१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

निकुञ्ज क्षेत्रमा डढेलो

कान्तिपुर संवाददाता

पर्सा — सुक्खायामको सुरुसँगै पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा डढेलो सुरु भएको छ । गत साता निकुञ्जको अमलेखगन्ज क्षेत्रमा लागेको डढेलो हाल नियन्त्रणमा आएको निकुञ्ज प्रशासनले दाबी गरेको छ ।

निकुञ्ज क्षेत्रमा डढेलो

निकुञ्जका सूचना अधिकृत अशोक रामले अमलेखगन्ज पूर्व क्षेत्रमा लागेको डढेलो हाल नियन्त्रणमा रहेको बताए । ‘यस वर्ष हिउदको अन्त्य तिर पटकपटक पानी परेकाले एक साता ढिलो गरी डढेलो लागेको हो,’ उनले भने., ‘तैपनि त्यो डढेलो पनि नियन्त्रणमा छ, अन्य क्षेत्रमा डढेलोको सूचना छैन ।’


गत वर्ष पनि पटक–पटक पानी परेकाले निकुञ्जको वन क्षेत्रमा कम डढेलो लागेको र यस वर्ष पनि त्यस्तै भएको उनले बताए । यस वर्ष पानी नपरेको भए यसअघि नै डढेलो सुरु भइसक्थ्यो । अघिल्लो वर्ष भने निकुञ्जको २५ देखि ४० प्रतिशत वन क्षेत्रमा डढेलो लागेको थियो । त्यस वर्ष ३ पटकसम्म डढेलो लागेको थियो । सालको पात पटकपटक झर्ने गरेकाले एकपटक लागेको डढेलो नियन्त्रणमा आएपछि फेरी दोहोर्‍याई तेहेर्‍याई लाग्ने गरेको छ ।


डढेलो लागि हाले पनि नियन्त्रण गर्न निकुञ्जका कर्मचारी तथा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना समेतको टोलीले आवश्यक उपकरण सहित तयार रहेको रामले बताए ।


सर्वसाधारणमा डढेलोसम्बन्धी भ्रमयुक्त धारणा र चेतनाको कमीले वर्षेनी वन क्षेत्रमा ठूलो परिमाणमा डढेलो लाग्ने गरेको छ । वन क्षेत्रमा प्रवेश गर्नेहरूले चुरोटको ठुटो र सलाईको काँटी प्रयोग गरेर जथाभावी फाल्ने प्रवृत्तिले बढी समस्या भएको हो । डढेलो लागे नयाँ बिरुवा र झारपात पलाउँछ भन्ने भ्रम धेरैलाई छ । यसले विभिन्न जातका ससाना रूखबिरुवा मार्ने मात्र होइन ती जातका रूखबाट भुइँमा झरेका बीउबिजनलाई डढाएर खरानी बनाउँछ, यसले वन क्षेक्रमा नयाँ रूख हुर्कने र बढ्ने त्रम रोकिन्छ ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?