कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मुसहर बस्तीमा छाक टार्न कठिन

लक्ष्मी साह

हरपुर, बारा — छेउमै अस्पताल छ, जिल्लाकै नाम चलेका नमुना पिपरपाती उच्च मावि छ । नगरको अन्य वडाको गाउँ बिजुलीले झिलिमिल्ली छ । नगरभरि फोषण र खुला दिसामुक्त कार्यत्रम लागू गरिएको छ । तर जहाँ अति विपन्न मुसहर समुदायको बसोबास भएको हरपुर बस्ती छ, त्यहाँ यी सबैको प्रभाव छैन ।

मुसहर बस्तीमा छाक टार्न कठिन

पचरौता नगरपालिका–१, का ७५ परिवारका झन्डै ५ सयको बसोबास भएको यी बस्तीका बासिन्दालाई न घर छ, न भर ।

प्रदेश सरकारले लागू गरेको स्वच्छता अभियान, जनता आवास, फोषण कार्यक्रम र खुला दिसामुत्त कार्यक्रमले बस्तीका बासिन्दालाई छोएको छैन । पिउने पानीबाट चित्त नबुझेको १२ वर्ष भएको बासन्दिाहरू बताउँछन् । इनारमा बच्चा डुबेर शव सडेर पानी गन्हाएपछि इनार पुरिएदेखि पिउने पानीले चित्त नबुझेको उनीहरू बताउँछन् । हारगुहार गरेर ६ वटा चापकल गाडियो । अहिले ४ वटा मात्र सञ्चालनमा छ । २ बटा बन्द छ । ‘चापाकलमा आर्सेनिक भएकाले पानी पिएर धित मरेको छैन,’ पाँचु माझीले भने, ‘इनार पुरिएपछि चापाकल गाडियो । सबैमा आर्सेनिक छ ।’

मुसहर बस्तीका बासिन्दा कहिले चोख्खासित भात, त कहिले नुनसित भात खाएर जीवन धानिरहेको बताउँछन् । गरिबीले थलिएका यिनीहरूको जीवनशैली परिवर्तनका लागि नगरले कुनै योजना बनाएको छैन । ‘पानी पिउन चापाकल गाडिदिन र पोलमा बिजुली लगाइदिन भनेपछि नगरपालिकाले टेर्दैन,’ पोलमा भएका पनि टिपेर लगे,’ बस्तीका अर्का सुकाइ माझीले भने, ‘भोटको रिसले हामी हेपिएका छौं । निर्वाचित जनप्रतिनिधिले हेला गर्छन् ।’ नगर प्रमुख रमेश यादवले भने त्यो आरोपलाई अस्वीकार गर्दै वडाध्यक्षलाई दोष थुपारे ।

‘हाम्रो जिम्मा होइन, वडा अध्यक्षले जानुन्,’ उनले भने, ‘आफू बस्तीमा पुगेर समस्या नबुझेको होइन, बुझेको छु, विस्तारै समाधान गर्छु ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर सिंहले बस्तीमा गएपछि फाहोरको समस्याले आफू १५ दिन बिरामी परेको बताए । ‘फोहोरले बस्तीमा बसिनसक्नु भयो,’ उनले भने, ‘अति गरिबी छ ।’ बस्तीमा कसै कसैलाई चर्पीमा प्रयोग गरिने पलास्टिकको एक/एक वटा पाइप र चर्पीको सिट दिइएको उनले बताए ।

बस्तीका थुप्रै जना टिबीले थलिएका छन् । थुप्रैको नागरिकताविहिन छ । बालबालिका र पति पत्नीको विवाह दर्ता छैन । सबै भूमिहीन छ । ऐलानी जग्गामा फुसको सानो झुपडी बनाएर बस्दै आएका छन् । एक कोठे त्यही घरमा सबैजना कोचिएर भुइँमा सुत्छन् । खाँदिएका बस्तीभरिका ३ वर्षमुनिका पचासौं बालबालिका कुपोषित छन् ।

उनीहरूको ढाडमा कट्टु छैन्। नुहाउन नपाएर फोहोरैफोहोरमा छन् । ‘कहिले नुन त कहिले आलुको चोख्खासित भात खाएर गुजारा गर्छौ,’ रिता देवी माझीले भनिन्, ‘बच्चाहरू कसरी पोषिलो हुन्छ ?’ बस्तीमा सबैको आयस्रोत कृषि मजदुरीबाट छ । कहिलेकाहीँ इँट्टा भट्टामा काम गर्छन् । दुई कोठे विद्यालयमा केही बच्चाहरू जसोतसो गरी बोरामा बसेर कोचिएर पढ्छन् । कसैको खुट्टामा चप्पल देखिँदैन ।

