कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाँसले धानेको ‘जीवन’

शिव पुरी

रौतहट — वृन्दावन नगरपालिका ७ का विजय मली (डोम) लाई यतिखेर भ्याइनभ्याई छ  । विवाहका लागि ‘डाली’ बनाउन गाउँगाउँबाट आर्डर आएपछि उनलाई भ्याइनभ्याइ भएको हो  ।

बाँसले धानेको ‘जीवन’

तराई मधेसमा विवाहमा पूजाका लागि बाँसको डालीको प्रयोग महत्वपूर्ण मानिन्छ । बाँसको समान बनाएर यो समुदायले गुजारा चलाउँछन् । एउटा डाली बनाउन २÷३ दिन लाग्छ । मन्दिर आकारको डाली बनाउन निकै मिहिनेत पनि छ । विवाहको सिजनमा यसको माग धेरै हुने गरेको विजयले सुनाए । ‘अहिले भ्याइनभ्याइ छ । गाउँबाट धेरै अर्डर आएको छ,’ उनले भने, ‘यहींबाट जीवन चलेको छ । रोजगारीको अर्को विकल्प छैन ।’

बाटो नजिकको झुपडीमा उनको परिवारको बसोबास छ । एउटा डालीको १ देखि ४ हजारसम्म तिरेर लैजाने गरेको उनले सुनाए ।
यो बनाउन मेहनत पनि धेरै छ । एकचित्त भएर यसलाई बनाउनुपर्छ । बाँसको सानो पत्ता जस्तो बनाई त्यसमा रंग लगाइन्छ । अनि मन्दिर जस्तै माथिसम्म फूलका आकार राखेर तयार पारिन्छ । डोम समुदायले बाँसबाट यस्तो सामान बनाउने गरेका हुन् ।

उनी लगायत गाउँभरीका पुरुषहरू बाँसबाट डाली, पंखा, भकारी, टाटी र अन्य सामान बनाई बिक्री गर्छन् । उनीहरूको जीवन यसैले धानेको छ । विवाहको सिजनभरी यस्तै सामान बनाएर गुजारा गर्छन् । त्यसपछि भकारी र अन्य सामान बनाएर बेच्छन् । उनीहरूको मुख्य पेसा बाँसका सामान बनाउने हो । सार्वजनिक बाटोमा बसोबास गर्दै आएको बस्तीमा ७ घर डोम समुदायको छ ।

यसमा पुरुषको संख्या २० जति छ । अधिकांश बाटोमै बसेर बाँसका सामान बनाउन ब्यस्त देखिन्थे । उनीहरूको घरमा सुंगुर पालिएको छ । बाँसको सानो खोर बनाएर त्यसैमा सुंगुर राखेका छन् । जमिन नभएकाले बाँसको समस्या परेको बस्तीका सन्जय मली (डोम) ले गुनासो पोखे । ‘नगरपालिकाले केही सहयोग गर्दैन । रोजगारीको अवसर पाउँदैन,’ उनले भने, ‘नगरपालिकाले सानोतिनो काम दिए पनि गरेर गुजारा चलाउथ्यांै ।’

बालविवाहको सिकार
बस्तीका अधिकांश महिलाको सानै उमेरमा विवाह भएको पाइएको छ । उनीहरूको विवाह दर्ता र बच्चाको जन्म दर्ता समेत भएको छैन । यो समस्याले बालबालिकाले पोषण भत्ता पाएका छैनन् । मानव विकास सूचकांकमा पछि परेका जिल्लाका बालबालिकालाई सरकारले स्थानीय तहमार्फत मासिक ४ सय रुपैयँँका दरले पोषण भत्ता दिँदै आएको छ । सरकारको सामाजिक सुरक्षा सञ्चालन कार्यविधिमा एउटै आमाबाट जन्मेका दई जनासम्म बालबालिकाले पोषणभत्ता पाउने व्यवस्था गरेको छ ।

जिल्लाका करिब ५ सयको हाराहारीमा डोम र मुसहर जातिका बालबालिकाले यस्तो भत्ता पाउन नसकेको अनुमान छ ।
विवाह र जन्म दर्ता नभएकाले भत्ताबाट वञ्चित भएका हुन् । सानैमा विवाह भएकाले बच्चाको जन्म दर्ता नभएको हो । डोम बस्तीका दस वर्षीय सुरज मलीको विवाहले चर्चा पाएको थियो । उनको कलिलो उमेरमै विवाह भएको हो । जिल्लाको पिपरा बजारस्थित राजेन्द्र मली (डोम) को ७ वर्षीया छोरीसित २०७२ फागुनको दोस्रो साता विवाह भएको थियो । सानै उमेरम विाह गर्दा धेरै समस्या झेल्नु परेको सन्जयले सुनाए । ‘सानैमा विाह गर्दा नगरपालिकामा दर्ता हुँदैन । अनि बच्चा जन्मियो भने जन्मदर्ता हुँदैन,’ उनले भने, ‘समयमा बुद्धि नपु¥याउँदा समस्या भयो । अब त्यस्तो गर्नु हुँदैन भनेर अरूलाई सम्झाउने गरेका छौं ।’


संजयको पनि १४ वर्षमै विवाह भएको थियो । उनको उमेर अहिले २० वर्ष पुगेको छ । तराईमा कथित तल्लो जातिका रूपमा चिनिने डोम समुदायका बालबालिकाको बिहेका लागि अभिभावकहरू सानै उमेरमा हतारिने गरेको पाइन्छ । उमेर नपुग्दै छोरीको विवाह गरिदिएमा दाइजो कम लाग्ने, बिहेको झन्झट सकिने र रजस्वला भएपछि गर्दा पापको बोझ बोक्नुपर्ने जस्ता अन्धविश्वास छ ।
यही कारणले सानै उमेरमा विवाह गरिदिने गरेको उनीहरू बताउँछन् ।

मधेसमा बसोबास गर्ने डोम सबैभन्दा अपहेलित तथा बहिस्कृत जातिका रूपमा पर्छ । पौराणिक कथाअनुसार महादेव र पार्वतीले ठूलो भोजको आयोजना गरी सबै जात जातिलाई निम्तो दिए । डोम समुदायका पुर्खा सुफल भगत भोजमा ढिलो आएका हुनाले अरूले खाएर बाँकी रहेको खानेकुरा खाएपछि समाजमा उनलाई जुटक खाई (जुठो खाने) भन्न थालिएको हो । तराईका १२ जिल्लामा यो जातिको बसोबास छ । तथ्यांकअनुसार डोमको साक्षरता प्रतिशत ९.९ रहेको देखाइएको छ । यो समुदायका अधिकांस बालबालिकाले अहिले पनि प्राथमिक शिक्षा पाउन सकेका छैनन् ।


सानै उमेरमा विवाह गरिदिने र विद्यालय पढ्न नपठाउने चलन व्याप्त छ । डोम समुदाय विकास केन्द्र रौतहटका पूर्वअध्यक्ष विजय मालीका अनुसार जिल्लाका ३० प्रतिशत डोम समुदायका बालबालिकाले मात्र पोषण भत्ता पाएका छन् । जिल्लामा करिब १२ सय डोम जातिको बसोबास छ । जसमध्ये ९५ प्रतिशत सुकुम्बासी छन् । उनीहरूको पुस्तैनी पेसा बाँसको समान बनाउनु र ज्याला मजदुरी हो ।

प्रकाशित : फाल्गुन २९, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?