सिम्रौनगढमा भौतिक निर्माण हुँदै

लक्ष्मी साह

बारा — पौराणिक नेपालको परिचय दिने सिम्रौनगढान विकास हुन थालेको छ । खुला संग्रहालयका रूपमा रहेको यो ठाउँ ओझेलमा रहिरहँदा पछिल्लो डेढ वर्षयता जनप्रतिनिधि आएपछि फेरिँदै गएको छ ।

ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण यो स्थलको विकास तीव्र गतिमा भइरहेकाले यो ठाउँमा परिवर्तन देखिन थालेको हो ।


सिम्रौनगढ नगरपालिकाले यस ठाउँको चौतर्फी विकासका लागि सडक सञ्जाल बढाउनेदेखि सम्पदाहरूको संरक्षण, ऐतिहासिक तथा पुरातात्त्विक धरोहरहरूको पुनर्निर्माण र भौतिक संरचना निर्माणमा जुटेकोले परिवर्तन देखा पर्न थालेको हो । डेढ वर्षयता दक्षिण भारतीय सिमानासित उत्तर हुलाकी राजमार्गसँगै फास्टट्रयाक र पश्चिम तर्फ वीरगन्ज आर्थिक नगरीसित सिधा सम्पर्क जोड्न दर्जनभन्दा बढी सडकहरू निर्माण गरी सडक सञ्जाल बढाइएको छ ।


झन्डै १ करोडको लागतमा ऐतिहासिक रानीवास मन्दिरको जीर्णोद्वार भइरहेको छ । देशभरमै सबभन्दा ठूला मानवनिर्मित झरोखर (देवताल) पोखरीमा ‘भ्युटावर’ निर्माण प्रक्रिया अघि बढेको छ । पोखरीको डिलहरू बनाइएको छ । इशारा पोखरीमा घाट निर्माण गरिएको छ । भ्युटावरबाट उत्तरमा चुरे र दक्षिणमा भारतको विभिन्न सहरहरू देखा पर्नेछ ।


यिनै विकासले पछिल्ला दिनहरूको तुलनामा सिम्रौनगढ सुन्दरोन्मुख देखिन थालेको सिम्रौनगढ–८ कचोर्वाका वडाध्यक्ष दामोदरलाल साहले बताउँछन् । सहरी विकास डिभिजनले १ अर्ब खर्चेर चौतर्फी विकास गर्न लागेको छ । ‘यसैको पूर्वाधार तयारीमा नगरपालिका जुटेको छ,’ सिम्रौनगढ नगरपालिकाका प्रमुख वीजयशंकर यादवले भने, ‘गुरुयोजना बनाएर सिम्रौनगढको सम्पदालाई संरक्षण गरी सुन्दर सिम्रौनगढ बनाउने पहिलो प्राथमिकता छ ।’


यसबाहेक नगरमा रंगशाला, चक्रपथ, पुस्तकालय, पोखरी र मन्दिरहरूको सौन्दर्यीकरण, सहिद पार्क, खानेपानी, रानीवास मन्दिरमा संग्रहालय निर्माणलगायतको योजनाहरूमा क्रमबद्ध काम भइरहेको छ । वर्षौदेखिको जीर्ण २५ किमि गण्डक नहरको सडक मरम्मत गरेपछि वीरगन्ज र कलैयाबाट सिम्रौनगढमा आउजाउ गर्न सहज भएको छ ।


गत वर्ष १ करोड खर्चेर ग्राभेल गरी सडक मर्मत गरिएकोले सहज भएको हो । सिम्रौनगढको सडक बनेपछि ढुवानी र यात्रुहरूको यात्रासँगै सिम्रौनगढ पुग्ने आन्तरिक पर्यटकका लागि सहज भएको सिम्रौनगढका स्थानीयहरू बताउँछन् । ‘सडक सञ्जालले सिम्रौनगढ जति सुदूर थियो उतिकै नजिक हुँदै गएको छ,’ सिम्रौनगढ–८, कचोर्वाका रामबाबुप्रसाद यादवले भने ।


यहाँको सम्पदा संरक्षणकै लागि नगरपालिकाले गत जेठमा देश विदेशका इतिहास तथा पुरातत्वविद्, शोधकर्ता र लेखकहरूलाई भेला गराई अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो । सम्मेलनमा यो ठाउँको इतिहास, पहिचान, संस्कृति, विकासको अवस्था र परिवेशका बारेमा बहस चलेको थियो ।


‘त्यसै बहसअनुरूप सिम्रौनगढको विकास संरक्षणमा जुटेको छु,’ प्रमुख यादवले भने, ‘सम्मेलनलाई सिम्रौनगढ क्षेत्रको सम्पदाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने अभियानका रूपमा लिएको छु ।’ ‘केही वर्षमै लुम्बनीको विकास देखेको छु, जसरी लुम्बिनी चिनाउन सफल भयो, त्यसैगरी सिम्रौनगढ चिनाउँछु,’ उनले भने, ‘विगतमा सिम्रौनगढको विकास शोधकर्ताहरू, सरकार र विद्हरूको अध्ययन र पुस्तकमा मात्र सीमित रह्यो ।’


यस्तो छ इतिहास

सिम्रौनगढको इतिहास ११ औं शताब्दीदेखि सुरु भएको पाइन्छ । सन् १०९७ मा कर्णाट वंशीय राजा नान्यदेवको पालामा स्थापित यो सिम्रौनगढ पुरातात्त्विक, धार्मिक र पर्यटकीय स्थलका रूपमा पहिचान बनाएको हो । राजा नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाई सन् १०९७ देखि १३२७ सम्म कर्णाट वंशले शासन गरेको पाइन्छ ।


त्यसबेलाका राजा हरिसिहंदेवको पालामा दिल्लीका बादशाह गयासुद्दिन तुकलकले सिम्रौनगढमाथि आक्रमण गरी ध्वस्त बनाएको थियो । त्यस बेलाको तत्कालीन राजा शिवसिहंको निवास अर्थात् राजदरबारलाई भत्काएर ३ जंगबहादुर राणाको छोरा जीतजंग जबराले विस १९३५ मा रानीवास मन्दिरलाई निर्माण गरेका थिए ।


सन् १९९१ देखि १९९४ सम्म पुरातत्त्व विभागले इटलीको ‘आइएसएमइओ’ नामक संस्थाको सहयोग र पुरातत्त्वविद्को सहभागितामा स्थलगत अध्ययन र उत्खनन गरेपछि तत्कालीन राजा वीरेन्दबाट त्यस क्षेत्रको संरक्षण र पर्यटन विकासका लागि नक्सा तयार गर्न निर्देशन भएको थियो । तर त्यो कागजमै सीमित रहयो । ईसाको चारौं शताब्दीतिरको दुर्लभ मूर्तिहरू रहेको यो ठाउँ पुरातत्त्वविद् र अनुसन्धानकर्ताहरूका लागि उत्तिकै महत्त्वपूर्ण, आकर्षक र पर्यटकीय छ ।

प्रकाशित : फाल्गुन १९, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?