नहरको साइफन मर्मत भएन

कान्तिपुर संवाददाता

सर्लाही — बागमती सिँचाइ आयोजनाले हरिपुर नगरपालिका ५, लक्ष्मीपुरस्थित शाखा नहरमा बनाएको साइफन जीर्ण भएर भत्केको ७ वर्षभन्दा बढी भइसक्यो  । तर आयोजनाले साइफन मर्मतमा ध्यान दिएको छैन  ।

नहरको साइफन मर्मत भएन

साइफन मर्मत हुन नसक्दा यस क्षेत्रका सयौं किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । आयोजनाको पानी यस क्षेत्रका किसानहरूको खेतमा आउन नसक्दा उनीहरू आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । २०५५ सालमा खेत छेउमै नहर आउँदा
स्थानीय किसान निकै खुशी भएका थिए । तर नहर आएको तेह्र वर्ष वित्न नपाउँदै नहरमा बनेको साइफन जीर्ण भएर भत्किँदा उनीहरू अहिले निराश बनेका छन् ।


खेतमा सिँचाइ सुविधा नहुँदा बाली सपार्न नसकेको किसानहरूले बताएका छन् । ‘बीस वर्ष अघि हामीले बागमती सिंँचाइ आयोजनाबाट सिंँचाइ सुविधा पाएर निकै खुशी भएका थियौं, सिँचाइले हाम्रो खेतको उत्पादन समेत बढायो,’ हरिपुर
नगरपालिका–३ फरहदवाका किसान बिन्देश्वर महतोले भने, ‘आयोजनाको लापरवाहीका कारण मर्मत हुन सकेन, जसले हामी सयौं किसान मारमा परिरहेका छौं ।’

मुलुक कृषिप्रधान देश भए पनि किसानले सेवा सुविधा पाउन नसकेको स्थानीय विपेन्द्र महतो बताउँछन् । भएको सिँचाइ सुविधा पनि मर्मत अभावले रोकिँदा खेतको उत्पादन बढाउन नसकेको किसानको दुःखेसो छ । सिँचाइ सुविधा पाएका वेला यहाँका किसानले वर्षेनी तीन बाली लगाएर मनग्ये आम्दानी गर्थे । तर अहिले वर्षाको भरमा परिरहेका छन् । ‘सिँचाइ आएको बेला वर्षभरीमा तीन बाली लगाउँथे, आम्दानी पनि राम्रो भएको थियो, राम्रो आम्दानीले परिवार चलाउन समेत सजिलो बनेको थियो,’ उनले भने, ‘आयोजनाले साइफन मर्मत नगरिदिँदा अहिले वर्षाको भरमा खेती गरिरहेका छौं, उत्पादन घट्दा आम्दानी समेत घटेको छ, परिवार पाल्न अहिले सकस भइरहेको छ ।’


७ वर्षदेखि पटकपटक आयोजनालाई साइफन र नहर मर्मत गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको किसानहरूको गुनासो छ । उनीहरूले किसान सिँचाइ अभावमा छटपटिरहँदा पनि सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे । सिँचाइ अभावले यस क्षेत्रका कतिपय खेत बाँझै छन् भने कतिपय खेतमा लगाइएको बाली सप्रिन सकेको छैन । यस क्षेत्रमा लगाइएको गहुँ तथा मकै सुक्न थालेको छ ।

मिहनेत र लगानी लगाएर लगाएको बाली पनि सप्रिन नसक्दा मिहनेत र लगानी दुवै डुवेको किसान पुरन महतोले बताए । उनले सिँचाइ अभावले तरकारी बाली समेत गर्न नसकेको दुःखेसो पोखे । ‘सिँचाइ अभावमा हामी छटपटाइरहेका छौं,
सिँचाइ नहुँदा कतिपय खेत बाँझै छ,’ उनले भने, ‘बाली पनि सप्रिन सकेको छैन, तरकारी बाली लगाउने सपना तुषारापत नै भयो ।’

प्रकाशित : फाल्गुन २९, २०७५ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?