घर जलेपछि चन्दा उठाएर बिहे

भरत जर्घामगर

सिरहा — बिहे घरमा नातागोता, आफन्तजन र छिमेकी भरिभराउ थियो । सजिसजाउ टेन्टमा स्वयंवरका सोफा सजिएका थिए । विवाह घर बाजागाजाले गुन्जमायन अनि उमंग, टोलनै उल्लासमय । मंगलबार साँझ दुलाहाको पर्खाइमा थिए सिरहा गम्हरियाका राधेश्याम चौधरी परिवारसहित टोलवासी । 

राधेश्याम चौधरीकी जेठी छोरी सुष्माको विवाहमा सुनसरी डुमराहाबाट साँझ बेहुला सुरजसहित जन्ती आउने भएकाले मंगलबार बिहानैदेखि टोल छिमेकका निम्तालुलाई भोज खुवाउन पकवान तयारी भइरहेको थियो तर बिहे भोज बनाउन प्रयोग गरिएको ग्यास सिलिन्डर पड्किँदा क्षणभरमै उमंग रुवावासीमा परिणत भयो ।


सिरहाको लहान नगरपालिका २२ गम्हरियाका राधेश्यामकी जेठी छोरी सुष्माको बिहे भोज बनाउन प्रयोग गरिएको ग्यास सिलिन्डर बिहान ९ बजे पड्किँदा आगो लागी बिहे सामग्रीसहित दुई घर जलेर नष्ट भए ।


आगलागीबाट राधेश्यामका मामाका छोरा सुखीलाल चौधरी र थेटर चौधरीको घर, सरसामान जलेर नष्ट भयो । आगलागीबाट बिहेको सामग्री, खाद्यान्न, लत्ताकपडा, सुखीलाल चौधरीको ८ लाख नगदसहित गरगहना, थेटर चौधरीका घरका सामान जलेर नष्ट भयो ।


बिहेको उमंगमा रहेका निम्तालु टोलछिमेकी आगो निभाउन तल्लीन भए । लहान र गोलबजार नगरपालिकाको वारुण यन्त्रले तीन घण्टापछि आगो नियन्त्रणमा लिए पनि बिहे घर हेर्दाहेर्दै खण्डहरमा परिणत भयो । आगलागीबाट नगद, सुनचाँदी, गरगहनासहित २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


‘बिहेको उमंग स्थल हेर्दाहेर्दै खण्डहर भयो,’ बेहुलीका ठूलो बुबा बालकृष्णले भने, ‘सजिसजाउ बिहे घरमा दैवले विपत्ति निम्त्याइदियो ।’ विवाह सामग्री नष्ट भएपछि बेहुलीका बुबा राधेश्यामसँग भक्कानिनुबाहेक केही विकल्प रहेन ।


‘२ लाख रुपैयाँ स्वालम्बन बैंक, १ लाख श्रमजीवी बचत तथा ऋण सहकारी र ३ लाख रुपैयाँ गाउँघरमा ऋण लिएर छोरीको विवाह तयारी गरेको थिएँ,’ बेहुलीका बुबा राधेश्यामले भने, ‘एकातिर यस्तो विपत्ति आइलाग्यो, अर्कोतिर ऋण, दैवले पनि मै गरिबलाई नै दुःख दियो ।’


सम्पत्तिको नाममा डेठ कठा जग्गा मात्र भएका राधेश्यामको परिवारले हाउस वायरिङ गरेर गुजारा चलाएको थियो । पाँच छोरी र एक छोराका पिता राधेश्यामले सुनसरीबाट एसएलसी उत्तीर्ण जेठी छोरी सुष्माको मगनी भएपछि ऋण काढेर भए पनि विवाहको चाँजोपाँजो मिलाएका थिए । ‘हुर्केबढेको छोरी विवाह गर्नैपर्थ्यो,’ बुधबार बिहान छोरी अन्माएर पठाएपछि चिन्तित राधेश्यामले भने, ‘ऋण काढेर बिहे तयारी गर्दा मैमाथि वज्रपात आइपर्‍यो ।’


गुजारा चलाउन समस्या भएपछि पाँच वर्षअघि राधेश्याम वैदेशिक रोजगारीका लागि कतार हान्निएका थिए । आलमुनियम कम्पनीमा काम पाए पनि दुई वर्षमै कम्पनी टुटेपछि उनी फर्किए । त्यतिखेर कतार गएको ऋण माक्र चुत्ता गरे । पैसा कमाउन सकेनन् । ‘त्यसपछि गाउँघरमै हाउस वायरिङ गरेर गुजारा चलाएँ,’ उनले भने, ‘पटक पटक मैमाथि दैव लाग्यो हजुर ।’


आगलागीबाट सबै नष्ट भएपछि बिहे रोक्न हुँदैन भनेर छरछिमेक र वडाध्यक्ष विन्देश्वर यादवको पहलमा बिहे उतार्न तत्कालै चन्दा संकलन सुरु गरे । ‘छिमेकी भोटिया टोलबाट पनि तत्कालै २४ हजार नगद, गाउँबाट ९ हजार गरी ३३ हजार संकलन भएपछि लत्ताकपडा र विवाह सामग्री किन्न छिमेकी खटिए,’ छरछिमेक र नातागोताको गुन सम्झँदै राधेश्याम भन्छन्, ‘गम्हरीयाका घरलौरीबाट दाल, चामल, तरकारी संकलन भयो, कोही छिमेकी स्वयंम्वर स्थल सिंगार्न थाले ।’


६ घण्टामै पुनः बिहेस्थललाई पहिलाजस्तै सिंगारियो तर पहिलाजस्तो रौनक रहेन । छिमेकीले जन्तीलाई भोज खुवाउन खानेकुरा तयार पारे । नातागोता आफन्तले बिहेमा उपहार दिन दोहोरो सामग्री खरिद गरे । साँझ ९ बजे सुनसरी डुमराहाबाट जन्ती आए । बिहेकर्म गरेर बुधबार बिहान बेहुली अन्माएर पठाए । ‘सपनाजस्तै लाग्छ,’ टोलाइरहेका श्यामपरी र राधेश्याम दम्पतीले भने, ‘बिहे त टर्‍यो तर जीवनभर अविस्मरणीय बनेर मानसपटलमा रहिरहने भयो ।’

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?