निकुञ्जमा एक किमि पाइप
सिमरा — पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको एक किमि खण्डमा पेट्रोलियम पाइप गाड्ने काम शनिबार सकिएको छ । पथलैया–अमलेखगन्ज पाइपलाइन जोड्न झन्डै साढे ८ किलोमिटर पाइप गाड्नुपर्छ । तर टिम्बर कर्पोरेशनले रूख कटान गर्ने जिम्मा लिए पनि समयमा पाइपलाई रूटको रूख नकाटिँदा पाइप गाड्ने काम सुस्त भएको पाइपलाइन परियोजनाका अधिकारीले बताएका छन् ।
पातलो झाडी रहेको एक किलोमिटरको रूटलाई १० दिनमा सफा गरी एक किलोमिटर दूरीमा खाल्डो खनी पाइपलाई वेल्डिङ गर्ने काम सकिएको मोतिहारी–अमलेखगन्ज परियोजना कार्यालय सिमराका इन्जिनियर शरद पौडेलले बताए । ‘जति सक्दो पाइपलाइन रूटको रूख पन्छाइन्छ, त्यति नै छिटो पाइप गाडने काम सकिन्छ,’ उनले भने, ‘समयमा निकुञ्ज क्षेत्रको रूख नकाटिदा पाइप गाड्ने काम ढिलो हुदै गएको छ ।’ चाँडोभन्दा चाँडो निकुञ्जको रूख काटेर पाइप गाडने कामलाई सहज बनाउन उनले सम्बन्धित निकायलाई आग्रह गरे ।
वन क्षेत्र भएकै कारण पथलैया–अमलेखगन्ज निकुञ्ज क्षेत्रमा पाइपलाइन गाडने ३ महिना ढिलो हुन गएको परियोजनाका अधिकारीले बताए ।
संघीय सरकारको मन्त्री परिषदले यही माघ ३ गते भएको बैठकको निर्णय अनुसार पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले निकुञ्ज क्षेत्रको रूख काटेर पेट्रोलियम पाइपलाइन गाडने अनुमति दिएको छ । अनुमति पाएपछि परियोजनाका अधिकारीले अमलेखगन्ज आयल निगमभन्दा दक्षिण क्षेत्रको झाडी सफा गरेर १० दिनदेखि पाइपलाइन गाडने काम सुरु गरेका थिए ।
आउदो बैशाखदेखि पाइपलाइनमार्फत अमेलगन्जमा तेल भित्र्याउने लक्ष्य लिइए पनि रूख काट्ने ढिलाइ भएका कारण पाइप गाड्ने काम ढिलो हुने देखिएको अधिकारीहरूको ठम्याइ छ ।
मोतिहारी–अमलेखगन्ज पाइपलाइनको कुल दूरी ६९ किलोमिटर रहेको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले बताए । तीमध्ये ३२ दशमलव २० किलोमिटर पाइपलाइन भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर पाइपलाइन नेपाल क्षेत्रमा पर्दछ । भारतको रक्सौल देखि पथलैयासम्म पर्ने २७ किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम सम्पन्न भएको छ । निकुञ्ज क्षेत्र बाहेकको ६० किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।
‘निकुञ्ज क्षेत्रको साढे ८ किलोमिटर क्षेत्रमा एक महिनाभित्र पाइप गाड्ने काम सकिन्छ,’ उनले भने, ‘त्यसपछि पाइपलाइन टेस्टिङको काम सुरु गर्छौं ।’ पाइपलाइन टेस्ट गर्न झन्डै १५ दिन समय लाग्ने अनुमान गरिएको उनले बताए । यसरी सबै प्रक्रिया पूरा गरी बैशाखको पहिलो सातासम्ममा पाइपलाइनबाट तेल भित्र्याउन सकिने तयारीमा आयल निगम जुटेको उनले जानकारी दिए ।
उनका अनुसार निकुञ्ज क्षेत्रको रूख कटान अनुमति दिइने काम ढिलो भएका कारण पाइपलाइनबाट तेल भित्र्याउने लक्ष्य निर्धारित समयमा भेटाउन नसकिएको उनले बताए ।
वन क्षेत्रकै कारण पाइपलाइनबाट तेल भित्र्याउन समयावधी ढिलो हुन गएको उनले जानकारी दिए । अबको डेढ महिनामा पाइपलाइन गाड्ने र टेस्ट गर्ने सबै काम सम्पन्न गरी सक्ने उनले दाबी गरे ।
निकुञ्ज क्षेत्रको रूख काट्न प्रक्रिया पुर्याएर अनुमति लिनमै ६ महिना समय लाग्यो । पथलैया देखि अमलेखगंन्जसम्मको निकुञ्ज क्षेत्रको पाइपलाइन गाडने रूटबाट ८ वटा ब्लकमार्फत ६ हजार ५ सय ६३ वटा रूख तथा पोल काटिन्छ । त्यस्तै उक्त रूटबाट ८१ हजार ६ सय लाथ्राहरूको कटान, मुछान, ढुवान, पाइलिङ, घाटगद्दी, जर्रा उखेल्ने लगायतका काम हुने उनले बताए ।
निकुञ्ज कार्यालयबाट खटिएका कर्मचारीको रोहवरमा टिम्बर कर्पोरेशन शाखा कार्यालय पथलैयाले रूख कटान मुछान गर्ने नेपाल आयल निगमले जनाएको छ ।
८ वटै ब्लकबाट काटिएको रूखबाट ५२ हजार १ सय २४ दशमलव २४ क्युफिट काठ र १ सय ८८ दशमलव ८६ चट्टा दाउरा संकलन हुने अनुमान टिम्बर कर्पोरेशनले गरेको छ । निकुञ्ज क्षेत्रमा पाइप गाडिएपछि बरौनी–पटना–कानपुर पाइपलाइनमध्ये पटनाबाट सिधै तेलका लागि यहाँको पाइपलाइन जडान गरिने मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ ।
तेल भण्डारण गर्न यसअघि अमलेखगन्ज डिपोमा रहेको ४ वटा पुराना ट्यांकीलाई भारतीय ठेकेदार मार्फत मर्मत कार्य भइरहेको छ । जसमध्ये २ वटा ट्यांकीको मर्मत कार्य सम्पन्न भइसकेको परियोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा १६ हजार किलोलिटर तेल भण्डारण गर्न सक्ने पूर्वाधार तयार गरिएको छ । तेल भण्डारण गर्न थप ६/७ वटा भर्टिकल ट्यांक बढाउने योजना नेपाल आयल निगमले बनाएको जनाइएको छ । अहिले दैनिक २ सय ट्यांकर रक्सौलस्थित डिपोबाट इन्धन भर्छन् । बैशाखदेखि ईन्धन भर्न रक्सौल पुग्नुपर्ने बाध्यता हट्ने जनाइएको छ ।
२ सय ७५ करोड भारू खर्चमा परियोजना सम्पन्न गर्ने लक्ष्य लिइए पनि पाइपलाई क्षेत्रमा पर्ने घर क्षेत्रमा पाइपलाइन व्यवस्थित पार्न खर्च बढेकाले परियोजनाको कुल खर्च अहिले ३ सय २४ करोड भारू पुगेको उनले परियोजना अधिकारीले जानकारी दिए । पाइपलाइनबाट तेल भित्रिने काम सुरु भएपछि नेपाल आयल निगमले इन्धन ढुवानीमा खर्च गर्दै आएको रकममध्ये झन्डै ३ देखि ५ अर्ब रूपैयाँ खर्च बचत हुने निगमको अनुमान छ ।
प्रकाशित : फाल्गुन २६, २०७५ ०९:४५