कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

फागुनमा ९ जनाद्वारा आत्महत्या

अवधेशकुमार झा

राजविराज — सप्तरीमा आत्महत्याका घटना बढेका छन् । बुधबार मात्र एक युवा र एक युवतीले झुन्डिएर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार कंचनरुप नगरपालिका ५ पिप्रापूर्वका २६ वर्षीय विवाहित महिला माला चौधरीले आफ्नै घरपछाडिको रुखमा आफैंले लगाएको साडीको पासो लगाएर आत्महत्या गरेकी छन् ।

बुधबार बिहान नै राजविराज नगरपालिका ३ स्थित भाडाको घरमा तिरहुत गाउँपालिका ५ का गौतम यादवले कोठामा रहेको सिलिङ पंखामा गम्छाको पासो लगाई आत्महत्या गरे ।


प्रहरकिा अनुसार फागुनमा जिल्लामा ३ जनाले विष सेवन र ६ जनाले झुन्डिएर आत्महत्या गरेको छन् । यसअघि फागुन २४ गते राजगढ गाउँपालिका ५ का वीरेन्द्र दास, २३ फागुनमा राजविराज ५ का झापा घैलाडुब्बाका दीपक सिटौला, बोदेवरसाइन १० का पंकज यादव, फागुन १३ गते तिलाठी कोइलाडी ७ का कृष्णकुमार मण्डलले झुन्डिएर आत्महत्या गरेका छन् ।


यस्तै फागुन ७ गते बोदेबरसाइन ७ की कृतीकुमारी यादव, ६ गते छिन्नमस्ता २ की बन्दनाकुमारी मण्डल र फागुन ५ गते कृष्णासवरण ३ का मझियादेवी रामले विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो तथ्यांकले जिल्लामा आत्महत्याका घटना बढिरहेको देखिएको हो ।


पारिवारिक कलह, प्रेममा धोका, बेरोजगारी र मानसिक तनावलगायत कारणले आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टको भनाइ छ ।


आत्महत्याका पछाडि पारिवारिक र प्रेम मुख्य करणका रूपमा देखिए पनि वैदेशिक रोजगारी, आर्थिक विपन्नता,बेरोजगारी, असफलता, तनाव, बुढाबुढीलाई स्याहारको अभाव लगायत कारण पनि देखिएको प्रहरीको भनाइ छ । सामाजिक, आर्थिक, पारिवारिक र मानसिक हिसावले सम्पन्न नहुँदा आत्महत्याका घटना बढ्ने गरेको छ । आफ्नो अवस्थाप्रति निराशा बढेर आत्महत्या गर्ने निर्णयमा पुग्नेको संख्या पनि अत्यधिक रहेको एसपी विष्टले बताए ।


जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा सप्तरी जिल्लामा विष सेवन गरेर चार पुरुष र ८ महिला गरी १२ जना, झुन्डिएर ११ पुरुष र १३ महिला गरी २४ जना तथा आगो लगाई र पानीमा हाम फालेर एक एक महिला गरी कुल ३८ जनाले आत्महत्या गरेका छन् जसमध्ये २३ जना महिलै छन् । प्रहरीको तथ्यांकअनुसार १० देखि २० वर्ष उमेर समूहका किशोर, किशोरी र युवायुवतीको आत्महत्या गर्नेमा बढी छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?