हिंसाविरुद्ध उत्रिए छात्रा

‘छात्राहरू कलैया आएर प्रशासन र प्रहरी कार्यालय घेराउ गरे । चक्काजाम र नाराबाजी गर्दै जुलुस निकाले । त्यसपछि दुर्व्यवहार गर्ने छात्रसहित ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो ।’ 
लक्ष्मी साह

बारा — कलैया उपमहानगरपालिका–४ को एक निजी विद्यालयमा पढ्दै गरेकी १४ वर्षीया बालिका मंगलबार विद्यालय जाँदै थिइन् । बीच बाटामै अर्को निजी विद्यालयका ३ छात्रले उनलाई अश्लील व्यवहार गर्न खोजे । छात्राले रिसले गाली गरिरहिन् र प्रतिकारमा उत्रिइन् ।

उनलाई बटुवाहरूले सहयोग दिए । प्रयोगमा नभएका एक निर्माणाधीन भवनमा ती छात्रहरूको लागूऔषध सेवन गर्ने अखडा रहेछ । त्यही भवन अगाडि उनलाई दुर्व्यवहार गर्दा छात्रा र बटुवाले दुर्व्यवहार गर्ने छात्रहरूको समूहलाई पक्रिन खोज्दा झोला छाडेर भागे । घटनास्थलमा भीड लाग्यो ।

घटनाबारे जानकारी पाएका प्रहरीले झोलाको आधारमा छात्रको समूहलाई पहिचान गर्‍यो । पीडित छात्रा गाउँबाट सदरमुकाम कलैयामा बाबुआमासाथ कोठा लिएर पढ्छिन् । प्रहरीले घटनालाई सामसुम पार्न अभिभावकलाई ‘लबिइङ’ गर्दै छ । डरले छात्रा दुई दिनदेखि विद्यालय गएकी छैनन् । ‘कसरी छोरीचेलीलाई शिक्षा दिने ?’ छात्राका अभिभावकले भने, ‘संस्कार परिवर्तनको लागि सहरमा छोरीलाई पढाउन ल्याएँ तर छोरीलाई उपद्रो भयो । हामी परिवार तनावमा छौं, डरत्रास छ ।’

प्रसौनी गाउँपालिका–५ को बेलहीया माविमा छात्रा बस्ने बेन्चडेस्कमा सुतिदिने, विद्यालय प्रवेशअघि र छुट्टीपछि छात्रालाई जिस्क्याउने, अश्लील शब्दले गिज्याउने सामान्य भइसकेको थियो । सहन नसकेर छात्राहरू प्रतिकारमा उत्रेपछि शिक्षकले छात्रालाई सहयोग गर्दा तिनै छात्रहरूले शिक्षकको टाउको फुटाइदिए । ‘शिक्षकको टाउको फुट्नुअघि यस्ता दुर्व्यवहारबारे प्रहरीलाई जानकारी गराउँदा चासो दिएको थिएन,’ गाउँले अभिभावक लुकेश सिंहले भने, ‘जब टाउको फुट्यो, छात्राहरू कलैया आएर प्रशासन र प्रहरी कार्यालय घेराउ गरे । चक्काजाम र नाराबाजी गर्दै जुलुस निकाले । त्यसपछि दुर्व्यवहार गर्ने छात्रसहित ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो ।’

जिल्लाका यी दुईवटा उदाहरण मात्र हुन् । विद्यालयहरूमा छात्राहरूको संख्या अधिक रहेको यस जिल्लामा पछिल्लो केही बर्षयता प्रेम सम्बन्धको आवरणमा छात्राहरूप्रति दुर्व्यवहार हुने क्रम बढेको छ । बाटो चोक, मन्दिर, होटल छेउछाउ र बजार, प्रयोगमा नभएका कलैया नगरमा निर्माणाधीन पुराना भवनहरूमा लागू औषध खाने अखडा बनाएका छात्राहरूले छोरीचेलीलाई विद्यालय जाँदा र आउँदा जिस्क्याउने सामान्य भइसकेको छ ।

