२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सुख्खा बन्दरगाह : पप्पुले अझै सकेन सेड

शंकर आचार्य

पर्सा — सिसिर्सिया सुख्खा बन्दरगाहमा सेड निर्माणको काममा हात थालेको पप्पु कन्स्ट्रक्सनले ३ वर्ष बितिसक्दा पनि पूरा गरेको छैन । १ वर्षमा काम सम्पन्न गर्ने गरी बन्दरगाहमा २ वटा सेड करिब १७ करोड रुपैयाँ लागतमा निर्माण गर्ने ठेक्का उक्त कन्स्ट्रक्सनले पाएको हो । 

सुख्खा बन्दरगाह : पप्पुले अझै सकेन सेड

विश्व बैंकको लगानीमा बन्दरगाहस्थित बोरा बन्दी माल गोदाम नजिक कार्गो यार्डमा ३ सय मिटर लामो सेड निर्माणको काम पप्पु कन्स्ट्रक्सनले हालसम्म करिब ९१ प्रतिशत मात्र पूरा गरेको छ । उत्तर तर्फको सेड निर्माणको काम सकिए पनि दक्षिणतर्फको सेडको फ्लोर (भुइँ) को अझै सक्किएको छैन । उत्तरतर्फ फायर फाइटङ जडानको काम सम्पन्न भएको छ । सिसिटिभी क्यामेरा जडानको काम अझै बाँकी छ ।


इन्टरमोडल यातायात विकास समितिका अधिकृत तर्कराज जोशीका अनुसार माल गोदामको उत्तर र दक्षिण तर्फको यार्डमा १ सय ५० मिटर लामो २ वटा सेड निर्माण गरिँदै छ । पप्पु कन्सट्रक्सनले २०७२ को बन्दहडतालको ६ महिनाअघि काममा हात थालेको थियो । पछि बन्दहडतालको कारण देखाउँदै काम रोकेको थियो ।


त्यति बेला सम्झौताअनुसार १ वर्ष भित्र निर्माण कार्य सक्नुपर्ने उसले २ पटक म्याद थपि सक्दा पनि काम सम्पन्न गरेको छैन । पछिल्लो पटक थपिएको म्यादअनुसार २०१८ को मे महिनासम्ममा काम सम्पन्न भइसक्नु पर्थ्यो । पप्पुले डिमरेज शुल्क वापतको १० प्रतिशत रकम अर्थात् १ करोड ७० लाख रुपैयाँ दाखिल गरेर काम गरेको छ । कन्सल्टेन्टले पप्पुलाई ठेक्का समाप्त किन नगर्ने भनी प्रश्न सहितको पत्र समेत यसअघिनै काटी सकेको छ ।


पछिल्लो समय ठेकेदार कम्पनीले कामलाई गति दिएको देखिए पनि काममा लाग्ने मजदुरको अनुपातमा कम मजदुर खटाएकाले कामले गति लिन नसकेको हो । हाल निर्माणाधीन सेडमा चिनी, मल, सिमेन्ट आदि बल्क कार्गो सामान रेलबाट सोझै ल्याएर भण्डारण गर्न सकिन्छ । सेडको निर्माण कार्यमा ढिलाइ हुँदा मालबस्तु अनलोड गर्न निक्कै समस्या भएको छ ।


२ वटा नयाँ सेड निर्माण भएपछि बन्दरगाहमा पुरानो समेत गरी ७ सय मिटर सेड उपलब्ध हुनेछ । यति सेड एउटा रेल्वे र्‍याक बराबरको हुनेछ । बन्दरगाहमा पर्याप्त सेड नभएको भन्दै आयात निर्यातकर्ताले लामो समय थप सेड निर्माणको माग गर्दै आएका थिए ।


३ वर्षअघिको ६ महिना लामो बन्दहडतालको समयमा यो बन्दरगाहमा भारत तथा तेस्रो मुलुकबाट आयातित ठूलो परिमाणको रासायनिक मल, अन्न, स्पन्ज आइरन आदि सेड अभावमा यहाँस्थित यार्डमा खुला स्थानमा भण्डारण गरिएको थियो । खुला आकाशमुनि मालबस्तु भण्डारण गर्दा धेरै क्षति समेत भएको थियो । त्यति बेलै बन्दरगाहमा अतिरिक्त सेडको आवश्यकता महसुस गरिएको थियो ।


हाल बन्दरगाहमा आउने बिसिएन रेल्वे मालगाडीमा ४० वटा डब्बा हुन्छन् । यसरी आउने डब्बामा तोरी, मकै जस्ता बल्क कार्गो सामान बढी हुन्छन् । रेलको डब्बा बराबर गोदाम या यार्ड नहुँदा त्यस्ता मालबस्तु भण्डारण गर्न ठूलो समस्या भई रहेको छ ।

वीरगन्ज पथलैया औद्योगिक करिडोरका धेरै उद्योगले यसै बन्दरगाहबाट कच्चा पदार्थ आयात गर्छन् । विदेशी मदिरा, फर्निचर, विद्युतीय उपकरण, प्लाष्टिकको दाना, फलाम, एमएसबिलेट लगायतका औद्योगिक कच्चा पदार्थहरू समेत यो बन्दरगाह हुँदै आयात हुने गर्दछ ।


कोलकाताबाट ट्रकमा मालसामान आयात गर्दा भारतको बाटोमा चोरी, विभिन्न राज्यहरूले लिने कर, मालसामान टुटफुट हुने लगायतका कारणले आयातनिर्यातकर्ताले रेलबाट मालबस्तु आयात गर्दा यस्ता समस्या नहुने भएकाले आयातकर्ताहरू यो बन्दरगाहबाट मालसामान आयात गर्न चाहन्छन् ।


विश्व बैंकको ८ सय २ मिलियन डलर ऋण सहयोगमा यो बन्दरगाह निर्माण गरिएको थियो । रेल्वे सुविधा भएको मुलुककै पहिलो यो सुख्खा बन्दरगाह २०६१ साल साउन १६ बाट सञ्चालनमा आएको हो । भारतको रेल्वे सन्जालसँग जोडिएको यो बन्दरगाहमा हाल कोलकाता, हल्दिया तथा बिशाखापटनम बन्दरगाहबाट तेस्रो मुलुकबाट आयात हुने मालबस्तु सोझै रेलमा ढुवानी गरी ल्याइन्छ । यो बन्दरगाहमा दैनिक १ हजार ५ सय कन्टेनरको लोड अनलोड क्षमता छ । हाल वार्षिक ४० देखि ४५ हजार कन्टेनर लोड अनलोड भइरहेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?