कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाइजोमा मोटरसाइकलले महिला पीडित

शंकर आचार्य

पर्सा — संखुवाप्रसौनी गाउँपालिका ५ खजुरियाका की ३२ वर्षीया उम्रावती कुमारी २ सातादेखि बहुदरमाई नगरपालिका ८ रामनगरीस्थित माइतीमा आश्रित छिन् । २०६० जेठ १ मा किशोर सहनीसँग विवाह गर्दा उनका अभिभावकले ज्वाइँलाई २ लाख नगद तिलक र जिन्सीमा अन्य सामान दिएका थिए ।

दाइजोमा मोटरसाइकलले महिला पीडित

एक मात्र सन्तान छोरीको विवाह गर्न बुवा बिन्देश्वरी र आमा मोतिसरीले ७ लाख रुपैयाँ कर्जा टाउकोमा बोके ।


उम्रावतीका पति किशोर औराहाकी मोना थारू नाम गरेकी युवतीलाई लिएर २ महिनादेखि घरबाटै बेपत्ता छन् । छोरा अर्की लिएर हिँडेपछि उम्रावतीका सासू ससुराले उनलाई यातना दिएर घरमा बस्न दिएनन् । अन्ततः उम्रावतीले माइतीमा छन् ।


आजित भएर न्यायका लागि उम्रावतीले पति किशोर र परिवारका अन्य सदस्यहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा फागुन ५ गते उजुरी दिइन् । विवाहकै समयदेखि दाइजोमा मोटरसाइकल नपाएको भन्दै पति किशोर सहनी समेत परिवारका सदस्यहरूले आफूलाई पटकपटक कुटपिट र दुर्व्यवहार गरेको भन्दै उनीहरूलाई कारवाही तथा पतिलाई पक्राउ समेत गर्न उनले माग गरेकी छन् । ‘हाम्रो समाजमा मोटरसाइकल दाइजो ल्याउनै पर्छ नत्र हाम्रो बेइज्जती हुन्छ भन्दै घरमा पटकपटक मलाई मोटरसाइकल मागेर ल्याउ भन्थे,’ उम्रावती भन्छिन्, ‘मेरा अभिभावकले १५ वर्षअघि विवाह गर्दा लागेको ७ लाख ऋण कर्जा अझै चुक्ता गर्न पाएका छैनन् भने थप २ लाख हालेर कहाँबाट मोटरसाइकल ल्याउँछन् ।’


पति किशोरले पुस ६ गते आफूलाई कुटपिट गरी अर्की केटीसँग विवाह गर्ने भन्दै घर छोडेर भागेकाले फरार पतिलाई पक्राउ गरी आफूसँग बस्ने वातावरण बनाइदिन पनि उम्रावतीले माग गरेकी छन् । उनका बुवा बिन्देश्वरीले आफ्नो एक मात्र सन्तान उम्रावती नै रहेकाले र आफूहरूको शेषपछि उनैले आफूहरूको ३ कठ्ठा जग्गा र ७ धुर घडेरी भएको घरसमेत पाउने भएकाले आफूले थप दाइजो दिन नसक्ने बताए ।


‘हाम्रो शेषपछि छोरी ज्वाइले नै हाम्रो श्रीसम्पत्ति खाने हुन्,’ उनले भने, ‘म गरिबले अब कहाँबाट पैसा ल्याएर ज्वाइँलाई मोटरसाइकल दिन सक्छु ।’ उम्रावतीकी आमा मोतिसरीले छोरीको घरजम नटुटोस् भनी आफूहरू ज्वाइँलाई मोटरसाइकल दिन पनि तयार रहेको बताइन् । ‘एउटै सन्तान त्यसमाथि छोरी यसको घर बिग्रेको म बुढीले कहाँ देख्न सक्छु,’ उनले भनिन्, ‘मेरी छोरीलाई ज्वाइँले घरमा राखून्, माया गरून्, बरु खेत नै बेचेर भए पनि मोटरसाइकल दिउँला ।’


सोमबार मात्रै पनि यस्तै दाइजो पीडित एक महिलाको उजुरी केन्द्रमा परेको छ । वीरगन्ज महानगर ३० प्रसोतीपुर घर भई हाल सखुवाप्रसौनी गाउँपालिका ५ महुवनस्थित माइतीमा बस्दै आएकी पूजा राउतले पति सुरेशसमेत परिवारका सदस्यहरूविरुद्ध उजुरी दिएकी हुन् ।