यस्ता घटना अभिभावक र छात्राहरू दिनहुँ खेपिइरहेका छन् । कतिपय अभिभावक र छात्राले दुर्व्यवहार सहेर प्रतिष्ठा जाने डरले प्रहरीमा उजुरी दिन जाँदैनन् । कतिपयले प्रहरीलाई जानकारी गराउँदा प्रहरीले सामान्य ठानेर बेवास्ता गर्छन् । कतिपय सामसुम गरी मिलाइन्छ तर कारबाहीको दायरामा ल्याइँदैन ।

नाबालिक छात्रालाई भगाएर लगिएको घटनाबारे प्रहरीमा उजुरीको लामै सूची भेटिन्छ । चार वर्षअघि कलैयामा बलात्कारको शृंखला चल्दा बेटी बचाउ आन्दोलन चलाइएको थियो । यौन दुर्व्यवहार, यौनहिंसा र यौनजन्य क्रियाकलापले कलैया संवेदनशील मानिन्छ । ‘प्रहरीले छात्रामाथि दिनहुँ भइरहने दुर्व्यवहारका घटनालाई सामान्य ठान्छ,’ एक अभिावकले भने, ‘कहिले उजुरी ल्याउनु भन्छ, कहिले मिलोमतोमा भागेपछि केही गर्न सकिन्न भन्छ ।’

महिला अधिकारकर्मी कृष्णा बस्नेतले प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ विशेष कार्यक्रम ल्याए पनि दुर्व्यवहारका घटनाले छोरीचेलीलाई पढाउन पठाउन अभिभावकलाई तनाव भइरहेको बताइन् । ‘त्रासले हरेक अभिभावक छोरीलाई विद्यालय प्रुयाउन र ल्याउन अनिवार्य झै भइसकेको छ । होटलहरूमा स्कुले छात्रहरूको चुरोट खाने लस्कर देखिन्छ ।’

यस्तो गतिविधिले स्कुले छात्राहरूप्रति नाकारात्मक असर परिरहेको उनको भनाइ छ । ‘छोरीहरूलाई जोगाउन प्रहरी र समाजले सचेतनामुलक कार्यक्रम फैलाउन सक्नुपर्छ,’ उनले भनिन् । मधेसमा पछिल्लो केही बर्षयता छोरीहरूप्रति मोह बढेको छ । छोरा जस्तै छोरीलाई पढाउन अभिभावकहरू आकर्षित हुँदैआएका छन् ।

यसरी सुधार्न सकिन्छ
अध्ययनरत स्कुले बालिकामाथि यौन दुर्व्यवहार रोक्न धार्मिक र नैतिक शिक्षा आवश्यक भएको वीरगन्ज हरिखेतान बहुमुखी क्याम्पसका अपराधशास्त्री सहप्राध्यापक शम्भु चौरसिया औल्याउँछन् । यो शिक्षा नभए राज्य र समाज राक्षस हुने उनले बताए । ‘त्यसैले समाजमा यो दुबै शिक्षा अनिवार्य छ,’ उनले भने, ‘समाजमा यसैको कमी छ ।’

यसबाहेक कतिपय त्यस्ता घटना असंवेदनशीलता र आत्मीयताको अभावले हुने गरेको उनको भनाइ छ । अश्लिल फिल्म प्रदर्शन, नैतिकताको ह्रासले सही गलत छुट्याउन सक्ने क्षमता अभाव र चेतना कमीले यस्ताखाले गतिविधिले प्रश्रय पाइरहेको उनले बताए । त्यसबाट अभिभावक र छात्र आफैं सजग रहनुपर्ने उनले सुझाए ।
‘राज्यले समेत त्यस्ता हर्कतविरुद्ध कडा कानुन ल्याई सशक्त कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘अभिभावक र छात्राले सामाजिक रीतितिथिलाई ख्याल राख्नुपर्छ ।’ वीरगन्ज ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक समाजशास्क्री वीरेन्द्र साहका अनुसार समाजमा दण्डहीनताविरुद्ध राज्य सशत्त रूपमा प्रस्तुत नहुनुले यस्ता अराजकता बढेको छ । ‘जे गरे पनि केही नहुने मनोविज्ञानले समाज ग्रसित भएको छ, त्यसैको चपेटामा छात्राहरू परेका छन्,’ उनले भने, ‘समाज ‘बाउन्ड्री’ बाहिर हुन खोजिरहेको छ । त्यसैले कडा कारबाही र कानुन आवश्यक छ ।’

