्य

जनकपुर र पर्सा — बुहारी आरती घर भित्रिँदा सासू बेचनी चौधरीको खुसी थामिनसक्नु थियो । छोरीझैं माया पाउँदा आरती पनि दंग थिइन् । विवाहका सुरुवाती दिनहरू राम्रै बित्दै थिए । केही समयपछि आरतीले सासूको व्यवहारमा फरकपन महसुस गरिन् । श्रीमान् इन्द्रजित चौधरी पनि बिनाकारण ठुस्स पर्न थाले । त्यति नबोल्ने र हेला गर्ने क्रम बढ्यो । 

त्यतिसम्म आरतीले सहेकै थिइन् । श्रीमान्, सासू र ससुरा तीनैतिरबाट तिरस्कार भोग्दा पनि आरतीले हिम्मत हारिनन् । छोरी झैं माया गर्ने सासू एकाएक किन बदलिइन् ? उनले बुझ्न खोजिन् । कारण, दाइजो रहेछ । आरतीलाई आफ्ना बुबा–आमाको हैसियत थाहा थियो । त्यसैले उनले यो मामिला बुबा–आमालाई सुनाएर तनाव थप्न चाहिनन् । बरु, सबै आफैं झेलिन् ।


दाइजोकै निहुँमा श्रीमान्, सासू–ससुरा कुटपिटमा उत्रिएपछि आरतीको धैर्य टुट्यो । उजुरी बोकेर जिल्ला प्रहरी कार्यालय, धनुषामा पुगिन् । जनकपुर–१४ बस्ने श्रीमान् इन्द्रजित, सासू बेचनी र ससुरा बिक्रु चौधरीले दाइजो नल्याएको भन्दै कुटपिट गरेको उजुरी उनले मंसिर २१ गते दर्ता गराइन् ।


प्रहरीको महिला सेलमा पुगेको उजुरीमा पुस १ गते छलफल डाकियो । आरती, उनका श्रीमान् र सासू–ससुरासहित टोलका ‘भद्रभलादमी’ छलफलमा उपस्थित भए । आरतीलाई मिल्ने दबाब दिइयो । उनले आफूसित भएको व्यवहार झलझली सम्झिइन् । मिल्ने दबाबले आरतीको मन दुख्यो । श्रीमान् दानव झैं झम्टेको सम्झिँदा आँखा रसाए । अदालत पुगेको त्यो मुद्दा प्रक्रियामा छ ।


असोज २२ गते धनुषा, विदेह नगरपालिका–७ की मानसी मण्डलले दाइजोकै कारण कुटपिट भएको प्रहरीमा उजुरी गरिन् । श्रीमान् सञ्जय साह, र ससुरा सुरज साह मिलेर कुटपिट गरेको भन्दै मानसी प्रहरीमा पुगेकी थिइन् । ‘दाइजो थोरै भयो । अझ लिएर आऊ,’ मानसीले उजुरीमा लेखिन्, ‘त्यही निहुँमा मलाई पटकपटक कुटपिट गरियो । न्याय पाऊँ ।’ जिल्ला प्रहरी कार्यालयको महिला सेलमा छलफलपछि आइन्दा कुटपिट नगर्ने सहमतिमा त्यो मामला सल्टाइयो ।


आफ्नो कुल–खानदानभन्दा उच्च परिवारमा छोरीको विवाह गर्ने र ल्याकत नपुगे पनि कूत नगद माग्ने/बुझाउने चलनले मधेसमा दाइजो ज्यानमारा बन्दै छ । समाजले नै दाइजोलाई अनिवार्य बनाउँदा मधेसमा धेरैको घरपरिवार उजाडिएका छन् । नवविवाहितामा कुटपिट, यातना र ज्यानै लिने/फाल्नेसम्मको घटना बढेका छन् ।


जिल्ला प्रहरी कार्यालय, धनुषाको महिला सेलमा साउनयता दाइजोका कारण कुटपिटको उजुरी बोकेर जाने हिम्मत जनकपुरकी आरती र बिदेहकी मानसीले मात्र देखाएका छन् । साउनयता प्रहरीको महिला सेलमा ६ सय ९३ उजुरी परेका छन । जसमा दाइजोसँग जोडिएका उजुरी दुईवटा मात्र हुन् । ‘दाइजोकै कारण बदमासी भएको उजुरी कम आउँछ,’ महिला सेलकी एक प्रहरीले भनिन्, ‘कुटपिट, खानलाउन नदिएको, यातना र गालीगलौजका धेरैजसो उजुरी छानबिन गर्दा दाइजो पनि कारण देखिन्छ ।’


