२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

हतियारसहित भारतीय प्रहरी राजविराजमा 

‘हामीले रोक्ने तयारी गर्दासम्म उनीहरू नेपाली भूमि कटिसकेका थिए’
अवधेशकुमार झा

राजविराज — अन्तर्राष्ट्रिय कानुनविरुद्ध भारतीय प्रहरी हतियारसहित नेपाल प्रवेश गरी सप्तरी सदरमुकाम राजविराजमा २ घण्टाभन्दा बढी समय बिताएका छन् । शनिबार साँझ सुनसरीको भान्टाबारी नाकाबाट बिहारको सुपौल जिल्लाअन्तर्गत मरौना थानाका आधा दर्जन प्रहरी हतियारसहित नेपाल प्रवेश गरेका थिए ।

हतियारसहित भारतीय प्रहरी राजविराजमा 


उनीहरू ३० किमि पश्चिम सप्तरी सदरमुकाम राजविराज आए । साँझ ५ बजे राजविराज आएका हतियारसहितका भारतीय प्रहरीहरू साँझ ७ बजेसम्म जिल्ला प्रहरी कार्यालय सप्तरीको मुलगेटभन्दा केही १ सय मिटर उत्तर राजविराजको मेनरोडस्थित एक होटेलमा मदिरा खाएका थिए । उनीहरू मदिरा खानुभन्दा अगाडि बर्दीमै हतियार सहित राजविराज बजार घुमेका थिए ।


होटेलमा मदिरा खाएर निस्कने क्रममा गाडीमा बसेका उनीहरूको तस्बिर सञ्चारकर्मीले खिच्न थालेपछि झोक्किएर निस्केका एक भारतीय प्रहरीले कम्मरमा पेस्तोल भिरेका थिए । फोटो खिच्न थालिएपछि पेस्तोल भिरेका भारतीय प्रहरी गाडीमा बसेका थिए । सञ्चारकर्मीहरूले फोटो र भिडियो लिन थालेपछि गाडीमा सिसा लगाएर बस्दै उनीहरू राजविराजवाट पूर्वतर्फ लागेका थिए ।

बर्दीमा हतियारसहित भारतीय प्रहरी राजविराज किन आएको थियो भन्ने विषय खुल्न सकेको छैन । एक देशका सुरक्षाकर्मी अर्को देशमा हतियार लिएर जान पाइँदैन । भारतीय प्रहरी कुनै प्रयोजनामा बर्दी र हतियार सहित नेपाल आए स्थानीय प्रसासनलाई जानकारी दिइनुपर्ने प्रावधान छ । तर शनिवार साँझ बी आर ५० पी ३९३६ नम्बरको सुपौल पुलिस मरौना थाना लेखिएको सेतो जिपमा बर्दीमा हतियार सहित भारतीय प्रहरीहरू २ घण्टा राजविराजमा आएर बिताएका थिए ।


भारतीय प्रहरी हतियार सहित नेपाल आएको विषयमा शनिवार साँझसम्म सप्तरी प्रहरी जानकार थिएन । सञ्चारकर्मीले सप्तरी प्रहरीलाई जानकारी गराउँदा जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले मातहतका सबै प्रहरी इकाईलाई भारतीय प्रहरी सवार सवारी साधनलाई रोक्न र हतियार छ/छैन भनेर चेकजाँच गर्न निर्देशन दिएका थिए ।


तर नेपाल प्रहरीले हतियारसहितका भारतीय प्रहरीलाई रोक्नत यारी गरिरहदासम्म ती हतियारधारी भारतीय प्रहरी राजविराजवाट कोसी ब्यारेज हुँदै ३० किलोमिटरको यात्रा गरी भारतीय सीमामा प्रवेश गरिसकेका थिए । ‘हामीले रोक्ने तयारी गर्दासम्म उनीहरू नेपाली भूमि कटिसकेका थिए,’ एसपी बिष्टले भने ।


सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हतियार सहित भारतीय प्रहरी नेपाली भूमिमा आउन नमिल्ने बताए । उनले शनिबार साँझ भारतीय प्रहरीहरू राजविराज आएको विषय प्रहरीबाट आफूले पनि थाहा पाएको र थप बुझ्न नपाउँदै उनीहरू भारत गइसकेको बताए ।

प्रकाशित : फाल्गुन २७, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?