कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दहेज छल्न कलिलैमा परायाघर

प्रदेश २ मा १५ देखि १९ वर्षको उमेरमा बच्चा जन्माउनेहरू २७ प्रतिशत छन् । कम उमेरमा बच्चा जन्माउँदा मातृ र शिशु मृत्युदर उच्च छ । 
अजित तिवारी

जनकपुर — मधेसमा छोरीलाई बालिका छँदै परायाघर पठाउने चलन अझै रोकिएको छैन । धेरै पढे उही हैसियतको दुलहा खोज्दा थुप्रै दहेज दिनुपर्ने बाध्यता टार्न अभिभावक कलिलै उमेरमा बिहे गरिदिन्छन् । उमेर नपुगी विवाह गरेकै कारण बालिकामा स्वास्थ्य समस्या बढेको तथ्यांक छ ।

दहेज छल्न कलिलैमा परायाघर

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ मा १५ देखि १९ वर्षको उमेरमा बच्चा जन्माउनेहरू २७ प्रतिशत छन् । कम उमेरमा बच्चा जन्माउँदा मातृ र बाल मृत्युदर उच्च छ ।


गर्भवती अवस्थामै मृत्यु हुनेको संख्या पनि प्रदेश २ मा उच्च छ । नेपालमा १ लाख गर्भवतीमध्ये वर्षेनी २ सय ३९ जनाको मृत्यु हुन्छ । प्रदेश २ मा १ लाखमा २ सय ५९ गर्भवतीले ज्यान गुमाउँछन् । नवजात शिशुको मृत्युदर पनि प्रदेश २ मा डरलाग्दो छ । नेपालमा जन्मेको २८ दिनमा प्रति १ हजारमा २१ नवजात शिशुको मृत्यु हुन्छ भने प्रदेश २ मा ३० जनाको । नेपालमा जन्मेको १ वर्षभित्र एक हजारमा ३२ तथा प्रदेश २ मा ४३ जना बच्चाको मृत्यु हुन्छ । ५ वर्ष नपुग्दै मृत्यु हुनेको संख्या पनि यहाँ उच्च छ– देशभरिमा ३९ जनाको आँकडा निस्किँदा प्रदेश २ मा ५२ जना हुन आउँछ ।


स्वास्थ्य सूचाकांकमा पछि परेको यो प्रदेशमा १५ देखि ४९ वर्ष उमेरसमूहका महिलाको संख्या १२ लाख ६५ हजार १ सय ७ छ । त्यो उमेर समूहमा १ लाख ५१ हजार ७ सय ५ जना अनुमानित गर्भवती हुन् । जुन नेपालभरको कुल अनुमानित गर्भवती संख्याको २० प्रतिशत हो । १ सय ४६ वटा बर्थिङ सेन्टर र ७ हजार ८ सय ७ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत प्रदेश २ मा कलिलै उमेरमा छोरीको विवाह गरिदिँदा उत्पन्न स्वास्थ्य समस्या भयावह छ ।


छोरी भएको थाह पाउँदा गर्भपतन गर्ने, छोरीलाई शिक्षा नदिने र उमेर नपुगी विवाह गरिदिने क्रम रोक्न प्रदेश सरकारले छोरी बिमा योजना ल्याएको छ । सरकारको महत्त्वाकांक्षी योजना ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान छोरीको शिक्षा र विवाहको उमेरसँग पनि जोडिएको छ । माघदेखि प्रदेशका ८ वटै जिल्लामा लागू गरिएको छोरी बिमाका दुई पाटा छन् । यसले बीचमै पढाइ छोड्ने र कलिलै उमेरमा परायाघर पुग्ने छोरीलाई त्यसो नगर्न प्रेरित गर्नेछ ।


बिमाको पहिलो पाटो हो, छोरीको निरन्तर पढाइ । माघयता जन्मिएका छोरीका नाममा प्रदेश सरकारले १ लाख २५ हजार रुपैयाँको बिमा गर्दैछ । प्रभु बैंकमा खाता खोलेर जम्मा गरिने बिमा रकम २० वर्ष नपुगेसम्म झिक्न पाइँदैन । मुख्यमन्त्री राउतले अध्ययनमै रहून् भन्ने उद्देश्यले बिमा अवधि २० वर्ष पुर्‍याएको बताए । ‘२० वर्षसम्म निरन्तर पढाइ र अनि मात्र विवाह,’ उनले बिमा बिस्तार कार्यक्रममा भने, ‘धेरैले छोरी बिमा रकमलाई दाइजोजस्तै ठाने । त्यो बुझाइ गलत हो । २० वर्षसम्म पढेपछि छोरी आत्मनिर्भर बन्न सक्छे र उसलाई बिमाको पैसाले सहयोग पुर्‍याउनेछ ।’


मुख्यमन्त्री राउतले छोरी बिमा योजना प्रदेशका सबै पालिकामा लागू भएको बताए । उनले माघ महिनायता जन्मिएका छोरीलाई प्रदेश सरकारले बिमा गर्ने र २० वर्षको पुगेपछि बिमा रकमबापत १ लाख २५ हजार रुपैयाँ पाउने बताए । फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जबाट छोरी बिमा योजनाको शुभारम्भ गरिन् । त्यस क्रममा उनले माघयता जन्मिएका १६ शिशुलाई बिमित गरेकी थिइन् । ‘छोरी बिमा योजना प्रदेशभरि विस्तार गरेका छौं,’ मुख्यमन्त्री राउतले भने, ‘माघयता प्रदेश २ मा जन्मिएका सबै छोरीलाई बिमा गर्न महिला स्वंयसेविका खटाइएको छ ।’


अभियानका लागि संघीय सरकारले ५० करोड रुपैयाँ विशेष अनुदान दिएपछि प्रदेशले बिमा योजना विस्तार गरेको हो । छोरी बिमाको अर्को पाटो उमेर पुगेपछि मात्र विवाह पनि हो । प्रदेश सरकारका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले छोरी बिमा कार्यक्रमले बिचमै पढाइ छोड्ने र कम उमेरमै विवाह हुने क्रम रोकिने दाबी गरे । ‘छोरी बिमाले उनीरूको पढाइ र जीवनको अन्य आयाममा पनि सघाउनेछ,’ उनले भने । प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानका लागि यस वर्ष ६१ करोड ३० लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?