विदेशी माझीको परिवारलाई खेतला नगई परिवारको छाक टर्दैन । जीवनको उत्तरार्धमा उनको घरमा न भकारी छ नत बक्सा । न धान छ, नत पैसा । उनी भन्छन्, ‘पाँच केजी धान कमाउँछु, त्यसैलाई बेचेर सबै परिवार हातमुख जोर्छौं । चामल, आलु, तेल र मसला किन्दैमा पाँच केजी स्वाहा हुन्छ । घरमा न पर्याप्त लुगा छ, न त चप्पल जुत्ता । गरिबीको अवस्था देखेर भारतमा सुविधा पाएका मुसहर जातिहरूले हाम्रा परिवारमा विहेवारीसमेत गर्न चाहदैनन् ।’

सुरेन्द्र माझीको घरमा सुत्ने खाट छैन । सुकुल र बाँसको मचानमा सुत्छन् । एउटै थालमा दुई तीन जना खान्छन् । भाँडा अभावमा सबै परिवार एकैपटक बसेर खाना खान पाउँदैन । हरिया सागसब्जी उब्जाउन बारी छैन, किनेर खान पैसा छैन । वर्षैभरि आलुको तरकारी र भात खान्छन् । भन्छन्, ‘मुस्किलले जीवन बितिरहेको छ । न रोजगार छ, न त सीप । कहाँबाट कमाउने ? दिनभर महाजन (साहु) को खेतमा कमाएर पाउने पाँच केजी धानमै जीवन धानेका छौं ।’

उनी भन्छन्, ‘पैसा अभावमा साबुनले कपडा धोएको र नुहाएको धेरै भइसक्यो, मीठो परिकारको खानेकुरा त सपनै छ ।’ सदरमुकाम कलैयासित जोडिएको ८ किमि पूर्व महागढीमाई नगरपालिकाको वडा ७ र २ को ‘मुसहर’ बस्तीको पनि समस्या उस्तै छ । पाँच केजी धानको कमाइबाट वर्षभरि हातमुख जोर्ने, बच्चाहरूको कापी–कलम, लुगाफाटो, चाडबाड र विहेवारीसहित धान्ने गरेका छन् । नपुगेपछि सय रुपैयाँको प्रतिमहिना पाँच रुपैयाँको ब्याज दरमा ऋण लिएर बेहोर्छन् ।

लोरिक माझी मुसहर भन्छन्, ‘त्यसैले सबै परिवारमा बढीमा ३० हजारसम्म ऋण छ । आयआर्जन बढाउन न कुनै सीप छ, न त कुनै व्यवसाय । पछिल्लो जनगणनाअनुसार जिल्लामा ९ हजार छ सय ३९ मुसहर (दलित) जाति छन् । उनीहरू सबैको अवस्था उस्तै छ । प्रायः सबै भूमिहहीन छन् । खेतालाकै काम गरेर जीविकोपार्जन गर्छन् । बस्तीका लोरिक माझी भन्छन्, ‘मुस्किलले जिल्लाभरमै एकाध जना एसएलसी पास र बैदेशिक रोजगारीमा होलान् ।’ गाउँका हुने खानले हामीलाई प्रयोग मात्र गर्ने सोंच राख्दै आएकाले जीवनशैलीमा परिवर्तन नआएको उनले सुनाए ।

‘सरकारी आँखा त झनै परेको छैन,’ उनले भने । बस्तीकी रुपकली देवी भन्छिन्, ‘सधैं हामी शोषितका शोषित रह्यौं । आर्थिक, सामाजिक र मानसिक रूपले हामी अपहेलित छौं । विकास भएन ।’ ठूलो रोगब्यथा लाग्दा पैसा अभावले उपचार गराउन नसकेर अकालमै ज्यान जाने गरेको उनले सुनाइन् । ‘टुकीको भरमा रात हुन्छ,’ उनले भनिन्, ‘सामान्य ज्वरो, रुघा खोकी लागेमा गाउँकै झोले डाक्टरको भर पर्नुपर्छ ।’ स्थानीय राजनीतिकर्मी राजेश साहले देशका प्रधानमन्त्री भइसकेकाहरू यो बस्ती हेरेर गए पनि बस्तीको आर्थिक, सामाजिक र मानसिक अवस्थामा परिवर्तन नआएको बताए ।

प्रकाशित : चैत्र २, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?