१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खेलकुदले आर्थिक कारोबार बढ्यो 

पवन यादव

सिमरा — खेलकुदले यस क्षेत्रका व्यापारीको आर्थिक कारोबार बढाएको छ । व्यवसाय राम्ररी चलेसँगै आर्थिक समृद्धिमा यसले टेवा पुर्‍याएको जानकारहरूको ठम्याइ छ । खेलकुलदले यहाँका व्यपारीसँगै अशक्त मानिसलाई पनि नगद आर्जन गर्न व्यापारप्रति उत्साहित बनाएको छ । 

खेलकुदले आर्थिक कारोबार बढ्यो 


बाराको करैयामाई गाउँपालिका ७ पचगछिया खेल मैदानमा सञ्चालित करैयामाई तेस्रो पिपरा गोल्डकपले यस क्षेत्रका बासिन्दाका लागि पनि फलदायी सावित भएको स्थानीयले बताए ।


बाराको करैयामाई गाउँपालिका ७ पिपराका जलन्दर चौधरी शारीरिक हिसाबले अशक्त (अपांग) छन् । उनले अन्य व्यक्ति जस्तो काममा खटिन सक्दैनन् । उनको बायाँ हात लुलो छ (हत्केला छैन) । फ्याक्ट्रीमा काम गर्ने बेलामा मेसिनमा हत्केला छिनिएपछि उनी १७ वर्षअघि अपाङग बन्न पुगेका हुन् ।


अहिले उनी पैसा कमाउन भारी काम गर्न सक्दैनन् । अन्य बेला पनि उनले कुनै व्यवसाय गर्दैनन् । काम गर्ने क्षमता भए पनि अपाङग भएकै कारण उनलाई कसैले काम दिदैनन् । घरमा कामविहीन बस्छन् । उनको आम्दानीको स्रोत खेती किसानी बाहेक केही छैन । गाउँमा लाग्ने मेला महोत्सवमा पनि उनले यसरी नै खाने कुरा बिक्री गरेर नगद आम्दानी गरेको बताउँछन् । मेलामा मात्र नगद आम्दानी गर्ने गरेका जलन्द्रलाई गाउँमै सञ्चालित पिपरा गोल्ड कपले नगद आम्दानी गर्ने मौका जुराइदियो ।


उनले खेल सुरु भएको दिनदेखि पोलेको मकै बिक्री गरेर दैनिक १ हजार ५ सय रुपैयाँ आम्दानी गर्न थालेको बताउँछन् । ‘खर्च काटेर दैनिक ८ सय रुपैयाँ आम्दानी हुन्छ,’ उनले भने, ‘७ रुपैयाँमा प्रतिगोटा काचो मकैको घोगा खरिद गरेर ल्याउँछु । आगोमा पोलेर प्रतिगोटा मकै १५ रुपैयाँमा बिक्री गरिरहेको छु ।’


पत्नी कविता चौधरीको सहयोगमा काचो मकै पोलेर बिक्री गर्दा सोचेभन्दा राम्रो आम्दानी गर्न थालिएको उनले सुनाए । ‘खेलकुदले गाउँमै व्यापार गर्ने अवसर पाएका छौं,’ उनले भने, ‘गाउका दर्जनभन्दा बढी मानिसले भुजा पकौडा, बेदाम, पानी, अन्डा लगायत खेल मैदान बाहिरै बिक्री गर्छन् ।’ उनीहरूले पनि आफूजस्तै खेलकै कारण राम्रो आम्दानी गरेको सुनाए ।


उनले ८ दिनमा झन्डै ७ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । अन्य दिन दर्शक कम आए पनि शनिबार फाइनल खेलमा धेरै दर्शक आए । दर्शक बढेसँगै आफ्नो आम्दानी बढेको उनले बताए । शनिवार मात्र उनले २ बोरा अर्थात् २ सय गोटाभन्दा बढी मकै पोलेर बिक्री गरेको बताए । शनिवार मात्रै उनले ३ हजार बढीको व्यपार गरेको बताए ।


उनी मात्र होइन । उनी जस्तै गाउँकै पिपरा बजारमा खाजा पसल सञ्चालन गरेका जियालाल साहले पनि खेलकुदकै कारण व्यापार राम्रो चलेको बताए । उनले खेल स्थलको मूल गेटमै खाजा पसल सञ्चालन गरेका थिए ।


‘मागअनुसार पकौडा बनाउनै मुस्किल पर्थ्यो,’ उनले भने, ‘खेल हेर्न आएका दर्शक, आयोजकले ताततातै भुजा, पकौडा, चप, अन्डा खेल स्थलमै खाजा खान पाए ।’ खेल अवधिभरीमा ६० हजारभन्दा बढीको खाजा बिक्री भएको उनले बताए ।


उनले आफ्नी पत्नी राधिका देवी साहको सहयोगमा पसल सञ्चालन गरेका थिए । खेल सुरु हुनुभन्दा अगाडि र खेलको हाफ टाइमको बेला अत्यधिक खाजाको बिक्री भएको उनले बताए ।

खेल मैदान क्षेत्रमा सञ्चालन भएको व्यवसाय राम्ररी चलेको आयोजक सृजनशील युवा क्लब पिपराका अध्यक्ष बृजमोहन चौधरीले बताए ।


खेल अवधिभरी ५ लाख बढीको आर्थिक कारोवार भएको अनुमान आयोजकले गरेको उनले जानकारी दिए । ‘खेलकै कारण यहाँ आर्थिक कारोवार बढेको छ,’ उनले भने, ‘प्रतियोगिताले धेरैका लागि अवसर सृजना गरेको छ ।’ प्रत्येक दिन खेल भएको बेला सरदर ९० हजार रुपैयाँदेखि एक लाख रुपैयाँको हाराहारीमा आर्थिक कारोवार भएको उनले जिकिर गरे ।


खेलले गाउँको व्यापार व्यवसाय फस्टाउनुका साथै यसले गाउँको नाम देश विदेशमा चिनाउने काम गरेको उनले विश्वास व्यक्त गरे ।


प्रकाशित : फाल्गुन २७, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?