फुटबलमा किशोरी

शिव पुरी

(रौतहट) — तराई–मधेसका छोरी खेलकुदलगायत बाहिरी गतिविधिमा संलग्न भएको कमै पाइन्छ । उनीहरू घरभित्रकै काममा व्यस्त हुन्छन् । खेलकुदमा सहभागी हुनेको संख्या न्यून छ । त्यसमा पनि महिला फुटबल । यसमा छँदै छैन भने पनि हुन्छ । तर मधेसी महिलाको खेलकुदमा पहुँच पुर्‍याउने उद्देश्यले स्थानीय विकास केन्द्रले आयोजना गरेको नगरपालिका स्तरीय प्रतियोगितामा मधेसी किशोरीको संलग्नता आकर्षक देखिन्छ ।

तहटको गौरमा विकास केन्द्रले आयोजना गरेको नगरपालिकास्तरीय महिला फुटबल प्रतियोगितामा सहभागी किशोरी खेल्नको तयारी गर्दै । तस्बिर : शिव/कान्तिपुर

प्रतियोगितामा जिल्लाका १० नगरपालिका र १ गाउँपालिका सहभागी थिए । यीमध्ये चन्द्रपुरबाहेक सबैमा मधेसका किशोरी खेलाडी थिए । उनीहरू पहिलो पटक मैदानमा उत्रे । जमेर खेले । थोरै समयमा लिइएको प्रशिक्षणका बाबजुद पनि उनीहरूको खेल कौशल हेर्न लायकको थियो ।

Citizen

खेल दुई दिनअघि मात्र भएको हो । प्रतियोगितामा गौर नगरपालिकाका मधेसी किशोरीको टिम फाइनलमा पुग्यो । उनीहरूको हौसल्ला बुलन्द थियो । चन्द्रपुरसित १५ गोलको फराकिलो अन्तरले पराजित भए पनि मनोबल उच्च देखिन्थ्यो । विजेता टिमले ५१ हजार पुरस्कार पायो ।

खेलमा मधेसी किशोरी शिल्पा उपाध्यायको प्रदर्शन उत्कृष्ट थियो । उनी गौर नगरपालिकाका तर्फबाट गोलकिपर थिइन् ।

प्रतियोगितामा सहभागी गराउन सुरुमा अभिभावकको सहमति लिन निकै कठिन भएको विकास केन्द्रका अध्यक्ष दिनेश संगमले बताए । ‘मधेसमा महिला फुटबल । त्यसमा पनि मधेसी किशोरीहरूले भाग लिने कल्पना बाहिरको कुरा थियो,’ उनले भने, ‘अभिभावकलाई चित्त बुझाएरै सहभागी गराउन सफल भयौं ।’

छोटो कपडा लगाएर खेल्दा किशोरीलाई असहज हुने भन्दै अभिभावकहरूले असहमति जनाएका थिए । आयोजकले धेरै सम्झाएपछि सहमति जनाए । गोलकिपर शिल्पाका अभिभावक मैदानमै पुगेर छोरीको हौसल्ला बढाएका थिए । प्रतियोगितामा सहभागी हुने निश्चित भएपछि उनीहरूले दुई साताको प्रशिक्षण लिन पाए ।

अधिकांशले सोचेभन्दा राम्रो प्रदर्शन गरेका थिए । खेलपछि जिल्लाभरका अन्य किशोरीहरू फुटबलतर्फ आकर्षित भएका छन् । प्रतियोगितालगत्तै उनीहरूले राम्रो प्रशिक्षण उपलब्ध गराउन माग गरे । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरी, बहिनीहरू फुटबल खेलेको देखेर गर्वले छाती फुलेको बताए ।

उनले शिक्षा, स्वास्थ्यको क्षेत्रमा पछि परेका मधेसी समुदायको महिला फुटबलमा सहभागी भएको पाउदा खुसी भएको बताए । प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ अभियानलाई प्रतियोगिताले टेवा पुर्‍याएको उनले सुनाए ।

दशकअघि जिल्लामा वीरेन्द्र शिल्ड प्रतियोगिता हुदा मधेसका किशोरीको सहभागिता हुन्थ्यो । विद्यालयका तर्फबाट भलिबल, रनिङ, हाइजम्प, लङ जम्पमा मधेसका किशोरीको न्यून सहभागिता हुन्थ्यो । फुटबलमा भने अहिलेसम्म थिएन । विकास केन्द्रका सहसचिव चञ्चल झाले मेधसका किशोरीहरू फुटबलमा हौसिएको देख्दा खुसी लागेको बताए ।