जिल्ला प्रहरी कार्यालय, धनुषाको मुद्दा फाँटमा दाइजोकै कारण घटना भएको एउटा पनि मुद्दा छैन । ‘दाइजो नै किटान गरेर मुद्दा आउँदैन,’ मुद्दा फाँटका इन्स्पेक्टर उमाशंकर साहले भने, ‘मुख्य कारण दाइजो भए पनि मुद्दा फरक प्रकृतिको आउँछ ।’ उनका अनुसार महिला हत्या र आत्महत्यामा दाइजो कारण रहे पनि त्यसलाई लुकाइन्छ ।


पुस ३० गते जनकपुर–४ सरन्चियाकुटी बस्ने २५ वर्षीया सीमा शर्माले आफू र २ वर्षकी छोरी गौरीलाई विष पिलाएर ज्यान फालिन् । घटनालगत्तै श्रीमान् समीर मिश्रा फरार भए । माइती पक्षबाट किटानी जाहेरी परेपछि प्रहरीले ससुरा श्यामसुन्दर र सासू किरणदेवीलाई पक्राउ गर्‍यो । दाइजोका कारण छोरीलाई तनाव दिएको र विष खुवाएर मारेको माइतीपक्षले आरोप लगाए । महोत्तरी, लोहरपट्टी–७ का सीमाका दाजु सुजित शर्माले माघ ३ गते कर्तव्य ज्यान कसूरमा धनुषा प्रहरीमा किटानी जाहेरी दर्ता गराए ।


जनकपुरका समीर र सीमाबीच २०७० वैशाख २९ गते मागीविवाह भयो । शर्माका अनुसार दाइजोमा ८ लाख रुपैयाँ नगद, २ लाख ३६ हजार रुपैयाँको पल्सर मोटरसाइकल र २ तोला सुनको औंठी दिइयो । ‘विवाहपछि पनि बहिनीलाई दाइजो माग्दै यातना दिइयो,’ शर्माले भने, ‘पछि २ तोला सुनको औंठी र आधा केजी चाँदी पनि दियौं ।’ जति माग्दा पनि दिँदोरहेछ भन्ने बुझेछन् । फेरि डिमान्ड आयो, १ लाख रुपैयाँ र एउटा वासिङ मेसिन । घटनालगत्तै पत्रकार सम्मेलन गर्दै शर्माले भनेका थिए, ‘१ लाख र वासिङ मेसिन नदिँदा बहिनी–भान्जीको ज्यान गयो ।’


सीमाका देवर शशि मिश्रले दाइजो मागिएको अस्वीकार गरे । र, सीमाले आफैंले विष सेवन गरेर आत्महत्या गरेको दाबी गरे । जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि सासू–ससुरालाई जेल पठाएको छ । श्रीमान्को प्रहरीले खोजी गरिरहेको छ । माघ २७ गते आइतबार महोत्तरी मनरासिसवा–८ सहसराममा २१ वर्षीया धनमन्ती महतोको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् मनोज महतो र जेठानी अनितादेवीलाई नियन्त्रणमा लियो ।


हत्यापछि हतारमा शव जलाउनै लाग्दा पुगेको प्रहरीले शवसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । धनमन्तीको घाँटी र पाखुरामा नीलडाम थियो । माइतीपक्षले हत्याको आरोप लगाए । प्रहरीले शवको पोस्टमार्टम गरायो । श्रीमान् र जेठानीमाथि कानुनी कारबाही अघि बढयो ।


धनुषा, बटेश्वर–२ का धनमन्तीका बुबा बद्री महतोले दाइजोकै कारण छोरीको हत्या भएको दाबी गरे । ‘छोरीलाई यातना र धाकधम्की दिइरहेको सुइँको पाएका थिए,’ बद्रीले भने, ‘दानवहरूले ज्यानै लिएछन् ।’ २०७४ वैशाख ३ गते धनमन्तीको मनोजसँग विवाह भएको थियो । उनीहरूका २ महिने छोरा छन् । माइतीपक्षले विवाहमा मोटरसाइकल, दुई लाख नगद, दुई तोला सुन, फर्निचरलगायतका सामान दाइजोमा दिएका थिए ।


समाजमा दाइजोका कारण हुने घटना बढी सुनिए पनि कानुनी उपचार खोज्ने न्यून रहेको सरकारी वकिल कार्यालय, धनुषाका न्यायाधिवक्ता शम्भु गौतमले बताए । ‘दाइजो लेनदेनलाई कानुनले बन्देज गरे पनि लिए/दिएको मुद्दा आए कुन सजाय गर्ने त्यो प्रावधान नै छैन,’ गौतमले भने, ‘हिंसा, हत्या, आत्महत्या, कुटपिट र यातनाका धेरैजसो घटना दाइजोसँग जोडिएका हुन्छन् ।’


