६५ अर्बको इन्धन आयात

शंकर आचार्य

पर्सा — विद्युतीय सवारी साधनलाई प्रोत्साहित नगरिंदा तथा इन्धनमा परनिर्भरताले वर्षेनी ठूलो रकम बाहिरिइरहेको छ  । वीरगन्ज/आईसीपी नाकाबाट मात्रै चालु आर्थिक वर्षको माघ सम्मको अवधिमा ६५ अर्ब ६० करोड ९४ लाख रुपैयाँ इन्धनको आयात गर्दा बाहिरिएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ  ।

(पर्सा) - विद्युतीय सवारी साधनलाई प्रोत्साहित नगरिंदा तथा इन्धनमा परनिर्भरताले वर्षेनी ठूलो रकम बाहिरिइरहेको छ । वीरगन्ज/आईसीपी नाकाबाट मात्रै चालु आर्थिक वर्षको माघ सम्मको अवधिमा ६५ अर्ब ६० करोड ९४ लाख रुपैयाँ इन्धनको आयात गर्दा बाहिरिएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
गत आवको यसै अवधिमा यो नाका हुँदै इन्धन आयातबाट ४३ अर्ब २५ करोड ९९ लाख रुपैयाँ बाहिरिएको थियो । यसरी इन्धन आयातको परिमाण वर्षेनी बढ्दो क्रममा रहेको देखिएको छ । यो नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन, एलपी ग्यास र मट्टीतेललगायतका सबै खाले इन्धन आयात हुन्छ । मुलुकमा आयात हुने कुल इन्धनमध्ये यो नाकाबाट आधाभन्दा बढी आयात हुन्छ ।


भन्सार तथ्यांक अनुसार, चालु आवको यस अवधिमा यो नाकाबाट सर्वाधिक आयात भएको इन्धन डिजेल हो । यस अवधिमा ३२ अर्ब ५८ करोड रुपैया बराबरको ४ लाख ५८ हजार किलो लिटर डिजेल आयात भएको छ । गत आवको यसै अवधिमा २१ अर्ब ३९ करोड रुपैयाँ बराबरको १ लाख ३९ हजार किलो लिटर डिजेल आयात भएको थियो । चालु आवको यस अवधिमा यो नाका हुँदै ११ अर्ब ५६ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको यसै अवधिमा ७ अर्ब ६८ करोड रुपैया बराबरको १ लाख ४४ हजार किलो लिटर पेट्रोल आयात भएको थियो । चालु आवको माघ मसान्त सम्म यो नाकाबाट ७ अर्ब ४१ करोड रुपैयाँ बराबरको १ लाख ४ हजार किलो लिटर हवाई इन्धन आयात भएको छ । गत आवको यसै अवधिमा ५ अर्ब ९ करोड रुपैयाँ बराबरको ९७ हजार किलो लिटर हवाई इन्धन आयात भएको थियो । त्यसैगरी, चालु आवमा १२ अर्ब ९ करोड रुपैयाँ बराबरको १४ करोड ७३ लाख किलो एलपी ग्यास आयात भएको छ । गत आवको यसै अवधिमा ८ अर्ब ७१ करोड रुपैयाँ बराबरको १२ करोड २९ लाख किलो एलपी ग्यास आयात भएको थियो । चालु आवको माघसम्ममा यो नाका हुदै ५८ करोड ७४ लाख रुपैया बराबरको ८ हजार १ सय ९२ किलोलिटर मट्टीतेल आयात भएको छ । गत आवको यसै अवधिमा ३७ करोड ४३ लाख रुपैयाँ बराबरको ७ हजार ३६ किलोलिटर मट्टीतेल आयात भएको थियो ।


यसरी दुई आर्थिक वर्षमै इन्धन आयातको परिमाणमा देखिएको ठूलो अन्तरले भारतमा भन्दा नेपालमा इन्धन सस्तिएर भारत तर्फ इन्धनको तस्करी भएको छ । जिल्लाको ग्रामीण नाकाहरूबाट भारत तर्फ डिजेल र पेट्रोलको तस्करी हुने गरेको छ । हाल नेपालमा भन्दा भारतमा यी इन्धन महँगा छन् । यसबाहेक सीमावर्ती भारतीय बजारका सवारी धनीहरूले नेपालमा आएर इन्धन भरेर जाने गरेका छन् । हाल वीरगन्ज नाकाबाट रक्सौलस्थित आईओसी डिपोबाट भरिने इन्धन आयात हुन्छ भने आईसीपी भन्सार नाकाबाट भारतकै बरौनीबाट ल्याइने इन्धन भित्रिरहेको छ । इन्धनले यो भन्सारको राजस्वमा वार्षिक सरदर १५ देखि २० प्रतिशतसम्म योगदान गर्दै आएको छ । यो नाकाबाट आयात हुने वस्तुमा नयाँ सवारी साधनपछि राजस्वमा बढी योगदान इन्धनकै हुने गरेको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनीष महतो भन्सार कार्यालयले इन्धनको आयातमा सहजीकरणसम्म मात्र गर्ने गरेको बताउँछन् । उनले सवारी साधनको बढ्दो आयातसंँगै इन्धनको आयात पनि बढेको हुन सक्ने बताए ।

प्रकाशित : फाल्गुन २२, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?