कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुष्ठरोगी खोज्न घरदैलो

शिव पुरी

रौतहट — चन्द्रपुर १ स्थित ठाडाटोल पुगेकी स्वंयसेवीका सुमा सुवेदीले आइतबार स्थानियको घरघर पुगेर कुष्ठरोगबारे जानकारी गराइन् । रोग लागेपछिको अवस्था र त्यसका लक्षणबारे भनिन् । रोग लुकाएर नबसस्न अनुरोध गरिन् । यसरी घरघर पुगेर कुष्ठरोगीबारे जानकारी लिन चन्द्रपुर नगरपालिकाले अभियान चलाएको छ ।

कुष्ठरोगी खोज्न घरदैलो

जिल्लाभित्र कुष्ठ रोगीको संख्या बढ्न थालेपछि घरदैलो गरी सोधपुछ र रोगबारे जानकारी दिइएको हो । धेरैलाई कुष्ठरोगबारे ज्ञान नभएको पाइएको स्वयंसेविका सुवेदीले बताइन् ।

‘हामीले रोग लागेपछिको अवस्था, लक्षणहरू र यसबाट बच्नुपर्ने उपायबारे घरघर पुगेर जानकारी दिएका छौ,’ उनले भनिन्, ‘धेरै जसो रोगबारे जानकार छैनन् । यो जटिल हो ।’


ग्रामीण भेग, दलित बस्ति र प्रायः अशिक्षित बर्गमा रोगबारे अनभिज्ञ छन् । उनीहरू कुष्ठरोगलाई महापाप भन्छन् । रोग लागे पनि लुकाउने प्रयास गर्छन् । चन्द्रपुर नगरपालिकाका स्वास्थ्य प्रमुख अभय ठाकुरले १० वटा वडाको घर/घर पुगेर स्थानीयसित रोगबारे सोधपुछ गरिएको बताए । रोगको लक्षणबारे सोधेपछि उनीहरूले पत्ता लगाउँछन् । नगरपालिकाले एउटा वडामा ८ जनाको दरले स्वयम् सेविका खटाइएको छ ।


उनीहरूलाई एक दिने तालिम दिइएको थियो । यो नगरमा पुराना १३ र नयाँ ७ जना रोगी फेला परेको छ । ‘घरदैलोका क्रममा फेला परेका र शंका लागेकाहरूको स्वंयमसेविकाहरूले तथ्यांक तयार गरि सोमबार रोग निदान र उपचार कार्यक्रम राखिएको छ,’ स्वास्थ्य प्रुमख ठाकुरले भने, ‘रोगको पहिचानका लागि कुष्ठ रोगका दक्ष चिकित्सहरू लालगढबाट आउने छन् ।’


विश्व स्वास्थ्य संगठनले नेपालमा सन २०२० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ । त्यही अनुसार नेपाल सरकारले निवारणका कार्यक्रमहरू गर्दै आएको छ । प्रदेश २ का ८ जिल्लामा करिव ९ सय कुष्ठ प्रभावित मानिस रहेको तंथ्याक छ । पछिल्लो समय जिल्लामा यो रोग लागेकाहरूको संख्या बढेको पाइएको छ । यहाँका ५ वटा स्थानीय तहमा भएको सर्वेक्षणले कुष्ठरोगीको संख्या बढ्दै गएको देखाएको छ । स्वास्थ्य शाखा गौरले गएको कार्तिक महिनायता बृन्दावन, गौर, गुजरा इशनाथ नगरपालिकामा गरेको अनुगमन र सर्वेक्षणले कुष्ठरोगीको संख्या बढेको देखाएको हो ।


यी नगरपालिकाहरूमा चाडो सर्ने कुष्ठरोगका बिरामी २३ जना पुरुष र ४४ जना महिला थिए । कम सर्ने रोगीहरूमा १७ जना पुरुष र १७ जना महिला रहेको तथ्यांकले देखाएको छ । गएको आर्थिक वर्षमा जिल्लाको ५ वटा नगरपालिकामा कुष्ठरोग नियन्त्रणका लागि बिभिन्न कार्यक्रमहरू भएको थियो । रोगीको खोजी गर्दा चन्द्रपुरमा ७ जना, गौरमा ५, बृन्दाबनमा २२, गुजरामा १७ र इशनाथमा ५ जना थप कुष्ठरोगीहरू भेटिएको जनस्वास्थ्य कार्यालय गौरका क्षयकुष्ठ निरीक्षक महेश साहले बताए ।


जिल्लाभित्र कुष्ठ रोगीको संख्या बढ्न थालेपछि सबै स्थानीयतहले स्वयंसेवक खटाई घरघरमा रोगी खोज्ने तयारी थालेको छ । यसका लागि स्वयंसेविका छनौट गरी उनीहरूलाई रोगबारे तालिम दिइएर गाउँमा खटाइएको छ ।


प्रदेश सरकारले सबै नगरपालिका भित्रका गाउँहरूमा निवारणको कार्यक्रम गर्न भनेको छ । शरीरमा लाटो फुस्रो दाग भएर पनि कतिपय मानिस थाहा नपाएर बसेको हुन्छन् । त्यसताको पहिचान गरी उपचारमा संलग्न गराइने अभियानको लक्ष्य रहेको स्वास्थय कार्यालय गौरले जनायो ।


स्वयमंसेवकले त्यस्ता रोगी पत्ता लगाई उपचारको प्रक्रिया थालिने छ । प्रदेश नम्वर २ को पर्सादेखी सप्तरी सम्मका ८ जिल्लामा कुष्ठरोगीको संख्या बढी रहेको पाइएकाले सवै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।


जिल्लाको चन्द्रनिगाहपुर र गौर अस्पतालबाट कुष्ठरोगीका लागि औषधी वितरण हुँदै आएको छ । कम सर्ने रोगीले ६ महिना र चाँडै सर्ने बिरामीले १२ महिना औषधी सेवन गर्नुपर्ने हुन्छ ।


लक्षण देख्नासाथ समयमा स्वास्थ्य संस्थामा जचाउनु पर्छ । रोगको उपचार निःशुल्कका साथै उपचारमा आएकालाई सरकारले यातायात खर्च समेत दिदै आएको छ । यहाँको १८ वटा स्थानिय तहमध्ये गएको कार्तिक सम्मको तथ्याकमा यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकामा एउटा पनि रोगी भेटिएका छैनन् ।


प्रकाशित : फाल्गुन २७, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?