२०७३ असार २३ मा आफ्नो विवाह भएपछि हालसम्म परिवारका सदस्यले मागे जति दाइजो नल्याएको भन्दै आफूलाई कुटपिट गर्ने गरेको उनले दाबी गरेकी छन् । पतिले हालसम्म विवाह दर्ता प्रमाणपत्र र नागरिकतासमेत नबनाइदिएको भन्दै उनले पतिले माघ ५ गते आफूलाई माइतीमा ल्याएर छोडेर गएपछि लिन भनी फर्केर नआएको दाबी गरेकी छन् । उनले आफूलाई मासिक खर्चबापत् १५ हजार ५ सय ५५ रुपैयाँ घरबाट उपलब्ध गराइदिन मागसमेत गरेकी छन् । केन्द्रमा यी दुई उजुरी मात्र परेका छैनन् । चालू आवमा हालसम्म दाइजो पीडित महिलाहरूकै मात्र करिब ३ दर्जन उजुरी परिसकेको छ ।


विगतमा मधेसको विवाहमा छोरी अन्माउँदा ज्वाइँलाई साइकल, घडी र रेडियो अनि केही नगद दाइजोमा अनिवार्य मानिन्थ्यो । अहिले जमाना परिवर्तन भएको छ । सामाजिक अभियन्ता प्रकाश थारू भन्छन्, ‘पहिले साइकल, घडी, रेडियो र केही नगदमा चित्त बुझाउने ज्वाइँहरू अचेल मोटरसाइकल, एलईडी टीभी, ल्यापटप र लाखौं नगद दाइजो नलिई विवाह नै नगर्ने भइसकेका छन् ।’


‘ज्वाइँ मोटरसाइकल’ को रूपमा पछिल्लो समय मौलाएको दाइजोको विकृतिले कतिपय चेलीबेटीले घरजम गर्न नसकेको अर्का अभियन्ता वृजेश्वर चौधरी बताउँछन् । ‘दाइजो पछिल्लो समय प्रतिष्ठाको विषय बन्दै गएको छ,’ उनले भने, ‘कसले कति दाइजो पाए र ज्वाइँले मोटरसाइकल पाएकी पाएनन् भन्ने अस्वस्थ प्रतिस्पर्धा नै चलेको छ, यस्तो अवस्थामा दाइजो प्रथा कसरी निरुत्साहित हुन्छ ।’


उनले गाउँघरमा मात्र नभई सहरबजारमै पनि दाइजो प्रथाको विकृत रूप देख्न पाइने गरेको बताए । शिक्षित छोरीबेटीको विवाह गर्न झन् बढी दाइजो लाग्ने भएकाले कतिपय अभिभावक आफ्ना छोरीलाई उच्च शिक्षा दिलाउन पनि हच्किने गरेको अवस्था रहेको उनले बताए । दाइजो लेनदेन गर्नेलाई कडा कानुनी कारबाही नगरेसम्म उनीहरू हतोत्साही नहुने उनको बुझाइ छ ।


प्रहरी उपरीक्षक रेवती ढकाल दाइजोसम्बन्धी उजुरी परेपछि त्यस्ता केसमा आवश्यक सक्रियता अपाउने गरिएको बताउँछन् । ‘दाइजोसम्बन्धी उजुरीमा हामीले बढी संवेदनशील भएर कारबाही अघि बढाउने गरेका छौं,’ उनले भने, ‘तर उजुरी परेका बाहेकका विवाहमा दाइजो लेनदेन गर्ने पक्ष नै मौन रहने गरेकाले यो प्रथाको जड समाप्त गर्न समस्या छ ।’


तराईमा दाइजो प्रथाले जरा गाडेकाले दाइजोकोमा माग राख्दै बुहारी/पत्नीलाई कुटपिट गर्ने, घरबाट निकाला गर्ने, ज्यानैसम्म लिने घटनाहरू हुने गरेका छन् । आइतबार जिल्लाकै सेढवा गाउँपालिका वडा नं २ की १७ वर्षीया किशोरी लालसा कुमारीले झुन्डिएर आत्महत्या गरिन् ।


आर्थिक अवस्था कमजोर रहेका अभिभावले केटा पक्षले मागे जत्ति दाइजो दिन नसक्ने अवस्था देखेपछि उनले आत्महत्याको बाटो रोजेको घटना क्रमले देखिन्छ । दाइजोविरोधी अभियान विभिन्न संघसंस्थाले चलाइरहे पनि यो कुरीति तराईमा जडको रूपमा स्थापित भएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?