यस्ता घटना रोक्न सामाजिक सद्भाव र आत्मीयता विषयमा समाजमा संवाद चलाउनुपर्ने उत्तिकै रहेको उनले सुझाए । ‘पढ्ने जाने छात्रालाई त्रास देखाउने प्रवृत्ति रोक्न समाज विभक्त हुनबाट जोगाउन सक्नुपर्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फागुनमा ९ जनाद्वारा आत्महत्या

अवधेशकुमार झा

राजविराज — सप्तरीमा आत्महत्याका घटना बढेका छन् । बुधबार मात्र एक युवा र एक युवतीले झुन्डिएर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार कंचनरुप नगरपालिका ५ पिप्रापूर्वका २६ वर्षीय विवाहित महिला माला चौधरीले आफ्नै घरपछाडिको रुखमा आफैंले लगाएको साडीको पासो लगाएर आत्महत्या गरेकी छन् ।

बुधबार बिहान नै राजविराज नगरपालिका ३ स्थित भाडाको घरमा तिरहुत गाउँपालिका ५ का गौतम यादवले कोठामा रहेको सिलिङ पंखामा गम्छाको पासो लगाईआत्महत्या गरे ।

प्रहरकिा अनुसार फागुनमा जिल्लामा ३ जनाले विष सेवन र ६ जनाले झुन्डिएर आत्महत्या गरेको छन् । यसअघि फागुन २४ गते राजगढ गाउँपालिका ५ का वीरेन्द्र दास, २३ फागुनमा राजविराज ५ का झापा घैलाडुब्बाका दीपक सिटौला, बोदेवरसाइन १० का पंकज यादव, फागुन १३ गते तिलाठी कोइलाडी ७ का कृष्णकुमार मण्डलले झुन्डिएर आत्महत्या गरेका छन् ।

यस्तै फागुन ७ गते बोदेबरसाइन ७ की कृतीकुमारी यादव, ६ गते छिन्नमस्ता २ की बन्दनाकुमारी मण्डल र फागुन ५ गते कृष्णासवरण ३ का मझियादेवी रामले विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो तथ्यांकले जिल्लामा आत्महत्याका घटना बढिरहेको देखिएको हो ।

पारिवारिक कलह, प्रेममा धोका, बेरोजगारी र मानसिक तनावलगायत कारणले आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टकोभनाइ छ ।

आत्महत्याका पछाडि पारिवारिक र प्रेम मुख्य करणका रूपमा देखिए पनि वैदेशिक रोजगारी, आर्थिक विपन्नता,बेरोजगारी, असफलता, तनाव, बुढाबुढीलाई स्याहारको अभाव लगायत कारण पनि देखिएको प्रहरीको भनाइ छ । सामाजिक, आर्थिक, पारिवारिक र मानसिक हिसावले सम्पन्न नहुँदा आत्महत्याका घटना बढ्ने गरेको छ । आफ्नो अवस्थाप्रति निराशा बढेर आत्महत्या गर्ने निर्णयमा पुग्नेकोसंख्या पनि अत्यधिक रहेको एसपीविष्टले बताए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा सप्तरी जिल्लामा विष सेवन गरेर चार पुरुष र ८ महिला गरी १२ जना, झुन्डिएर ११ पुरुष र १३ महिला गरी २४ जना तथा आगो लगाई र पानीमा हाम फालेर एक एक महिला गरी कुल ३८ जनाले आत्महत्या गरेका छन् जसमध्ये २३ जना महिलै छन् । प्रहरीको तथ्यांकअनुसार १० देखि २० वर्ष उमेर समूहका किशोर, किशोरी र युवायुवतीको आत्महत्या गर्नेमाबढी छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT