१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महायज्ञ गर्न विद्यालय छुट्टी

लक्ष्मी साह

बारा — पाँच वर्षमाथिका ५२ प्रतिशत साक्षरता रहेको यस जिल्लाका सामुदायिक विद्यालयमा जन्ती राख्ने, बिहेबारी, धार्मिक अनुष्ठानमा भोजभतेर गर्ने, यज्ञको आयोजना गर्ने र नाच नचाउने सामान्यझैं भइसकेको छ । यसबाट कलैया उपमहानगरपालिका–१८, पतौरा गाउँको गढीमाई नेराप्रावि प्रत्यक्ष प्रभावित भएको छ ।

महायज्ञ गर्न विद्यालय छुट्टी

यस विद्यालयमा गत फागुन १० देखि महायज्ञसँगै ११ दिने मेला आयोजना गरिएको छ । विद्यालय आउँदो २१ गतेसम्म छुट्टी दिइएको छ । मेलामा झन्डै १५ लाख खर्चिएको छ । चौबिसै घण्टा ठूलो आवाजको माइक र साउन्ड बक्सले विद्यालय घन्किरहेको छ । भारतबाट आएका पण्डितहरूले कथावाचन गरिरहेका छन् । यज्ञको अन्तिम दिनका लागि ६० हजार भारुमा भारतीय भोजपुरी लोकप्रिय गायक अवधेश प्रेमीलाई बोलाइएको स्थानीय पन्नालाल पटेलले बताए ।


२ वटा भवन रहेको विद्यालयको एकातिरको भवनमा खानाको पकवान र आवासको व्यवस्था गरिएको छ भने अर्कातिरको भवनमा सयौं अटाउने मञ्चसँगै लामो पण्डाल बनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष, प्रअ र गाउँलेको सहमतिमा मेला लगाइएको हो । यसबारे कलैया उपमहानगरपालिका अन्तर्गतका शिक्षा फाँट र त्यसका अधिकारीहरू बेखबर छन् । ‘हामीलाई थाहा छैन, शिक्षा फाँटमा कर्मचारी नभएर अनुगमन गर्न पाएका छैनौं,’ उपमहानगरअन्तर्गतका शिक्षा फाँटका अधिकृत प्रहलाद बर्णवालले भने, ‘एक्लै कतिसम्म भ्याउने ?’


गाउँका सार्वजनिक जग्गा अतिक्रमणमा परेपछि यस्ता मेला विद्यालयमा राख्न थालिएको हो । मेलामा गाउँले रमेकै छन्, विद्यालयका झन्डै १ सय विद्यार्थी सातादेखि सडक, मेला, खेतबारी र घरमा रमाएका छन् । विद्यालयका प्रधानाध्यापक शिवनन्दन ठाकुरले औपचारिक छुट्टी नदिइएको दाबी गरे । मेला समितिको आग्रहमा वडाध्यक्ष अम्बिकाप्रसाद यादवलाई कार्यालयमा पुगेर आफूले विद्यालयमा सञ्चालन भएको मेला र यज्ञबारे जानकारी गराएको उनले बताए । ‘मेलाले अप्ठ्यारो भएपछि अन्तै कक्षा चलाउँछु,’ उनले भने, ‘गाउँका अगुवाले नै विद्यालयको महत्त्व नबुझेपछि मैले के गर्ने ?’


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज पटेलले विद्यालयमा लगाइएको मेलालाई बचाउ गर्दै धार्मिक अनुष्ठान गर्न गाउँलेको सहमति रहेको बताए । ‘विद्यालय प्रशासनको कमजोरीले विद्यार्थीको भविष्यसित खेलवाड गरिएको छ,’ स्थानीय ध्रुव प्रजापतिले भने, ‘पठनपाठन नै अवरुद्ध हुने गरी विद्यालयमा मेला र यज्ञ गर्नु शिक्षालाई खिल्ली उडाउने काम भएको छ ।’

प्रकाशित : फाल्गुन १८, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?