परिक्रमावासीले मनाए होली
धनुषा — मिथिला माध्यमिकी परिक्रमावासी कञ्चनवनबाट नै रंग अबिर दलेर होली मनाएका छन् । महोत्तरीको मडैबाट कञ्चनवन परिक्रमा आइपुगेपछि परिक्रमावासी होरी लोक गीत गाउँदै रंग अबिर दलेर होली मनाउन सुरु गर्छन् । कञ्चनवनमा रामसीताले होली मनाएको सम्झनामा परिक्रमावासीले होरी गाउँदै रंग अबिर लगाउने परम्परा छ ।
परिक्रमावासी राम प्रतीकात्मक रामसीताको खुट्टामा अबिर चढाएर एक आपसमा रंग अबिर दलेर होरी मनाएको सुन्दर सदनका महन्थ नवलकिशोर शरणले बताए । राजर्षि जनक र जानकीसित जोडिएका स्थललाई घुम्ने गरी हरेक वर्ष फाल्गुण शुक्ल पक्षमा मिथिला माध्यमिकी परिक्रमा आरम्भ हुन्छ ।
मिथिला पञ्चकोसी परिक्रमाको आरम्भ र अन्तका दुई/दुई गरी चार चरण भारतीय क्षेत्रमा परे पनि परम्परागत रूपमा प्राचीन मिथिला राजधानी हुंदैदेखि चल्दै आएको छ । नेपाल र भारतबीचमा राजनीतिक उतारचढाव भए पनि मिथिला माध्यमिकी परिक्रमाको मान्यतामा कुनै फरक आएको छैन । दुवै देशका धर्मप्राण मानिसहरू १५ दिवसीय मिथिला पञ्चकोसी परिक्रमामा सम्मिलित भएर पुण्यका भागी बन्छन् ।
सुख, समृद्धि र शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने विश्वाससाथ गरिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा गर्ने जनविश्वास छ । मिथिला महात्मअनुसार अठारौं शताब्दीदेखि माध्यमिकी परिक्रमाको रुपमा मनाइँदै आएको यस धर्मयात्राका सहयात्रीले रात्रि भजन कीर्तन गरी १५ दिन बिताउने गर्छन् ।
नेपालको १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर मिथिला परिक्रममा सहभागीहरू १५ दिन रात्रि बास बसेर बिहानै यात्र प्रारम्भ गर्ने चलन छ । धनुषाको कचुरीस्थित मिथिलाविहारी मठबाट मिथिलाविहारीको डोलाको नेतृत्वमा सुरु हुने परिक्रमाका यात्रु भारतको कलना, फुलहर, करुणा र बिसौल मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, हुँदै धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् ।
पूर्णिमा बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिवसीय यात्रा सम्पन्न गरिन्छ । धार्मिक एवम् पारस्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा रात्रि विश्राम गर्ने गरिन्छ । मिथिला संस्कृतिलाई झल्काउने परिक्रमा मेलाले एकअर्कालाई सम्मान गर्ने र सहकार्य गरी अगाडि बढ्ने प्रेरणा दिने गरेको छ ।
मेलाको हरेक चरणमा दर्शकको भीड लाग्छ । व्यवस्थापनमा अहिले पनि सरकारको कुनै योगदान नरहे पनि हरेक चरणमा स्थानीयले चामल, दाल, तरकारी तथा दाउरा निःशुल्क वितरण गरी ठूलो सेवा पुर्याएको छ ।
प्रकाशित : फाल्गुन ३०, २०७५ १०:१४