‘हामी चाँडै अनुभवी प्रशिक्षक मगाउने तयारीमा छौ,’ उनले भने, ‘अब मधेसमा फुटबलको रौनक बढ्नेछ । उनीहरूलाई खेलकुदमा पहुँच पुर्‍याउन मद्दत गर्नेछौं ।’ जिल्लाको उत्तरी भेकमा मात्र महिला फुटबलको चर्चा थियो । यहाँको चन्द्रपुर नगरपालिका महिला फुटबलको उर्बर मानिन्छ । यहाँबाट थुप्रै महिला खेलाडीहरू विभागीय टिममा खेलीरहेका छन् ।

अहिले पनि सय हाराहारीमा किशोरीहरू बिहान–बेलुका प्रशिक्षण लिइरहेका छन् । दक्षिण झेकमा क्रिकेटको त्रेज बढदो छ । यो खेलमा महिलाको सहभागिता छैन । फुटबलमा भने बल्ल सहभागी जनाएका छन् । गौर नगरपालिका उपप्रमुख किरण ठाकुरले मधेसी किशोरीहरू फुटबल खेलप्रति अभिरुचि राख्ने भए पनि विभिन्न कारणले सफल नभएको बताइन् । ‘खेलकुदमा पहुँच नभएकै कारण उनीहरूको प्रतिभा बाहिर आउन नसकेको हो,’ उनले भनिन्, ‘अब बिस्तारै सहभागिता बढ्छ । यसलाई सकारात्मक लिनुपर्छ ।’

प्रकाशित : चैत्र १, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

दुर्व्यसनी सुधार्न भर्ना

कान्तिपुर संवाददाता

सुनसरी — धरान उपमहानगरपालिका–६ पानबारीस्थित मार्गेचौरीमा जनसहभागितामा निर्माण भएको आसरा सुधार केन्द्रले लागुपदार्थको लत बसेकालाई बुधबारदेखि आवासीय भर्ना लिन थालेको छ । प्रहरी निरीक्षकको कमान्डमा रहने २५ जनाको टोलीले आसराको सुरक्षा दिने उक्त केन्द्रमा सयजना लागूपदार्थ सेवनकर्तालाई एकसाथ आवासीय उपचार सेवा दिन सकिने व्यवस्था छ । 

लागूपदार्थको लत लागेका व्यक्तिलाई चारदेखि छ महिनासम्म उपचार गरिने छ । भवन निर्माणको कुल लागत २ करोड ३७ लाख रुपैयाँ रहेको छ । केन्द्र सञ्चालन र व्यवस्थापनका लागि प्रदेश प्रहरी एकाइ कार्यालय धरानका एसपी शरदकुमार खत्रीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ । समितिमा भवन निर्माण समितिका तर्फबाट मनोजकुमार मेन्याङ्बोलाई मानार्थ सदस्यसहित ५ जनालाई राखिएको छ ।

भवन निर्माण समितिका अध्यक्ष तथा धरानका पूर्वनगरप्रमुख मनोजकुमार मेनयाङ्बोले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘लागूपदार्थ सेवनबाट युवालाई मुक्त गर्न यो केन्द्र मुलुककै नमुना हुनेछ । पूर्वका लागूपदार्थ सेवनकर्ताको स्तरीय उपचारका लागि चन्दा उठाएर यो भवन निर्माण गरिएको हो । अब प्रहरी र स्थानीय सरोकारवाला मिलेर बनेको सञ्चालक समितिले सञ्चालन गर्नेछ ।’ उनका अनुसार तीनतले भनवमा आवास कक्ष, बैठक कक्ष, टेलिभिजन कक्ष, जिम, योग तथा कक्षा सञ्चालनका लागि हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डायनिङ हललगायत सुविधा छन् । सुधार केन्द्रले २५ हजार रुपैयाँ बढी आर्थिक सहयोग गर्ने ३ सय ३७ जनालाई संस्थापक आजीवन सदस्य प्रदान गरेको छ ।

प्रकाशित : चैत्र १, २०७५ १०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्