कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चुरेमा उत्खनन तीव्र

लक्ष्मी साह

बारा — चुरे क्षेत्रमा नदीजन्य वस्तु ढुंगा–गट्टी, बालुवाको उत्खनन, संकलन, दोहन गर्न कानुनले रोक लगाएको छ  । मकवानपुर र बाराको सिमानामा पर्ने चुरे क्षेत्रमा पछिल्लो केही महिनादेखि डोजर तथा एक्साभेटर प्रयोग गरेर तीव्र उत्खनन भइरहेको छ  ।

चुरेमा उत्खनन तीव्र

दुवै जिल्लाका सम्बन्धित निकाय यसबारे मौन छन् । निजी आवादीमा उत्खनन गर्ने नाममा चुरे मास्ने काम दिनदहाडै भइरहँदा त्यसमा रोक लगाउने वा कारबाही गर्ने कुनै निकायले चासो देखाएका छैनन् ।

मकवानपुरको बकैया गाउँ पालिकासँगको मिलेमतोमा रतनपुरीको लालगाउँ आसपासको चुरेबाट ढुंगागिट्टीका तस्करहरूले चुरेमा डोजर प्रयोग गरी उत्खनन गर्दै आएका छन् । गाउँपालिकाको अनुमतिपत्रको आधारमा उत्खनन सुरु भएकाले मिलेमतोको आशंका गरिएको हो । तस्करहरूको समूहले धनीको नक्कली नागरिकता र पुर्जासमेत तयार पारी एक्साभेटर प्रयोग गरी चुरे क्षेत्रको ऐलानी जमिनबाट ३ महिनादेखि ढुंगागिट्टी उत्खनन तीव्र पार्दै आएका हुन् ।


यहाँ उत्खनन गरिएको ढुंगा स्थानीय क्रसर उद्योग र सडक निर्माणमा प्र्रयोग हुँदै आएको छ । उत्खनन क्रममा खयर, साल र कर्मा प्र्र्र्र्रजातिका केही रूखसमेत फँडानीमा परेका छन् । बारा जिल्लाको निजगढ नगरपालिका–१०, लालगाउँसँंग सीमा जोडिएको चुरे क्षेत्रबाट नक्कली कागजात तयार गरी उत्खनन गरिरहेका हुन् । यो ठाउँबाट दैनिक १० हजार घनमिटरभन्दा बढी ढुंगागिट्टी उत्खनन गरिरहेका छन् । यसैगरी निजगढ नगरपालिका–१२, भिक्तलाल गाउँस्थित चुरेको फेदमा रहेको खोलाबाट स्काभेटरले नदीजन्य वस्तु ग्राभेल उत्खनन गरिएको पाइएको छ ।

‘त्यस क्षेत्रमा केही महिनादेखि उत्खननको लुकामारी नै चलेको छ,’ निजगढ–१०, लालगाउँका एक स्थानीयले भने, ‘यसमा प्रशासन प्रायः मौन छ ।’ जनप्रतिनिधि, वन कर्मचारी र स्थानीय युवाहरूलाई समेत प्रभावमा पारेर काम हुँदै आएको उनले बताए । केही महिनाअघि पप्पु रञ्जन जेभी वीरगन्जले सोही स्थानको भक्तलाल खोला किनारमा निर्माण गरिसकेको तारजालीलाई समेत असर पर्ने गरी खोलामा २०/२५ फिट गहिरो खन्दै लगभग २५ हजारभन्दा बढी क्युफिट ग्राभेल गैरकानुनी रूपमा उत्खन्न गरी निर्माणका लागि ठेक्कामा लिएको सडकमा बिछ्याएको छ ।


गैरकानुनी कार्यमा संलग्न ठेकेदार पप्पु रञ्जन जेभी वीरगन्जलाई कारबाही गर्नुपर्ने रतनपुरीवासीले माग गर्दै आएका छन् । यही विषयमा वन समूहका अध्यक्ष धनबहादुर खुलाललाई सेक्टर वन निजगढले स्पष्टीकरण सोधेको थियो ।

केही स्थानीय युवाहरूको आड्मा ठेकेदार पक्षले खोलाबाट ग्रेभल निकाल्न थालेपछि रोक लगाएको रतनपुरीका स्थानीय तिलक घलानले बताए । यता निजगढ नगरपालिका–१२ का वडाध्यक्ष ज्ञानबहादुर लामाले आफूले थाहा पाएपछि उत्खनन गर्न रोकेको बताए । चुरेमाथि डाँडामा डोजर चल्दा कसैले वास्ता गरेका छैनन् । डिभिजन वन कार्यालय सिमरा बाराका प्रमुख शिवशंकर ठाकुरले आफ्नो कार्य क्षेत्रभित्र नपरेकाले नियन्त्रण गर्न नसकिएको बताउँछन् ।

मकवानपुरका सहायक वन अधिकृत संयोग बस्नेतले भने उत्खनन र रूख फँडानीबारे कार्यालयमा कुनै जानकारी नभएको बताए । उत्खनन क्षेत्रमा पुगेर घटनाबारे चाँडै बुझ्ने पनि उनले सुनाए । गाउँपालिका अध्यक्ष दामोदर खनालले आफूले जग्गा सम्याउने प्रयोजनका लागि मात्र अनुमति दिएको बताए । ‘उत्खनन गरेको पाइए रोक लगाउँछु,’ उनले भने । स्थानीयको गुनासो बढेपछि आफूले यसअघि पनि उत्खनन रोक्न निर्देशन दिइसकेको उनले बताए ।

प्रकाशित : फाल्गुन २२, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?