दाइजोपीडितका ३ दर्जन उजुरी

पर्सा– जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा सखुवा प्रसौनी गाउँपालिका ५ खजुरियाका की ३२ वर्षीया उम्रावती कुमारीले फागुन ५ गते आफ्नै पति र परिवारका सदस्यहरूविरुद्ध उजुरी दिइन् ।


पति किशोर सहनीसमेत परिवारका सदस्यहरूले पटकपटक कुटपिट र दुर्व्यहार गरेको भन्दै उनीहरूलाई कारबाही तथा पतिलाई पक्राउ समेत गर्न उनले माग गरेकी छन् । सासूससुराले आफूले विवाहमा दाइजोका रूपमा मोटरसाइकल नल्याएकाले दैनिक दुर्व्यवहार गरिरहेको उनले आरोप लगाएकी छन् । ‘हाम्रो समाजमा मोटरसाइकल दाइजो ल्याउनैपर्छ नत्र हाम्रो बेइज्जती हुन्छ,’ भनी दैनिकजसो मोटरसाइकल मागेर ल्याउन दबाब दिएको उनले उजुरीमा भनेकी छन् ।


पतिलाई सासूससुराले मोटरसाइकल मागेर यातना दिइरहेको जानकारी गराउँदा उल्टै पतिले पुस ६ गते आफूलाई कुटपिट गरी अर्की केटीसँग विवाह गर्ने भन्दै घर छोडेर भागेकाले फरार पतिलाई पक्राउ गरी आफूसँग बस्ने वातावरण बनाइदिन पनि उनले माग गरेकी छन् । सोमबार मात्रै पनि यस्तै दाइजोपीडित एक महिलाको उजुरी केन्द्रमा परेको छ ।


वीरगन्ज महानगर ३० प्रसोतीपुर घर भई हाल सखुवाप्रसौनी गाउँपालिका ५ महुवनस्थित माइतीमा बस्दै आएकी पूजा राउतले पति सुरेशसमेत परिवारका सदस्यहरूविरुद्ध उजुरी दिएकी हुन् । २०७३ असार २३ मा आफ्नो विवाह भएपछि हालसम्म परिवारका सदस्यले मागे जति दाइजो नल्याएको भन्दै आफूलाई कुटपिट गर्ने गरेको उनले दाबी गरेकी छन् ।


पतिले हालसम्म विवाह दर्ता प्रमाणपत्र र नागरिकतासमेत नबनाइदिएको भन्दै उनले पतिले माघ ५ गते आफूलाई माइतीमा ल्याएर छोडेर गएपछि लिन भनी फर्केर नआएको दाबी गरेकी छन् । उनले आफूलाई मासिक खर्चबापत १५ हजार ५ सय ५५ रुपैयाँ घरबाट उपलब्ध गराइदिन माग समेत गरेकी छन् ।


केन्द्रमा चालु आवमा हालसम्म दाइजोपीडित महिलाहरूकै मात्र करिब ३ दर्जन उजुरी परिसकेका छन् । केन्द्रका प्रमुख सइ विनोदकुमार मल्लिक दाइजोसम्बन्धी उजुरी सातामा एक वा दुईवटा सम्म आउने गरेको बताउँछन् । ‘हामीले यस्तो केसमा दुवै पक्षलाई बोलाई सम्झाईबुझाई भविष्यमा यस्तो समस्या नआओस् भनी मिलाएर पठाउने प्रयास गर्ने गरेका छौं,’ उनले भने, ‘उजुरी गर्न नआउने पीडितहरू धेरै हुन सक्छन् ।’


तराईमा दाइजो प्रथाले जरा गाडेकाले दाइजोको माग राख्दै बुहारी/पत्नीलाई कुटपिट गर्ने, घरबाट निकाला गर्ने, ज्यानैसम्म लिने घटनाहरू हुने गरेका छन् । आइतबार जिल्लाकै सेढवा गाउँपालिका वडा नं २ की १७ वर्षीया किशोरी लालसा कुमारीले झुन्डिएर आत्महत्या गरिन् । आर्थिक अवस्था कमजोर रहेका अभिभावकले केटा पक्षले मागेजति दाइजो दिन नसक्ने अवस्था देखेपछि उनले आत्महत्याको बाटो रोजेको घटना क्रमले देखिन्छ ।


दाइजो विरोधी अभियान विभिन्न संघसंस्थाले चलाइरहे पनि यो कुरीति तराईमा जडको रूपमा स्थापित भएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?